औपचारिक रुपमा ‘कोरोना’ कर्फ्यू लाग्न थालेको २६ दिन बितिसकेको छ। नेपाली जनताले ठाउँ हेरी थोरै सहज र धेरै असहज ढंगले बिताएका छन् यी २६ दिन। काठमाडौंको कुरा गर्ने हो भने लकडाउनले शहरका उच्च वर्ग र उच्च-मध्यमवर्गको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन। शहरमा सुविधाका भण्डारहरूको कुनै कमी छैन। तर, निम्न मध्यमवर्गका जनताको कुरा बेग्लै छ। त्यो भन्दापनि खराब अवस्था ज्याला मजदुरी गरेर बाँच्ने सीमान्तकृत वर्गका जनताको छ। शहर बन्द भएपछि शुरुका केही दिन यी जनताले हाहा, होहो र रामरमितामा बिताए। कोरोना के हो? लकडाउन के हो? कसैलाई पनि थिएन यसको स्पष्ट जानकारी। जनताले सोचेका थिए- लकडाउनको चाप बिस्तारै मथ्थर हुन थाल्नेछ। पाँचसात दिनपछि सबै कुरा पहिलेको जस्तो सहज र सामान्य हुन थाल्नेछ।
तर, अब स्थिति तत्काल सामान्य हुने देखिँदैन। यो निश्चित छ। लकडाउनको आज छब्बिसौं दिन हो। जतिजति दिन बित्दै गएको छ, यसको दबाब बढदै गएको छ। सरकारी सुरक्षाको डरले मानिसले मुख खोल्न सकेको छैन। ऊ निसास्सिएको छ। एकातिर, टाउको माथिको आर्थिक भार बढदो छ। अर्कोतिर, सरकारलाई लागेको छ - काठमाडौं शहरका मानिसलाई केही कुराको दुःख छैन। सबै कुराले भरिपूर्ण छ यहाँका बासिन्दाको जीवन। सत्ताका आसेपासे र भ्रष्टाचारको दलाली गर्नेका लागि कुनै उपभोग्य सामग्रीको दुःख छैन यो शहरमा। श्रम गरेर खानुपर्ने मानिसका लागि यो उपत्यका दुःखहरुको स-सानो महासागर नै हो। अहिले सीमान्तमा रहेका नेपाली जनता यो महासागरबाट पार पाउन खोज्दैछन्।
‘लकडाउन’ शुरु भएका दिनमा पुलिसले आफ्नो ‘अथरिटी’ स्थापित गर्न निकै फुर्तिफार्ती गरेको थियो। जनताले पुलिसको सामान्य हप्कीदप्कीको त्यति वास्ता नै गरेनन्। काठमाडौंको बजारमा छाती फुकाएर हिँडीरहेका जनताका लागि लकडाउन नामको सरकारी बन्द आफैमा नयाँ अनुभव थियो। पुलिसका लागि पनि यो नितान्त नौलो अनुभव थियो। उनीहरूलाई पनि लागेको थियो होला, ‘लकडाउन’ भनेको नेकपा नेता नेत्रविक्रम चन्द 'विप्लव'ले बेलाबेलामा देशको ‘वैधानिक’ सरकारलाई तर्साएर आफ्नो काम निकाल्न आह्वान गर्ने 'नेपाल बन्द' जस्तै हो। बन्द बिहान जतिबेला शुरु भएपनि साँझ ५ बजेपछि बजार, यातायात अनिवार्य रुपमा सबै हर्रर खुल्ने।
मानिसको मनको त कुरै छाडिदिनुहोस्, डाक्टरहरुसमेत कुन तहको दहशतमा बाँचेका छन्? यसैबाट देशमा विद्यमान परिस्थितिको अन्दाज लगाउन सकिन्छ।
