कोरोना भाइरसविरुद्ध २०७६ चैत १२ गतेबाट शुरु भएको ‘लकडाउन’ अब ‘लक-डाउन’ भएको छ। आशा नगरे हुन्छ कि यो छिटै छोटिनेछ। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पनि लकडाउन नछोटिने कुरा बताइसकेका छन। उनी यो कुरामा विश्वस्त देखिन्छन्- लक-डाउन जति लामो चल्नेछ, उनको नेतृत्वको सरकार त्यति नै अगाडि लम्किनेछ।
ओलीका लागि अहिलेको कोरोना प्रभावित मौसम जमेको छ। उनी क्याम खाटमा आराम फर्माइरहेका छन्। उनको अगाडि लागेको ‘सत्य’को थुप्रोबाट उनी छानीछानी महासत्य बोल्दैछन्। यो महासत्यमा एक दुई महावाक्य घुसेका हुन्छन्, ‘मलाई जानकारी नै दिइएन’, ‘म भ्रष्टाचारलाई सहन्नँ।’
प्रम ओलीका वचन सुनेर जनता टोलाउँछन्। उनीहरू आफनो कानमा विश्वास गर्न चाहन्छन्। तर, आँखाले धोका दिन्छ। बूढाको कुरा सुन्नेमध्येको एउटा भन्छ, ‘कठै, बूढा बिमारी छन्। मुखमा जे आयो त्यही बोल्छन्। बूढा हरिप छन्। उनलाई थाह छ, सत्तामा बस्न नपाए उनको खैरियत छैन।'
देशमा एउटा संसद् छ। त्यो संसदमा विलक्षण बुद्धि भएका दर्जनौं नेता छन्। जसमध्ये कोही प्रतिपक्षमा छन् र कोही छन् सत्तापक्षमा। तिनीहरूको आवाज सुन्दा लाग्दछ, यी साँच्चै जाग्नेछन्। तर, होइन, यी बोल्छन् मात्र। यी बकुल्ला ‘भगत’हरू सत्ताको डिलमा उभिएर विकासका नाममा जनतालाई बेवकुफ बनाउँछन्।
अहिले नेपालमा अंकुरित, पुष्पित र पल्लवित समावेशी लोकतान्त्रिक गणतन्त्रका समस्या भएका छन् नेताहरू। उनीहरूको बोली सुनेर जनता रमाउँछन्। तर, बोलीले मात्रै भोको पेट भरिन्न।
काठमाडौंको लक-डाउन छलेर केही दिनको मधेश प्रवासपछि घर फर्किँदा देखिएका दृश्यहरूले मनको कुनै कुनामा गहिरो घाउ बनाए। मानिसको ठूलो लर्को लागेको थियो बिपी राजमार्गमा। स-साना समूहमा बाँडिएर निरन्तर हिँडिरहेका ती मानिसका अनुहारमा बनेको दुःखको गहिरो रेखा स्पष्ट देखिएका थिए। एउटा समूहमा हिँडिरहेका एक जना वृद्धलाई मैले सोधेँ, ‘किन यो बेहालसँग हिडनु भएको?’ उनीसँग जवाफ थियो। शब्द थिएन। उनी अस्पष्ट स्वरमा भुतभुताउँदै थिए। भाव यस्तै थियो कि कुनैपनि सरकार जनताको पक्षमा थिएन। सबैसँगको आशा मरी सकेको थियो।
अहिले नेपालमा अंकुरित, पुष्पित र पल्लवित समावेशी लोकतान्त्रिक गणतन्त्रका समस्या भएका छन् नेताहरू। उनीहरूको बोली सुनेर जनता रमाउँछन्। तर, बोलीले मात्रै भोको पेट भरिन्न।
ओहो! यस्तो समयमा, जब देशमा सर्वहाराको अधिनायकत्वको पक्षमा लड्दै आएको पार्टीको दुइतिहाई बहुमतको सरकार छ। सरकार प्रमुखको कुर्सीमा त्यसै पार्टीका अध्यक्ष विराजमान छन्। देशमा कम्युनिस्ट सर्वहारावादको झण्डा फहराएको स्वर्ण युगको यस्तो समयमा पनि, गरीब र निमुखा जनताको मुखको माड खोसिएको छ। कोरोना महामारीले आशा र आकांक्षामा पानी खन्याएपछि उनीहरु काठमाडौंबाट रित्तो हात भाग्न बाध्य छन्। सर्वहारा मजदूरहरुको प्रतिनिधित्वको डींग हाँक्ने सरकारले उनीहरुको हितमा एक कदम चालेको छैन।
सरकारले काठमाडौं छाडेर पूर्व र पश्चिमका अनकन्टार बस्तीमा रहेका आफ्नो घर फर्किन चाहने मजदूरलाई बिजुली अड्डा वा पानी अड्डाको टिपरमा चढाएर पायक पर्ने ठाउँसम्म पुर्याइदिन नसक्ने थिएन। दुई छाक खानाको व्यवस्था गरिदिन नसक्ने थिएन। यति धेरै आर्थिक अनियमितता गरेर धनको भकारी बनाउने सरकारका कुनैपनि सदस्यले यति सानो काम गर्न मन्त्रालयको विविध शीर्षकको बजेट प्रयोग गरेको भएपनि हुने थियो। तर, गरेन। किनभने, किसान र मजदूरका नाममा बाजा बजाउने पार्टीको यो सरकारको स्वरुप आफ्नो तिखो चुच्चोले माछा टिप्न सीम खेतको आलीमा बसेको बकुल्लाको जस्तो छ।
