काठमाडौं- सरकारले इन्डोनेसियाली कम्पनी पेरुम पेर्सेटाकन उआङ रि (पेरुम पेरुरी)सँग ७ अर्ब ८५ करोड थान अन्त:शुल्क स्टिकर किन्ने भएको छ। आन्तरिक राजस्व विभागले गरेको अन्त:शुल्क स्टिकर छपाइको ठेक्का प्रक्रियामा सहभागी ४ कम्पनीमध्ये न्यूनतम मूल्यांकित सारभूतरुपमा प्रभावग्राही ठहरिँदै पेरुम पेरुरीले स्टिकर आपूर्तिको जिम्मा पाएको हो।
विभागले गत असोज १३ गते प्रकाशित गरेको बोलपत्रअनुसार खरिद प्रक्रियामा यो कम्पनीसँग लिथुआनिया, भारत र चीनका कम्पनी सहभागी भएका थिए। प्रतिस्पर्धामा सहभागी भएकामध्ये यो कम्पनीले १ करोड ४ लाख अमेरिकी डलरमा स्टिकर छपाइ तथा आपूर्तिको प्रस्ताव गरेको थियो।
'प्राविधिक तथा आर्थिक प्रस्तावको परीक्षणपछि पेरुम पेरुरी योग्य ठहरिएकाले ऊसँग खरिद सम्झौताका लागि प्रक्रिया अघि बढाएका छौँ,' विभागका एक अधिकारीले भने, 'विभागले प्रतिस्पर्धामार्फत छनोट गरी ठेक्का दिएको जानकारी सम्बन्धित पक्षलाई गराएको छ।'
यसअघि २०७२ मा भएको अन्त:शुल्क स्टिकर खरिदको ठेक्का पनि यही कम्पनीले पाएको थियो।
सरकारले इन्टरग्राफमा आवद्ध भइ कम्तिमा दुई देशमा यस्तै छपाइ गरेको र १० वर्ष काम गरेको अनुभव भएको सुरक्षण मुद्रण कम्पनी मात्रै सहभागी हुन सक्ने गरी ठेक्काको सूचना प्रकाशित गरेको थियो।
तर सरकारले राखेका मापदण्डका कारण आफूहरु प्रतिस्पर्धामा सहभागी हुन नपाएको भन्दै मिराज प्रिन्टिङ सोलुसन्सका मनोहरराज घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले रिट खारेज गरिदिएसँगै विभागले खरिद प्रक्रिया अघि बढाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।