तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई नेपालमै पहिलो शून्य पोलिथिनयुक्त नगरपालिका घोषणा गरिएको छ। चालु आर्थिक वर्षको सुरुवातदेखि नै नगरलाई सौन्दर्यकरण गर्ने योजनाका साथ विभिन्न अभियान चलाएको नगरपालिका शुक्रबारदेखि शून्य पोलिथिनयुक्त नगरपालिका घोषणा गरिएको हो।
शुक्रबार एक कार्यक्रमका बीच कृषि तथा पशुपंछी विकासमन्त्री घनश्याम भुसालले तिलोत्तमालाई शून्य पोलिथिनयुक्त नगरपालिका घोषणा गरे। रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये कामका दृष्टिले निकै फड्को मारेको तिलोत्तमा नगरपालिकाले ४ महिनाको अभियानमा नगरका १७ वटा वडालाई शून्य पोलिथिनयुक्त वडा घोषणा गर्दै शून्य पोलिथिनयुक्त नगरपालिका घोषणा गरेको हो।
चार महिनाको अवधिमा नगरका १७ वटै वडा तथा टोल विकास संस्थाहरुले शून्य पोलिथिन नगर निर्माणका लागि चेनतामुलक कार्यक्रम गर्नुका साथै नगरभरि छरिएका पलास्टिकजन्य सामाग्री संकलन गरेका थिए।
नगरपालिकाले यो अभियानका क्रममा दैनिक ८ घण्टाको दरले एक लाख नगरबासीलाई श्रमिशक्तिको रुपमा परिचालन गरेको जनाएको छ। चार महिनाको अवधिमा नगरभित्रबाट ८० हजार बोरा पोलिथिनजन्य फोहर संकलन गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए।
१ सय २६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको नगरपालिकालाई चार महिने अभियानमै शून्य पोलिथिनयुक्त नगर बनाएसँगै अब नगरको कृषि र पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने वातावरणविद् प्रोफेसर डा. भैया खनालले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।