काठमाडौं- राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणा एक साताअघि मात्रै भारतबाट फर्किएका हुन्। दिल्लीसँग पारिवारिक साइनोसमेत जोडिएका राणाले दुई सातासम्म त्यहाँ रहँदा गोप्य राजनीतिक भेटवार्तासमेत गरेका थिए।
जुन समयमा राणा दिल्लीमा थिए, सोही समयमा पूर्व राजा ज्ञानेन्द्र शाहसमेत उहीँ पुगेका थिए। राणा र शाह दुवैले दिल्लीमा दिल बहलाइरहँदा कमल थापा भने देश दौडाहमा थिए।
राणा र शाहले भेट्ने लक्ष्य राखेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने भेट्न भने सकेनन्। राप्रपा स्रोतका अनुसार, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भने दुवै जनाको छुट्टाछुट्टै भेट भएको थियो।
राणा र शाह नेपाल फर्केलगत्तै पञ्चायती पृष्ठभूमिका राप्रपा संयुक्त र राप्रपा प्रजातान्त्रिकबीच एकताको आधारपत्रमा हस्ताक्षर भएको छ। हतारहतार हस्ताक्षर गरिएको यो आधारपत्रमा अध्यक्ष, चुनाव चिह्न, नेतृत्वलगायतका कैयौं विषयलाई महाधिवेशनमार्फत् टुंग्याउने भनिएको छ।
यी दुई राप्रपाबीच एकता हुने भनेर भएको कार्यक्रम यो नै पहिलो भने होइन। यसअघि एकता घोषणा गर्ने भनिएको अघिल्लो दिन मात्रै भाँडिएको इतिहास पनि छ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) बीच गत साउन २५ गते एकीकरण घोषणाको मिति र कार्यक्रम स्थलसमेत तय भइसकेको थियो। तर, साउन २४ गते राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले विज्ञप्ति निकाले।
एकताका लागि अन्तरिम विधानका अन्तरवस्तुमा थप छलफल र सहमति आवश्यक रहेकाले एकता प्रक्रिया सफल पार्न दुवै दलबीच सन्तुलित विधानमा सहमति नभएको राणाले उल्लेख गरे। ‘एकताको अन्तिम निर्णयमा पुग्न राप्रपा नेपाललाई आह्वान गर्दछौं’, वक्तव्यमा उल्लेख गरे।
एक दिनअघि मात्र भएको उक्त घटनाले मिलिसकेका पूर्वपञ्चहरुको पार्टी फेरि पनि जोडिन सकेन। उनीहरुबीच राजसंस्थालाई हेर्ने दृष्टिकोण र निर्वाचन चिह्नका बारेमा कुरा नमिल्दा एकता भाँडिएको थियो। यसरी पार्टी एकता भाँडेको आरोप दीपक बोहोरादेखि राणा र थापा स्वंयलाई पनि एक¬अर्काले लगाए।
राणाको उक्त विज्ञप्तिपछि भाँडिएको पार्टीले शनिबार मात्रै लय समात्यो। उनीहरुले एक आधारपत्रमा हस्ताक्षर गरेका छन्।
यी आठ महिनामा के तात्विक फरक भयो जसले राणालाई राजसंस्था मान्न अन्तर्ज्ञान प्राप्त भयो, जसले एकता हुने घोषणा भयो?
