नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताको सुख र देशको समृद्धिको नारा लगाएर जनता झुक्याउने कुरा गर्न थालेपछि राजनीतिक बुद्धिजीवी, बौद्धिक वर्ग, विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधि र सचेत जनताले लोकतान्त्रिक शासनमा प्रमुख प्रतिपक्षी दलको अपरिहार्यतालाई बुझ्न थालेका छन्।
देशको प्रमुख लोकतान्त्रिक दलका रुपमा रहेको नेपाली कांग्रेस पार्टी कमजोर नभएको भए प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा चलेको नेपाल कम्युनिस्ट पार्टीको सरकार यति छाडा, यति संकीर्ण र यति भ्रष्ट हुन पाउने थिएन।
कुनै पनि सरकारले लोकतन्त्रको गोरेटो छोडेर हिँडन खोज्यो भने त्यसलाई रोक्ने काम प्रमुख प्रतिपक्षको हो। तर, यतिबेला कांग्रेसको नेतृत्वमा आवश्यक गतिशीलता छैन।
एकातिर, पार्टीका कार्यकर्ताहरु चुनावमा भएको पराजयको पीडाबाट मुक्त हुन सकेका छैनन्। अर्कोतिर, पार्टीका महत्वपूर्ण नेताहरु आपसी विवाद, असहिष्णुता र गुटबन्दीमा आकण्ठ डुबेका छन्।
गत साता कांग्रेसका ‘अन्तरिम’ सभापति शेरबहादुर देउवाले हास्यास्पद काम गरे। आफनो नेतृत्वको चार वर्षसम्म गठन नगरेका पार्टीका विभागहरु गठन गरेर आफ्ना विपक्षी तर्साउने काम गरे। प्रतिक्रियामा सभापति देउवाका प्रतिद्वन्द्वीका रुपमा चिनिएका रामचन्द्र पौडेलले आफ्ना तर्फबाट विभाग गठनलाई बहिष्कार गरे। त्यसपछि उनको विरोध पनि सकियो।
यो घटनाले देखाउँछ, लोकतन्त्रको प्रतिनिधि संस्थाका रुपमा नेपाली कांग्रेस सुदृढ नेतृत्वको खोजीमा छ। यस्तो नेतृत्व हालका सभापति देउवा र भावी सभापतिको सपना पालेर बसेका रामचन्द्र पौडेल लगायत समकालीन नेताहरुले दिन सक्दैनन्।
शशांक कोइरालाले आफ्नो र शेखर कोइरालाबीचको प्रतिद्वन्द्वितामा रामचन्द्र ‘दाइ’ लाई देखाए पनि कांग्रेसभित्र अहिले कोरिन लागेको कुनै पक्षको नक्सामा पनि रामचन्द्र पौडेलको नाम देखा पर्दैन।
कांग्रेस संगठनलाई ऊर्जा चाहिएको छ। यस्तो ऊर्जा जसले कांग्रेसको वर्तमान स्वरुप र प्रणालीमा नै आमूल परिवर्तन गरोस्। समकालीन राजनीतिका निर्णायक मानिने अहिलेको नेतृत्व सभापति देउवाकै समकालीन हो। यो नेतृत्व देउवाभन्दा लायक भइदिएको भए कांग्रेसले अहिलेको जस्तो दुर्गति बेहोर्नुपर्ने थिएन।
लामो समयदेखि राजनीतिक हिसाबले कांग्रेससँग जोडिएका मानिसहरु कांग्रेसले अहिले बेहोर्नुपरेको दुर्गतिको कारण गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेस नेतृत्वमा देखिएको शून्यता हो भन्छन्। राजनीतिशास्त्रका पण्डितहरु यो विचारसँग असहमत छैनन्।
गिरिजाप्रसाद कोइरालाको निधनपछि ‘ट्रान्जिसन’ का रुपमा सभापति बनेका सुशील कोइरालाले नेतृत्वको शून्यता पुर्नसक्ने कुरा थिएन। उनको नेतृत्वका लागि देउवा प्रत्यक्ष चुनौती थिए भने पौडेल अप्रत्यक्ष हिसाबले। उनी आफैं बिरामी थिए। उनले यो दोहोरो चापलाई खप्न सकेनन्।