लक-डाउनमा बाटो सारै बिरसिलो छ। सवारी आवागमन लगभग ठप्प छ। एक कप चिया पिउने पसलसमेत छैन कहीं। साविक चिया खाने बटुवा कुरेर बसेका साहू र साहूनीहरू मानिस देख्यो कि तर्सिन्छन्। मानौं ती मानिस नभएर कोरोना भाइरस हुन्। साँच्चै, एकातिर कोरोना भाइरसको चिन्ता, अर्कोतिर भोको पेट। यी पैदल यात्रुसँग भात किनेर खाने हैसियत पनि छैन। यस्ता मानिसलाई त नेपालको संविधानले नागरिकको हैसियत पनि दिँदैन।
प्रचार जति गरे पनि, मानिस कोरोना भाइरससँग डराएको छ। सचेत भएको छैन।
रामेछाप, सिन्धुली र काभ्रेका सीमान्तमा रहेका बस्ती चकमन्न छन्। बेलाबेलामा लाउड स्पिकरबाट कोरोना भाइरस विरुद्धको प्रचार सुनिन्छ। खास गरेर, त्यस्तो प्रचार पुलिस चौकीको छायाँमा गर्ने गरिन्छ। प्रचार जति गरे पनि, मानिस कोरोना भाइरससँग डराएको छ। सचेत भएको छैन। ढंग नपुर्याई गरेको कुप्रचारले मानिसलाई भयभीत तुल्याउँछ। जनता डराएका छन्। उनीहरू के सँग डराएका हुन्? त्यसको स्पष्ट तस्बिर कसैले देखाएको छैन।
यो डरको ठूलो कारण सरकारको सूचना पद्धति हो, जो एकदमै त्रुटीपूर्ण छ। यो कुरा थाह पाउँदापाउँदै पनि कि नेपाल सरकारका सहयोगी गैरसरकारी संस्थाहरूले जनतालाई भरखर साबुन पानीले हात धुन सिकाउँदैछ, सरकारका नेता र अधिकारीहरुको ‘आह्वान’ बोल्छ- साबुनपानीले हात मिचीमिची धुनु होला। स्यानिटाइजरको प्रयोग गर्नुहोला।
आज बिहानमात्रै, पाकिस्तानका प्रधानमन्त्री इमरान खानको एउटा भाषणको सानो अंश कानमा परेको थियो। इमरान भन्दै थिए- म पाकिस्तानलाई लकडाउन गर्न सक्दिनँ। मेरो देशका २५ प्रतिशत जनता कुल्ली कवाडीको काम गर्दछन्। रिक्सा चलाएर बाँचेका छन्। मैले लकडाउन गरें भनें ती के गरेर खालान्? तिनलाई ख्वाउने क्षमता छैन सरकारसंग.....। इमरानका विचारसंग सहमति र असहमतिभन्दा पनि उनको यथार्थवादी अभिव्यक्ति मानिसलाई प्रभावित गर्ने खालको थियो।
हामी नेपाली पाकिस्तानीजस्ता पक्कै होइनौं। त्यसैले यो उदाहरणले कसैलाई पनि संवेदनशील बनाउने छैन।
लक-डाउनको पहिलो साता सहरमा जोश थियो। मानिसहरू कोरोना भाइरस आफ्नो मुठ्ठीमा नै रहेको देखाउँथे। नेपालीले कोरोनालाई पेलेरै सखाप पार्नेछन् भन्ने आत्मविश्वास अलि बढी नै थियो। साथीहरू एकअर्कालाई फेसबुक मेसेन्जरमा स-साना रमाइला खिस्सा कोरिएका श्लिल-अश्लिल चित्रावली पठाएर आनन्द लिन्थे। अहिले त्यो अवस्था शिथिल भएको छ।
मानिसहरु हतासिएका छन्। बिरामीमा कोरोना भाइरस छ कि छैन? पत्ता लगाउने मेसिनले ६० प्रतिशत मात्रै काम गर्छ। कोरोना पत्ता लगाउने विधि यति सुस्त छ कि त्यसले कहिलेसम्म नतिजा दिन्छ? यो कुराको कुनै भरोसा छैन। तैपनि, हामी शरीरले अपांग, वचनले गैरजिम्मेवार, व्यहोराले अहंकारी र आचरणले ‘व्यभिचारी’ शासकको नेतृत्वमा दुवै गोडा बाँधेर दौडिने प्रयास गर्दैछौं।
भोलिदेखि शुरु हुने नयाँ वर्ष २०७७ सबैका लागि आशा र करुणाको प्रतीक बनोस्। शुभकामना!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।