काठमाडौं– अर्थमन्त्रीमा डा युवराज खतिवडा पुनः नियुक्त भएका छन्। मंगलबार पदबाट राजीनामा दिएका उनी बुधबार मन्त्रीमा मात्र नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी तोकेकी हुन्। ती मन्त्रालय खतिवडाले नै सम्हाल्दै आएका थिए।
उनले मंगलबार स्वतः मन्त्री पदबाट मुक्त हुनु केही घन्टाअघि राजीनामा दिएका थिए। उनको शपथ ग्रहण बुधबार ४ बजे तोकिएको छ। संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्थाअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। तर पुनः राष्ट्रियसभा सदस्यका लागि सिफारिस हुन नसकेमा भने ६ महिनापछि उनको मन्त्री पद गुम्नेछ।
संविधानमा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ तर मन्त्रीले शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।