अहिले कांग्रेसका एकथरी शुभचिन्तकहरु कोइराला परिवारबाटै कांग्रेसको नेतृत्व आउनुपर्ने तर्क दिइरहेका छन्। महिला र राजनीतिक गतिविधिमा सक्रिय रहेकोले स्व गिरिजाप्रसाद कोइरालाको एकमात्र सन्तान सुजाता कोइराला कांग्रेस सभापतिमा चुनाव लड्नसक्ने लख धेरैले काटेका थिए। आफ्नो स्वास्थ्य स्थितिका कारण उनी पन्छिएकी छिन्।
केही समय अघिसम्म कोइराला परिवारका तीन सदस्य शेखर, सुजाता र शशांकका बीचको सम्बन्ध सामान्य थियो। अहिले तीनै जना घनिष्ट छन्। सम्भवतः सुजाताले शशांक र शेखरका बीच रेफ्रीको भूमिका निर्वाह गर्न सक्छिन्।
स्व बिपी कोइरालाका कान्छा सुपुत्र शशांक कोइराला मसिनो स्वरमा मिठो कुरा बोल्न खप्पिस छन्। उनी नवलपुरमा धानबाली भित्र्याएपछि आयोजना गरिने धान्याञ्चल यज्ञ आयोजकका प्रिय नेता हुन्। यस्तै धान्याञ्चलका उपलक्ष्यमा उनले दिएको नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने वक्तव्यले उनलाई राजनीतिक विवादमा घचेट्यो। पछि उनले त्यसको खण्डन गर्दै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए। तैपनि, यो कुरा सामसुम हुन सकेन। उनलाई हिन्दु धर्मको भूतले अहिले पनि लगारिरहेको छ। हालैमात्र उनी उत्तर प्रदेशका मुख्यमन्त्री महन्थ आदित्यनाथको निम्तोमा लखनउ भ्रमणमा गएका थिए। यसले हिन्दुत्वसँग उनको लसपस अझै बाँकी रहेको आशंका जन्माएको छ।
शशांकले जे भने पनि उनमा सभापति उम्मेदवार हुने तीव्र लालसा छ। कांग्रेस कोइरालाहरुको बपौती होइन भन्ने नेताले कोइरालाहरुबीच मिल्ने कुरा भइरहेको बताउनु यसैको संकेत हो।
शशांकले आफू ‘देउवाका विरुद्ध’ सभापति पदमा चुनाव लड्ने बताएका छन्। एक दैनिकसँगको वार्तामा उनले भनेका छन्, ‘कांग्रेस भित्रको संस्थापनभन्दा अलग पक्ष एक भएनौं भने फेरि शेरबहादुरजीले नेतृत्व लिनुहुन्छ। त्यसैमा ध्यान दिनुपर्छ। एउटै उम्मेदवार हुने विषयमा छलफल भइरहेको छ।’
तपाईं र शेखर कोइरालामध्ये एक (सभापतिको उम्मेदवार) हो भन्छन् नि भन्ने प्रश्नको उत्तरमा शशांक भन्छन्, रामचन्द्र दाइ पनि हुनुहुन्छ।’
शशांकका अनुसार, ‘नेपाली कांग्रेस कोइरालाहरुको बपौती होइन। हामी (कोइराला)बीच मिल्ने कुरा भइरहेको छ। समय छ।’
शशांकले जे भने पनि उनमा सभापति उम्मेदवार हुने तीव्र लालसा छ। कांग्रेस कोइरालाहरुको बपौती होइन भन्ने नेताले कोइरालाहरुबीच मिल्ने कुरा भइरहेको बताउनु यसैको संकेत हो।
शशांक कोइराला विराटनगरमा रहेको कोइरालाहरुको पुख्र्यौली भूमि भन्दा निकै पश्चिम, नवलपुरबाट दुई पटक संविधान सभामा र एक पटक संसदमा समेत गरी तीन पटक सांसद भइसकेका छन्। उनी मृदुभाषी छन्। नेत्र चिकित्सकका रुपमा उनले निकै ठूलो प्रतिष्ठा कमाएका हुन। तर, कांग्रेस सभापतिको आगामी चुनावमा उनी बिपी कोइरालाका कान्छा सुपुत्रका रुपमा चुनाव लड्ने छन्। उनको सबभन्दा ठूलो राजनीतिक सम्पत्ति भनेको यही हो। उनलाई बिपी कोइरालाले आफ्नो राजनीतिक उत्तराधिकारी घोषित नगरे पनि विरासतको ‘उत्तराधिकार’ उनकै नाममा रहेको छ।