गणतन्त्रमा गइसकेकाले अब राजतन्त्रमा फर्कन नसकिने भनेर सार्वजनिक समारोहमा भाषण गर्ने राणा पहिल्लो वर्षमा राजतन्त्रलाई कुनै रुपमा स्पेस दिन सकिने ठान्दै संवैधानिक राजतन्त्रको लाइनमा फर्केका छन्। उनलाई गणतन्त्र छोडेर राजतन्त्रमा कुन वस्तुस्थितिले ल्यायो? भारत भ्रमणसँग जोडेर बुझ्दा अत्युक्ति हुँदैन।
राप्रपा गठन
२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि पञ्चायती व्यवस्थामा शक्तिमा रहेकाहरुले अलग्गै पार्टी गठन गरे। जसको नाम थियो– राष्ट्रिय प्रजातन्त्र पार्टी।
सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दलगायत पञ्चायतकालका अधिकांश शक्तिशाली नेताहरु सो पार्टीमा समाहित भएका थिए।
शनिबार पशुपति शमशेर राणा र कमल थापाले निर्णायक हस्ताक्षर गरेसँगै यो पार्टी पाचौँ पटक विभाजनबाट एकतातिर गएको देखिएको छ। २७ वर्षको इतिहासमा पूर्वपञ्चहरुको पार्टी पाँच पटक विभाजित भएको छ भने, चार पटक यसअघि जोडिएको छ।
यसरी पार्टी फोड्ने र जोड्नेका खेलाडी थिए, पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा लगायत। यीमध्ये केही नेता अहिले पनि सक्रिय राजनीतिमा छन्।
सूर्यबहादुर थापा, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा र पद्मसुन्दर लावतीको निधन भइसकेको छ।
गठनदेखि नै विभाजन
पञ्चायत समाप्त भएर प्रजातन्त्र आएपछि उनीहरु राजनीतिमा सक्रिय हुनै पर्ने निश्चित गरे। पार्टीको नाम, विधान र झन्डा तयार गरे। यति गरेपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवाद सुरु भयो। तत्कालीन समयमा सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच विवाद भयो। नेतृत्वको यही विवादका कारण पार्टी एक भएसँगै दुई पनि भयो।
२०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो। बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए।
चुनावमा दुवै पार्टीले लज्जाजनक हार व्यहोरे। देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो।
राप्रपा ‘चन्द’ बाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा)बाट जित्ने एक्लो सांसद बने। थापा आफैं पनि धनकुटाबाट विजयी हुन नसकेपछि चन्द पक्षसँग निहुरिन बाध्य भए।
यसबाट पाठ सिक्दै उनीहरु एकताको प्रयासमा लागे। केही महिनाको प्रयासपछि उनीहरू पार्टी गठन गर्न सहमत भए। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो।
चुनाव चिन्ह हलो राख्दै नेतृत्व प्रजातन्त्रिक प्रक्रिया अनुसार प्रत्येक पाँच वर्षमा परिर्वतन गर्ने कुरामा उनीहरु सहमत भए। २०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने। थापा अध्यक्ष भए पनि चन्द र थापा गुट भने कायमै रह्यो।
तेस्रो पार्टी हुँदा सत्ताको स्वाद तर दोस्रो विभाजन
२०५१ सालमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भंग गर्दै मध्यावधि चुनाव गराए। यो एकताले राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान गर्यो।
देशभर १९ सिट जित्दै राप्रपा सत्ताको साँचो बोकेको पार्टी बन्यो। चुनावको प्रतिफलअनुरुप राप्रपा तेस्रो शक्तिको रुपमा उदाउनुका साथै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्पष्ट बहुमत नआउँदा सत्ताको साँचो बन्न पुगेको हो।
मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्यो। यो सरकार नौ महिना मात्रै चल्यो। अधिकारीलाई हटाएर कांग्रेस नेता शेरबहादुर देउवा सत्ताको नेतृत्वमा आए। उक्त खेलको एक खेलाडी राप्रपा थियो। त्यसको नेतृत्व गरेका थिए सूर्यबहादुर थापाले।
थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री हुदाँ थापाले आफूखुसी मन्त्री सिफारिस गरेको भन्दै पार्टीभित्र लोकेन्द्रबहादुर चन्द विरोधी भएर निस्किए।
केही महिनापछि देउवा सरकार ढाल्न एमाले नेताहरु सक्रिय भए। राप्रपाको त्यही असन्तुष्ट चन्द पक्षले एमालेलाई साथ दियो। लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए। २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने।
आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा चन्दसँग उग्र भए। तत्कालीन समयमा थापाले चन्दलाई ‘राजनीतिक नैतिकता नभएको अवसरवादी’ भन्दै पार्टीको बैठकमै झपारेका थिए।
