काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्ति विशेषसँग शेयर बजारलाई जोडेर नहेर्न आग्रह गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा खतिवडाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा शेयर बजारको मूल्यका विषयमा कुनै मान्छेको अनुहारसँग जोड्ने र हेर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
शेयर बजार लगातार ओरालो झर्दा लगानीकर्ताहरुले उनको राजीनामा माग्दै नेप्से कार्यालयमा अनसनसम्म बस्न भ्याएका थिए। आफ्नो धेरै नै आलोचना भएपछि उनी अर्थमन्त्री भएदेखि नै शेयर बजार घट्नुको प्रमुख कारण उनीमाथि लगाइँदै आएको थियो।
विगत दुई वर्षमा शेयर बजार सबैभन्दा धेरै सुधार भएको दाबी गरेका सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका डा खतिवडाले भने, 'चाहे नीति नियम बनाउने कुरामा होस्। चाहे कर प्रणालीमा सुधार गर्ने कुरा होस्। कारोबारलाई छिटो समयमा राफसाफ गर्ने कुरा होस्। चाहे मार्जिनसँग सम्बन्धित होस्। यति धेरै सुधार भएको छ।'
धेरै वर्ष लगाएर पनि सुधार नभएको काम दुई वर्षको अवधिमा सम्पन्न भएको उनको दाबी थियो। आफु आएसँगै शेयर बजारमा अनलाईन ट्रेडिङदेखि लिएर धेरै कुराहरुमा सुधार भएको दाबी गरेका खतिवडाले अंग्रेजी उखानको सहारा लिएर भने, 'यु क्यान टेक द हर्स टु द वाटर, बट यु क्यान नट मेक इट ड्रिन्क' (घोडालाई पानी भएको ठाउँसम्म लैजान सकिन्छ तर पानी खुवाउन सकिन्न, घोडाले आफै खाइदिनुपर्छ)भन्दै जवाफ दिए। उनले थपे, 'अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्याइदिने हो बाँकी लगानीकर्ताको जिम्मा।'
लगानीकर्तालाई सुझाव दिँदै उनले भने, 'आफूले लगानी गर्ने कम्पनीको वासलात, नाफा नोक्सानको अवस्था, भविष्यमा त्यसको व्यवसायको भविष्य कस्तो छ कति वलियो भएर जान्छ। त्यो हेरेर निर्णय गर्नु पर्छ।'
लगानीकर्ताहरुले लगानीको निर्णय गरिरहँदा सरकारबाट आउने निर्णय के कस्ता कस्ता छन् त्यो हेर्न र नीतिगत सुधारका लागि बसेर कुरा गर्न सकिने खतिवडाको भनाइ छ। दोस्रो बजारका कम्पनीको सेयर मूल्यमा भएको थपघटतर्फ संकेत गर्दै उनले भने, 'नीतिगत प्रणाली ठिक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने अनि भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो।' बजारको सेन्टिमेन्टलाई सरकारसँग जोडेर हेर्नु उपयुक्त नहुने खतिवडाको तर्क थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।