काठमाडौं- धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ बाट अपहरणमा परेकी एक १५ वर्षीया किशोरीको उदयपुरबाट उद्धार गरिएको छ।
बुधबार अपहरणमा परेकी युतवीको उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जंगलबाट उद्धार गरिएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।
धनुषा र सिन्धुलीको सीमा नजिकबाट अपहरणमा परेकी ती किशोरीको घर भने सिन्धुलीको दुधौली हो। उनलाई अपहरणकारीले दिउँसो ३ बजे अपहरण गरेका थिए भने त्यसको जानकारी ५ बजे प्रहरीकोमा आएको प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीले बताए। त्यसपछि अपरेसनमा खटिएको प्रहरी टोलीले करिब २४ घन्टाभित्रै किशोरीको उद्धार गरेको हो। उदयपुरको दक्षिण-पश्चिममा पर्ने सिरहासँग सीमा जोडिएको खसीबासको घना जंगल क्षेत्रबाट किशोरीको उद्धार गरिएको हो।
प्रहरीले अपरहणमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकापका १४ जना नेता/कार्यकर्तालाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट पेस्तोल ३ थान, म्याग्जीन ३, सकेट बम ११ थान, प्रेसर कुकर बम १ थान र दस्तावेज लगायतका सामग्री बरामद गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक प्रमोद खातीले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषा, सिरहा र उदयपुरको संयुक्त प्रहरी टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले ती किशोरीको उद्धार गरेको हो।
अपहरण गरेर आफ्नो क्याम्पमा राखेर कार्यकर्ताको भूमिका काम गराउन ती युवतीको अपरहण गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु विप्लव नेकपाको लडाकु दस्ता रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।