तर, सरकारी बन्द विप्लवको राजनीतिक भनिने बन्दजस्तो होइन रहेछ भन्ने छिटै थाहा पायो पुलिसले। तदनुकूल, उसको व्यवहारमा परिवर्तन आउन थाल्यो। समाजलाई पूर्ण नियन्त्रणमा लिएर ‘सोसल डिस्ट्यान्स’ पालन गराउन पुलिस कठोर हुन थाल्यो। कोरोनाबाट बच्न प्रत्येक मानिसले एक अर्कासँगको भेटमा केही मिटरको दूरीमा बस्ने, बाहिर निस्किनै परेको बेला नाम मात्रको भएपनि मास्कले नाक मुख छोप्नैपर्ने। घरमा बस्नैपर्ने लकडाउनको नियम सिकाइयो पुलिसलाई। जनताले टेरेनन् भने टाउको पिठ्यूँ र पुठ्ठामा लठ्ठी बजारेर भएपनि टेर्न लगाउने निर्देशन दिइयो।
अहिले नेपाल सरकारले नेपालका ‘सम्पूर्ण तीन कोटी’ जनताको ज्यान पुलिसको जिम्मामा सुम्पेको छ। तीनै प्रमुख शहर र अन्य नयाँ शहरका टोल टोलका बजार र पसल उसैको नियन्त्रणमा छ। शहरमा दुषित र अप्रशोधित पानी बोकेका ट्यांकर उसैको अनुमतिले दिनभरि सडकमा कुदिरहेका हुन्छन्। स्वास्थ्य रक्षाको नाममा अस्वस्थ्य खानेकुरा खरिद गर्न बाध्य पारिएको छ जनतालाई। पत्रकार अनील गिरीले रिट्विट गरेका छन्, 'शहरका सामान्य पसल र स्टोरहरुलाई बिहान दुई घण्टा खोल्न दिएर बन्द गर्न लगाइएको छ। तर, भाटभटेनी सुपर स्टोरका छ वटै शाखा बिहानदेखि साँझसम्म खुला रहने गरेका छन्।' भाटभटेनीका मालिक वर्तमान सरकारको आर्थिक मतियार मानिन्छ।
दिनहुँ दश प्रतिशतका दरले मूल्यवृध्दि भएको जानकारी पाउन अखबार र अनलाइनको अध्ययन गर्न पर्दैन। टोलका रैथाने अर्थशास्त्रीहरूबाट दैनिक भएको मूल्यवृध्दिको पूर्ण विवरण पाइन्छ। कुन पसलमा कुन वस्तुको मूल्य हिजोको अनुपातमा आज कति बढ्यो? जान्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडा नै हुनुपर्दैन। औषधि पसल र फार्मेसीमा चाहिएको औषधि पाईंदैन। जनताले नियमित रूपमा रगत र मलमूत्रको परीक्षण गर्ने प्रयोगशालाहरुमा ताला लागेको छ। भएभरका डाक्टर, अस्पताल र क्लिनिक कोरोना केन्द्रमा अड्किएका छन्। मानिसलाई कोरोनाबाहेक अन्य कुनै रोग लाग्यो भने मान्नुहोस् कि यो शहरमा उसको खैरियत छैन।
किस्सा होइन, विराटनगरको कुनै अस्पतालको अपरेसन थिएटरमा अपेन्डिसाइटिसको अपरेसनका लागि तयार पारिएको बिरामीले ‘ख्वाक्क’ खोकेपछि डाक्टरहरूले ‘यो त कोरोना केस परेछ’ भनेर हतारहतार बिरामीलाई बिपी अस्पताल धरान पठाएछन्। मानिसको मनको त कुरै छाडिदिनुहोस्, डाक्टरहरुसमेत कुन तहको दहशतमा बाँचेका छन्? यसैबाट देशमा विद्यमान परिस्थितिको अन्दाज लगाउन सकिन्छ।
यस्तो लाग्दछ, कोरोनाको पूर्ण जानकारी प्रधानमन्त्री ओलीमा छ। उनका मन्त्री र सहयोगीको हैसियत बिचौलियाभन्दा माथिको छैन।