चन्द र थापाको विवादले राप्रपाभित्र असन्तुष्टिको खाडल बढ्दै गयो। चन्दको कदमले अध्यक्ष थापा बदलाको भावना लिँदै अघि बढे। उनी आफ्नै साथी चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे। पार्टी गठन भएको एक वर्ष्भित्र आफ्नै पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन गर्यो।
यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टीले विभाजनको रूप लियो।
सत्ताको जोडघटाउमा सुरू भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो। एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो। २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो।
२०४८ सालमा जस्तै यो फुट उसका लागि फलदायी भएन। २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो। थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन। पहिलो निर्वाचनमा चन्द पक्ष बलियो र थापा पक्ष कमजोर भएको थियो। तर, ६ वर्षपछि त्यो उल्टो भयो।
यो हारपछि पुनः एकीकरणको दबाब सिर्जना भयो। उनीहरु तयारीमा जुटे। पहिलो एकीकरणको नौ वर्षपछि र विभाजनको तीन वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो।
तेस्रो विभाजन ज्ञानेन्द्रको शासनमा
दोस्रो पटक हारका कारण एक भएको यो पार्टीका नेताहरुले सच्चिने चेत देखाएनन्। एकीकरण भएको दुई वर्षमा उनीहरु भित्र फाटो आयो। यसको एकमात्र कारण पूर्व राजा ज्ञानेन्द्र शाहको आफैं सत्ता चलाउने चाहाना थियो।
जब राजाको हैसियतमा ज्ञानेन्द्रले निर्वाचित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो।
सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए। तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधामन्त्री बनेपछि विभाजनले अंकुराउने मौका पायो।
दोस्रो विभाजनमा चन्द छोडेर थापा क्याम्पमा आएका कमल थापाले यतिबेला भने सूर्यबहादुरलाई छोडेर राजालाई साथ दिए। कमल थापाले राजालाई साथ मात्रै दिएनन, पार्टी पनि विभाजन गरे। २०६२ पुसमा छुट्टै भेला बोलाएर ‘राप्रपा नेपाल’ गठन गरे अनि आफू अध्यक्ष भएको घोषणा गरे। राजालाई साथ दिन राप्रपाको तेस्रो फुटको नेतृत्व गरेका थापाले राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको जिम्मेवारी पाए।
चौथो फुटपछि राप्रपा तीन चीरामा
यसरी दुई वटा भएको राप्रपामा थापा र उनीसँगै रहेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी तत्कालीन अध्यक्ष पशुपति शमशेर राणासँग अलग भए। राणालाई अध्यक्ष स्वीकार गर्न नसकेपछि उनी आफैं ‘राष्ट्रिय जनशक्ति पार्टी’ नामको नयाँ पार्टी गठन गर्दै राप्रपा चौथो पटक फुटाए।
यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीका स्वरुपमा रहन गए। २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए।
यो निर्वाचनमा उनीहरु कमजोर बने। अध्यक्ष पशुपति शमशेर आफैं पराजित भए। उनी २५ वर्षपछि पहिलो पटक पराजित भएका थिए। संविधानसभा निर्वाचनमा हार व्यहोरेसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो प्रयास सुरु गरे। ०७० साल जेठमा यी दुई पार्टीहरूबीच एकता भयो। राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे। नयाँ पार्टीको नाम राप्रपा नै राखियो। यद्यपि थापा जिवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरह्यो।
२०७२ बैसाखमा थापाको निधन भयो। त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी हाँक्ने सहमति गरे।
यसबीचमा उनीहरूले कमल थापालाई ल्याउने प्रयास गरे तर उनी राजा सहितको राजनीतिक व्यवस्थाको पक्षमा रहे भने राणाहरु अब गणतन्त्रबाट फर्किन नसक्नेमा पुगे।
दोस्रो संविधानसभा निर्वाचनपछि कमल थापा पक्ष बलियो
दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा र राप्रपा नेपाल दुई पार्टीले भाग लिए। उनीहरु हलो र गाई चिह्न लिई चुनावी मैदानमा होमिएका थिए। निर्वाचनको परिणाम राप्रपाले प्रत्यक्षमा ३ सिट जित्यो भने राप्रपा नेपालले प्रत्यक्षमा कुनै पनि सिट जितेन। तर, कुनै सिट जित्न नसके पनि हिन्दु धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्न सफल भयो। राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त गर्यो।
