बुटवल– विभिन्न ८ मुलुकका पर्यटकलाई बेलहिया नाकाबाट नेपाल प्रवेशमा रोक लगाइएको छ। स्थलमार्ग हँुदै सबैभन्दा बढी पर्यटक यही नाकाबाट भित्रिने गर्छन्। अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले चीन, ईरान, ईटाली, कोरिया, जापान, जर्मनी, फ्रान्स र स्पेनबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको बताए।
उनले ८ देशमध्ये ५ देशका नागरिकलाई १० मार्चदेखि र अन्य देशलाई शुक्रबारदेखि नेपाल प्रवेशमा रोक लगाइएको बताए। खनालका अनुसार चीन, ईरान, ईटाली, कोरिया, जापान गरी ५ देशका नागरिकलाई १० मार्च तथा जर्मनी, फ्रान्स र स्पेनबाट आएका नागरिकलाई १३ मार्च अर्थात शुक्रबारबाट नेपाल प्रवेशमा रोक लगाईएको छ।
सरकारले नेपाल प्रवेशमा रोक लगाएसँगै शुक्रबार नेपाल प्रवेश गरेका जर्मन, फ्रान्स तथा स्पेनका नागरिक वेलहियाबाटै फर्किएका छन्। भारत हुँदै लुम्बिनी जान आएकी जर्मनीकी नेपाल प्रवेश नपाएपछि रुँदै भारत फर्किएकी छन। उनले समयमै सूचना नपाएका कारण आफू फर्किनु परेको गुनासो गरिन्। अध्यागमन विभागले जारी गरेको सूचना स्पष्ट नभएका कारण पनि थुप्रै पर्यटकले दुःख पाएका छन् ।
यस्तै, सीमा नाका बेलहियामा स्थापना गरिएको हेल्थ डेस्क प्रभावहीन देखिएको छ। हेल्थ डेक्समा खटिएका कर्मचारीले स्थलमार्ग हँुदै नेपाल आाउने पर्यटकलाई थर्मामिटरले ज्वरो नापेर मात्रै नेपाल प्रवेश गराएका छन्।
हेल्थ डेक्समा कार्यरत रिता थापाले हालसम्म ३ हजार जनाको ज्वरो जाँच गरिएकोमा कोही पनि शंकास्पद नपाईएको बताईन्।
यस्तै, बेलहियालगायतका नाकाबाट आउने भारतिय सवारी साधनलाई प्रदेश ५ सरकारले रोक लगाएको छ । प्रदेश ५ सरकारले कोरोना संक्रमणको जोखिमबाट बँच्न भारतबाट आउने गाडी रोक्ने जनाएको हो।
भारतमा कोरोना संक्रमण देखिएकाले भारतबाट आउने र नेपालबाट भारत जाने सार्वजनिक सवारीका साधन रोक्न प्रदेश सरकारले निर्देशन दिएको छ।
सरकारले रुपन्देहीको बेलहिया नाका, बाँकेको रुपौडिया र नवलपरासी, कपिलवस्तु, दाङ, बर्दियाबाट सहजै भारत आउनजान सकिने भएकाले यी नाकामा कडाइ गर्न मुख्यमन्त्री शंकर पोखरेलले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।