लकडाउनको पूर्व सन्ध्यामा आफूले कमाएको पारिश्रमिक नपाएर घर जान नपाएका कामदार, ठेकदारको काम गर्ने मजदूर, कुल्ली र कवाडी तथा यातायात खुलेपछि घरजाने कार्यक्रम बनाएर बसेका भारत तथा तेश्रो मुलुकमा रोजगारीगर्ने कामदार पैदलबाटो घरतिर लागेका छन। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ती जनता बेखर्ची भएका छन। देशको सर्वोच्च अदालतले ती मानिसहरुको उद्धार गरेर घर पुर्याइदिने फरमान सुनाइ सकेको छ। तर, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले ‘भावनामा बहकियौं भने देशले ठूलो मूल्य चुकाउनुपर्ने’ भविष्यवाणी गर्दै लकडाउनमा कुनै कम्प्रोमाइज नगर्न तथा बिलकुलै अप्ठेरोमा परेकाहरूको मात्रै उद्धार गर्न निर्देशन दिएका छन। यस्तो लाग्दछ, कोरोनाको पूर्ण जानकारी प्रधानमन्त्री ओलीमा छ। उनका मन्त्री र सहयोगीको हैसियत बिचौलियाभन्दा माथिको छैन।
कोरोनाका वास्तविक जानकार चिकित्सकले ’सोसल डिस्ट्यान्सिङ’ लाई बडो महत्व दिएका छन्। काठमाडौंका बच्चा बच्चालाई एक मानिस र अर्को मानिस बीचको दूरी तीन फिट हुनुपर्ने कण्ठ छ। तर, सोसल डिस्ट्यान्सिङ मात्रै कोरोनाको सावधानी होइन। हिब्रू विश्वविद्यालय, इजरायलका प्राध्यापक तथा इतिहासकार युवल हरारीका विचार यो सन्दर्भमा विचारणीय छन। उनी भन्छन्– मानिसका बीच दूरी बढाएर भाइरससँग लड्न सकिँदैन। नजिक बसेर लडन सकिन्छ। आजको संसारको आवश्यकता मानिसहरू एकअर्काको नजिकमा रहेर यो रोगसँग लड्न आपसमा सहयोग गर्नु हो। चीनियाँ कोरोना भाइरसले इटालियन कोराना भाइरससँग कुरा गर्न सक्दैन। तर, चीनियाँ डाक्टर र इटालियन डाक्टर एक आपसमा छलफल गरेर भाइरससँग लडन सहयोगी बन्न सक्दछन्। यही बिन्दु, जहाँ मानिस अरुभन्दा पृथक् छ। प्रेमले भाइरससँग लड्न सक्छ, घृणाले सक्दैन।
कोरोनाका बारेमा हरारीका विचारको महत्व सर्वकालीक छ। मानिसका बीच आपसी सहयोग नहुने हो भने सबै प्रकारका आविष्कार बन्द हुनेछन्। मानिस एक्लिन चाहँदैन। मृत्युसम्म उसलाई साथी चाहिन्छ। यो कुरामा मानिसको ध्यान जानै पर्दछ। हरारीका यी भनाइमा साहस र अनिश्चित भाव दुवै छ। अनिश्चित भाव यो कि कोरोना भाइरसको औषधि यति छिटै बजारमा आउनेवाला छैन। अमेरिका जहाँ कोरोनाको बिगबिगीले मानिसको मनमा ठूलो त्राश उत्पन्न भएको महादेश अमेरिकामा सन २०२१ को अन्त्यसम्ममा मानिसको जीवन सामान्य हुने आशा गरिएको छ। देशमा आर्थिक गतिविधि ठप्पछ। बेरोजगारहरु बढदै गएका छन्। यो अवस्थामा अमेरिकामा