यसरी विभाजन हुँदा आपसमा कमजोर भएको निष्कर्षसहित पुनः एकीकरण प्रक्रिया सुरु गरे। यी दुई पार्टीबीच २०७३ मंसिर ६ गते एकता भयो। कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने। यो पार्टीको चौथो एकता थियो। तर, यो एकता पनि लामो समय टिक्न सकेन। २०७३ चैतमा डा प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरे।
पशुपति शमशेर राणाले २०७४ साउनमा पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे। २०७५ माघमा एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्त्रिक) बीच एकता भई राप्रपा संयुक्त गठन भयो।
० ० ०
विभिन्न एकता र विभाजनपछि शनिबार थापा र राणाका बीचमा सहमति भएको छ। अब यो सहमति अनुसार राप्रपा शक्तिशाली भएर अर्को शक्तिको रुपमा आउने कमल थापा निकट र मस्यौदा कार्यदलका एक सदस्य दिपक बोहोराले बताउँछन्। विगतमा पनि यस्तो भनिएको तर सत्तामा जानका लागि सधै विभाजन भएको कुरा अब सबै पक्षले स्वीकार गरेको र संवैधानिक राजतन्त्रको आवश्यकता महसुस भएकाले अब समस्या नहुने बोहोराको तर्क छ।
हालसम्मको छलफलमा अध्यक्ष मण्डल निर्माण गर्ने र पुनः महाधिवेशन गर्दै अध्यक्ष छान्ने सहमति भएको छ। राणा, थापा र लोहनीको नेतृत्वमा अध्यक्ष चक्रीय प्रणालीमा हुने सहमति भएको देखिन्छ।
विगतमा राजसंस्था र हिन्दु राज्यमा अलि नरम नै रहेको राणा र लोहनी पक्ष अहिले लगभग कमल थापाकै लाइनमा आइपुगेको छ। यहाँसम्म किन पर्खिनुभयो त भनी सोधिएको प्रश्नमा राणा निकट नेता ठाकुर शर्मा अहिलेको आवश्यकता बताउँछन्।
२०७५ साउनमा जुन कुरामा विवाद थिए, त्यसैमा पुग्नु थियो भने किन त्यो समयमा भएन र अहिले भयो त भन्ने प्रश्नमा ठाकुरले अहिलेको परिस्थितिमा त्यसको आवश्यकता झन् धेरै देखिएको दाबी गर्छन्।
भारत वा अन्य पक्षको दबाब भने उनले स्वीकार गरेनन्। राप्रपा पहिला पनि एक थियो र अब पनि एक हुने सन्देश दिएर देशमा आवश्यकता भएको अर्को शक्तिको निर्माणमा लागेको उनको दाबी छ।
अबका एजेन्डा र चुनौती
राप्रपाको अबको एजेन्डा हिन्दूराज्य र राजतन्त्र स्पष्ट भएको छ। यसअघि दुई पक्ष दुइथरि एजेन्डामा रहेका थिए। राणा समूह गणतन्त्रकै पक्षमा छ थियो भने थापा समूह राजतन्त्रको पक्षमा। यी दुवै पक्षका बीचमा मेल कहाँ होला भन्ने कौतुहलता थियो। साउन २५ मा एकता हुन नसक्नुको मुख्य कारण पनि यही थियो। राणाले तत्कालीन समयमा राजतन्त्रका बारेमा खुलेर नजाउ अरुमा सहमत भनेका थिए तर थापा राजसंस्थाको बारेमा अहिले नै निर्णय हुनपर्ने पक्षमा थिए।
राणाले नेपाल लाइभसँगको कुराकानीमा पनि एकताको बिन्दु यही हुने तत्कालीन समयमा बताएका थिए। तर थापाले राजतन्त्रका बारेमा कुनै स्पेस नराख्ने भनेपछि राणा पछि हटेका थिए।
उनीहरु एक हुनुको अर्को कारण भनेको यी दुईको एकधारमा नगए समाप्त हुने त्रास पनि हो। खुम्चदो राजनीतिक अवस्थाका कारण पनि उनीहरु एक हुनैपर्ने बाध्यतामा थिए। पछिल्लोपटक पार्टीका अधिकांश नेताहरुले निर्वाचनमा पराजय भोगेका थिए। थापा पक्षमा झापामा राजेन्द्र लिंदेनले मात्र प्रत्यक्ष निर्वाचन जितेका थिए भने राणा पक्षका कसैले पनि जितेनन्।
राणा र थापा स्वयम् पनि पराजित भएका थिए। उनीहरुले निर्वाचन जित्ने आस गरेका सुनीलबहादुर थापा, विक्रम पाण्डे, बुद्धिमान तमाङ जस्ता नेताहरुले पनि पराजय भोग्न बाध्य भएका थिए। कांग्रेसको कमजोर भुमिका र बढ्दो कम्युनिस्टका कारण पनि यी दुई दललाई अस्तित्वका लागि एक हुन बाध्य बनाएको देखिन्छ। कुनै समय सत्ताको निर्णायक दल रहेका यी दल अहिले चासो नै नहुने पनि उनीहरुका बीचमा एकीकरण गराउने भूमिका खेलेको देखिन्छ।
भारत निकटको आरोप
राप्रपालाई सधैं लाग्ने गरेको पुरानो आरोप हो, भारतसँगको निकटता। तर, अब परिस्थिति बदलिएकाले त्यसलाई मेट्नुपर्ने चुनौती राप्रपालाई छ।
भारत निकट भनिएका चतुर राजनीतिज्ञको पहिचान बनाएका सूर्यबहादुर थापाका कारण यो छवि बनेको थियो। उनका छोरा सुनील थापाले राणालाई साथ दिइरहेका छन्। हिन्दूत्व र राजतन्त्रको मुद्दामा भारतीय सत्ताधारी भाजपासँग सुरुदेखि नै विचार मिल्ने पूर्व राप्रपा नेपालको नेतृत्वमा कमल थापा रहेका छन्। भारतीय सत्ता पक्षसँग एजेन्डा मिलेका कारण पनि राप्रपाको तेस्रो विश्वसँगको सम्बन्ध चुनौतीपूर्ण छ।
विरासतको लडाईं?
