काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सांसदहरूले सरकारलाई जिटुजी प्रक्रियाबाट हुने सबै खरिद प्रक्रिया खारेज गर्न सुझाव दिएका छन्। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्ने क्रममा अधिकांश सांसदहरूले जिटुजीमार्फत् खरिद प्रक्रिया नगरी प्रतिस्पर्धामार्फत् मात्रै खरिद गर्न सुझाव दिएका हुन्।
खरिद प्रक्रिया एकपछि अर्को गर्दै आर्थिक अनियमिततामा मुछिन थालेको भन्दै यो प्रक्रियामाथी नै प्रश्नचिन्ह देखिएको सांदरहरुको भनाइ छ। अधिकांश खरिदमा आर्थिक हिनामिनाको विषय उठेको भन्दै अब उप्रान्त सबै खरिद प्रतिस्पर्धाबाट गर्नु पर्ने उनीहरूको धारणा छ।
सत्तारुढ नेकपा सांसद सूर्य पाठकले जिटुजी प्रक्रिया विवादास्पद हुन थालेका कारण यो प्रक्रियालाई समग्रमै अध्ययन गरिनुपर्ने समेत बताएका छन्। ‘खरिद प्रक्रियामा जिटुजीको सिद्धान्त र मोडलमाथि गम्भीर छलफल गरिनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘सरकारले अब खरिद प्रक्रियामा जिटुजी प्रक्रिया खारेज गर्नु पर्छ।’
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा मीनेन्द्र रिजालले पनि सार्वजनिक खरिद र सरकारका खरिदको गम्भीर समीक्षा गरिनुपर्ने बताए।
'सेक्युरिटी प्रिन्टिङ खरिद विवादमा आएपछि स्वीस दूतावासले विज्ञप्ति जारी गर्यो। भोलि अर्को देशको दूतावासले विज्ञप्ति जारी गर्ला,’ उनले भने, ‘ यसकारण यो जिटुजीमाथि नै गम्भीर छलफल गरौं।’
सांसदहरु मोहम्मद ईस्तियाक राई, विरोध खतिवडा, प्रेम आलेलगायतले पनि जिटुजी प्रकृयालाई अब खरिद प्रक्रियाको मोडलमै नराख्न र अब उप्रान्त त्यस्ता खरिद प्रक्रियालाईलाई ग्लोबल टेण्डरमार्फत् मात्र गर्ने सुझाव समितिमार्फत सरकारलाई निर्देशन दिनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।