भन्ने बित्तिकै जीवन सामान्य हुन गाह्रो छ। अमेरिकाका दायित्व पनि धेरै छन्। अमेरिकी जनताले आगामी इस्टरको चाड मनाउन, सेप्टेम्बरमा फुटबल हेर्न, साबिक समयमा जस्तो रेष्टुराँमा गएर खाना खान, संगीत श्रवणको आनन्द लिन, नाटक हेर्न र सिनेमा घरमा गएर सिनेमा हेर्न अझै एक/डेढ वर्ष पर्खिनु पर्नेछ। पेनसिल्भानिया युनिभर्सिटी मेडिकल कलेजका क्यान्सर रोग विशेषज्ञ डा. एजेकियल जे इम्यानुअलका अनुसार कोरोनाबाट मुक्ति त्यति सजिलो छैन, जति सोचिएको छ। डा. इम्यानुअल ओबामा हेल्थ केयरका योजनाकारमध्येका एक हुन्।
यति ठूलो महामारी व्यवस्थापन गर्ने सिप, समर्पण र शक्ति नै थिएन यो सरकारमा।
नेपालमा कोरोनाको दुःख पचहत्तर-पच्चीसको लहरमा होला। गरिबी, बेरोजगारी, अभाव, भ्रष्टाचार हाम्रा सामान्य दिनचर्या हुन्। अमेरिका जस्तो देशलाई त आर्थिक, सामाजिक जीवन सामान्य बनाउन डेढ वर्ष लाग्छ भने हामीलाई कति वर्ष लाग्ला? कोरोनाले हाम्रो स्वास्थ्य र शिक्षाको क्षेत्रलाई कतिपछि धकेल्ला? के प्रधानमन्त्री ओली र उनका मन्त्रीहरुले यो कुराको कल्पना गरेका होलान्? लकडाउन कहिलेसम्म? कोरोनाको सन्दर्भमा सरकारको मुस्तैदीलाई हेर्दा सरकार पराजयको मानसिकतामा देखिन्छ। सतर्कता उपचार होइन- रोग लाग्नुभन्दा पहिलेको चरण हो। कदाचित् यो चरणमा वा उपचारको चरणमा बाँच्न सकिएन भने के त? के हामी सामूहिक मृत्युको कल्पना गर्न सक्दछौं?
बाँच्नका लागि सोच्ने र सोच्नका लागि बाँच्ने काम एकैसाथ गर्नुपर्ने अवस्थामा छौं हामी। निश्चय पनि, कोरोना भाइरस हाउगुजी होइन। तर, नेपाल कम्युनिष्ट पार्टीको सरकारले यसलाई जनता तर्साउने हाउगुजीका रुपमा प्रयोग गरेको छ। कोरोना महामारीका लागि औषधि र उपकरण मंगाउँदा समेत खाने बाटो खोजी खोजी हिँड्ने सरकारको हैसियत जनताले थाहा पाएकै छन्। सेनाको प्रयोग गरेर आआफूलाई चोखो बनाउन खोज्ने सरकारले बुझनु पर्दछ सेना पनि सरकार जति नै भ्रष्ट संस्था हो जनतालाई भेंडाको बथान ठानेर कोरोना हाँक्न खोज्दैछ सरकार। ‘हाउगुजी’ यो शब्द अभिनेत्री रेखाले प्रयोग गरेकी हुन्। उनी भन्छिन्- योभन्दा लामो लकडाउन हामी न धान्न सक्छौं न थाम्न। यो हाउगुजी नै भएर सकियोस्। यो प्रत्येक नेपालीको चाहना हो। यसको अर्थ हो, नेपाली जनताका लागि आगामी दिन थप दुःखदायी बन्ने संकेत नियमित प्रवाहित भइरहेका छन। यति ठूलो महामारी व्यवस्थापन गर्ने सिप, समर्पण र शक्ति नै थिएन/छैन यो सरकारमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।