बुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्डको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्ने काम सुरु भएको छ। घुम्तीका कारण यस सडक खण्डमा अत्याधिक दुर्घटना भएपछि घुम्ती कटान सुरु गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।
कार्यालयका अनुसार शनिबारदेखि चैत्र १२ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरेर घुम्ती कटान गरिने छ। राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्न लागिएको कार्यालयले जनाएकाे छ। जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तोकेर सडक बन्द गरेको कार्यालयले जनाएको छ।
निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम थालेको हो। यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। सडक सुधारको कामका बेला आम सर्वसाधारणलाई असहज नहोस् भनी तालिकाअनुसार सूचना सार्वजनिक गरि निर्माण कार्य थालेको उनले बताए।
बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ। तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधन यथावत रुपमा चल्न दिने जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले जानकारी दिए।
यसअघि कालीमाटीको घुम्ती कटान गर्दा सर्वसाधारण यात्रुको गुनासो आएकाले अहिले समय तोकेर नै सडक स्तरोन्नति गर्न लागेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। सरकारी अधिकारीहरुले तालिका अनुसार सडक बन्द गरिएको बताए पनि ८ घण्टा सडक बन्द भएपछि यात्रुले सास्ती खेप्नु परेको छ।
जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तोकेर सडक बन्द गरे पनि दिउँसोको ३ घण्टा समय बढी भएकोले छोट्याउनु पर्ने यात्रुको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।