काठमाडौं- वरिष्ठतम सहसचिव रामशरण पुडासैनीलाई कायममुकायम सचिव बनाउने मन्त्रिपरिषद्को निर्णयसँगै अर्थ मन्त्रालयमा करिब २ सातायता भूमिकाविहीन रहेका सहसचिवहरुको व्यवस्थापन गर्ने बाटो खुलेको छ।
मन्त्रालयको शक्तिशाली मानिने बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख रहेका पुडासैनीको बढुवासँगै रिक्त राजस्व सचिव पदमा पदस्थापन हुँदैछ। तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगानालाई अर्थसचिव बनाइएसँगै रिक्त रहेको यो पदमा पुडासैनीलाई ल्याइएको हो।
अर्थमन्त्री डा युवराज खतिवडाले धेरै विश्वास गर्ने कर्मचारीमध्येमा पर्छन् पुडासैनी। एसियाली विकास बैंकमा पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर पुडासैनीलाई नै वैकल्पिक कार्यकारी निर्देशक बनाइएको थियो।
को हुन् पुडासैनी?
अर्थ मन्त्रालयको संरचनाभित्र पछिल्लो २२ वर्षदेखि परिचित नाम हो रामशरण पुडासैनी। २०५४ सालमा लेखाबाट राजस्व समूहमा प्रवेश गरेका उनी त्यसयता मन्त्रालयभित्र विभिन्न जिम्मेवारीमा रहे।
पुडासैनीले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको प्रमुख भएर तीनपटक काम गरे। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा उनलाई बजेटको प्रमुख बनाइएको थियो। यसैगरी एसियाली विकास बैंक जानुअघि र फर्किएपछि पनि पुडासैनीले यही जिम्मेवारी पाएका थिए।
पछिल्ला वर्षमा खर्च र योजनामा धेरै काम गरे पनि पुडासैनीसँग नीतिगत तहमा लामो समय काम गरेको अनुभव छ। उनी राजस्व व्यवस्थापन महाशाखाको पनि प्रमुख भैसकेका छन्।
सहसचिव व्यवस्थापनको बाटो खुल्यो
सरकारले करिब २ साताअघि ३ जना सहसचिवको अर्थ मन्त्रालयमा सरुवा गर्याे। सहसचिवहरु भूपाल बराल, यामलाल भुसाल र केदारप्रसाद पनेरु अर्थ मन्त्रालय आएका छन्। तर उनीहरु तीनै जनाको पदस्थापन भएको छैन। अर्थ मन्त्रालय आएकामध्ये पनेरु र भुसालले बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारीमा दाबेदारी प्रस्तुत गरेका छन्।
पनेरु उपसचिव हुँदा ९ वर्ष बजेटमा बसेका थिए। बजेटमा आफ्नो अनुभव राम्रो भएकाले त्यसको नेतृत्व आफैंले पाउनुपर्ने उनको दावी छ।
भुसाल राष्ट्रिय योजना आयोगमा अर्थमन्त्री खतिवडासँगै काम गरेका व्यक्ति हुन्। पछिल्लो समय अर्थसचिव ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहँदा भुसालले त्यहाँ पनि सँगै काम गरेका थिए। त्यस हिसाबले पनि उनलाई यो महाशाखाको संभावित नेतृत्वकर्ताका रुपमा हेरिएको छ।
मन्त्रालयभित्रैबाट पनि सहसचिव धनिराम शर्मा पनि नयाँ भूमिकाको खोजीमा छन्। राजस्वमा लामो समय बसेका उनी अब बजेटमा जाने चाहना व्यक्त गरेका हुन्।
यसैगरी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालले पनि त्यो जिम्मेवारीबाट हट्न चाहेमा बजेटको बलियो दाबेदार मानिएको छ।
नयाँ सहसचिवको आगमनसँगै अर्थमा अन्य केही सहसचिवहरुको जिम्मेवारी हेरफेर हुने सम्भावना छ। हालै मात्रै वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको जिम्मेवारी पाएका झक्कप्रसाद आचार्य र प्रशासन महाशाखको जिम्मेवारी पाएका बाबुराम भण्डारीबाहेक अन्यको जिम्मेवारी परिवर्तन हुन सक्ने आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।