अन्ततः आफ्नै पार्टीका नेता लोकेन्द्र बहादुर चन्दको साथ लिई उसबेला आफ्नो सरकार ढालेर सूर्यबहादुर थापालाई सघाउँदा आफूले ‘मुसा प्रवृत्ति’ भनी कटाक्ष गरिएका नेता कमल थापा, राणा र सूर्यबहादुरका छोरा सुनिल थापा वा चन्दका छोरा कसले राप्रपाको भावी विरासत थाम्ने भन्ने प्रतिस्पर्धा हुने देखिन्छ। उनीहरुले दाबी गर्ने स्वभाविक नै छ।
त्यस्तै दीपक बोहोरा, टंक ढकाल, धवल शमशेर राणा, ठाकुर शर्मा जस्ता नेताहरुको अवस्था के हुने भन्ने प्रश्न पनि देखिन्छ। थापा वा राणासँग हुँदा, कहिले पनि पार्टीको अध्यक्ष बन्न नसकेका प्रकाशचन्द्र लोहनी अध्यक्षको लाइनमा भर्खर प्रवेश गरेका छन्। प्रत्यक्ष राजनीतिबाट अस्ताएका लोहनी अब भावी नेतृत्वमा के दाबी गर्लान भन्ने प्रश्न पनि रहेको छ। त्यस्तै थापा र राणा पक्षका नयाँ युवा नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि अब देखिन्छ।
गाई कि हलो?
पछिल्लो पटक राप्रपा विभाजन हुनुको एक कारण चुनाव चिह्न गाई कि हलो भन्ने थियो। उक्त विवाद अहिले पनि कायमै रहेको छ। पार्टी स्थापनादेखि राणाले हलो चिह्न रहेको र सबै धर्मका मानिसलाई समेट्न भन्दै हलोको दाबी गरेका थिए। थापाले गाईलाई आफ्नो स्वाभिमान ठाने।
यो विवाद हाल पनि कायमै रहेकाले सहजै रुपमा मिल्ने देखिँदैन। शनिबार भएको आधारपत्रले यसलाई प्रष्ट नपारेकाले भावी दिनमा यसमा बहस र विवाद निश्चित नै छ। दुई पक्षमध्ये कसले आफ्नो चुनाव चिह्न बिर्सिन्छन्, हेर्न बाँकी छ।
युवा मतदाता तान्ने चुनौती
पञ्चहरुको पार्टी भएकाले यसको युवा मतदाता नभएको आरोप लाग्दै आएको छ। सूर्यबहादुर थापाको धनकुटा र पशुपति शमशेर राणाको सिन्धुपाल्चोक बाहेक अन्य स्थानमा राम्रो छाप नरहेकाले नयाँ युवाहरुलाई पार्टीमा ल्याउनुपर्ने उसको चुनौतीपूर्ण छ।
तर पछिल्लो समय बाँके र झापामा केही सुधार भएको देखिन्छ। धवल शमशेर र राजेन्द्र लिंदेनले युवा पुस्तालाई लक्षित गरेर काम गरेपछि यी क्षेत्रमा केही सुधार भएको छ। राप्रपाको पछिल्लो समय झापामा राम्रै छाप रहेकाले त्यसबाट सिकेर युवाहरुलाई आकर्षित गर्नुपर्ने चुनौती राप्रपामा रहेको छ।
काग्रेससँग विचार मिल्ने तर एजेन्डा नमिल्ने भएकाले अब राप्रपा एक शक्तिको रुपमा आउने बोहोराको दाबी छ। तर, ठाकुर शर्मा भने अबका तीन वर्ष जनतामा जाने अवसर भएकाले राप्रपा त्यसपछि मात्र कुन शक्ति हो भन्ने देखिन बताउँछन्।
जनताले यसअघि विभाजन भएको र धेरै एजेन्डा बोकेको राप्रपा देखेको तर अब कम्युनिस्टहरुको विकल्पको रुपमा देख्ने उनको बुझाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।