शशांक कोइरालाले आफ्नो र शेखर कोइराला बीचको प्रतिद्वन्द्वितामा रामचन्द्र ‘दाइ’ लाई देखाए पनि कांग्रेसभित्र अहिले कोरिन लागेको कुनै पक्षको नक्सामा पनि रामचन्द्र पौडेलको नाम देखा पर्दैन। अहिलेसम्मको स्थितिमा शेखर कोइरालाले मात्र कांग्रेस सभापतिको प्रत्यासीका रुपमा आफूलाई अघि सारेका छन्।
शेखरको उम्मेदवारी अंकगणितीय छ। उनी सभापतिमा चुनाव लड्दा ६८ वर्षका हुने छन्। त्यसपछिको चार वर्ष उनी कांग्रेसलाई एक पूर्ण आधुनिक राजनीतिक संगठनका रुपमा रुपान्तरित गर्ने छन्। त्यसपछि उनी राजनीतिबाट बाहिरिने छन्। तर, राजनीति शेखरले भनेजस्तो सोझो बाटोमा हिँड्दैन।
सभापतिमा शेखरले चुनाव जिते भने त्यसपछिको संसदीय चुनावमा बहुमत ल्याउने उनको प्रयास हुने छ। त्यसमा सफल भए भने उनी स्वभावतः कांग्रेस संसदीय दलको नेता हुने छन्। त्यसपछि प्रधानमन्त्रीको रुपमा देश हाँक्ने जिम्मेवारी उनको काँधमा आउने छ।
शेखरलाई थाह छ, राजनीतिको बाटो त्यति सजिलो छैन। कोइराला परिवारको सदस्य भए पनि आफूले बिपी वा गिरिजाबाबु, कसैको विरासत नधानेको कुरामा उनी स्पष्ट छन्। शेखरकी आमा नोना कोइराला नेपाली लोकतान्त्रिक आन्दोलनकी अग्रपंक्तिकी नेता हुन्। तर, पुरुषप्रधान समाजमा महिलाको योगदानको त्यति गणना हुँदैन।
शेखरको पक्षमा जाने एउटा महत्वपूर्ण कुरा उनको अनुभव हो। विद्यार्थी जीवनमा उनी राजनीतिक गतिविधिमा लागे पनि उनले डाक्टरको पढाइ पूरा गरे। उनी कालाजारका विशेषज्ञ डाक्टर हुन्। पछि उनी चिकित्सा प्रशासनमा लागे। उनी धरानमा निर्मित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार, रेक्टरदेखि उपकुलपतिसम्म भए। उनको व्यवस्थापनमा बिपी प्रतिष्ठानले निकै उन्नति गरेको थियो।
शेखरलाई थाह छ, राजनीतिको बाटो त्यति सजिलो छैन। कोइराला परिवारको सदस्य भए पनि आफूले बिपी वा गिरिजाबाबु, कसैको विरासत नधानेको कुरामा उनी स्पष्ट छन्।
बिपी प्रतिष्ठानबाट बाहिरिएपछि उनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीका रुपमा राजनीतिमा प्रवेश गरेका हुन्। उनले माओवादीलाई शान्ति वार्तामा ल्याउने काममा प्रधानमन्त्री कोइरालालाई सल्लाह र सहयोग दुवै दिएका थिए। प्रधानमन्त्री कोइरालाका विश्वासपात्र सहयोगीका रुपमा उनको प्रभावकारिता निकै बढेको थियो। तर, शेखर कोइरालाले प्रधानमन्त्री कोइरालासँग आफ्ना लागि ‘राजनीतिक संरक्षण र सुरक्षा’ को माग कहिल्यै नगरेको जानिफकार सूत्रहरु बताउँछन्।
सामान्य हिसाबले हेर्दा दुई कोइराला भाइ आगामी महाधिवेशनमा आपसी प्रतिद्वन्द्वितामा ओर्लिने मनस्थितिमा छैनन्। एकले अर्कोलाई छाड्ने विश्वास दुवैमा देखिन्छ। कांग्रेसको आगामी महाधिवेशन सरल रेखामा हिँडने जस्तो देखिँदैन। आगामी फागुनसम्म कति समीकरण बन्लान् र कति भत्किएलान् भन्न सकिँदैन। अहिलेको राजनीतिक परिदृश्यमा नजर दौडाउने हो भने सभापति देउवा नै फेरि उठ्ने सम्भावना घट्दै गएको छ। के सन्देश दिन्छ अहिलेको परिस्थितिले, कांग्रेसको राजनीति त्यतै लहसिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।