गएको साता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मनमोहन अधिकारीको जयन्ती मनायो। बाँचुन्जेल कम्युनिस्टहरूले मनमोहनजीको राजनीतिक जीवन समाप्त गर्न कुनै कसर बाँकी राखेनन्। उहाँ अलिकति राष्ट्रिय आवश्यकताले, अलिकति अन्तर्राष्ट्रिय मान्यताले र सबैभन्दा धेरै नेपाली जनताको विश्वासले नेपालका राजनेता बन्नु भएको थियो।
क्रान्तिका बिपी, गणेशमानसिंह, पुष्पलाल, किशुनजी, मनमोहनजीलगायतका अविश्रान्त नायकहरु एकै लहरमा हुनु स्वाभाविक थियो। २०४६ को जन–आन्दोलनपछि सार्वजनिक भएका त्यस समयका प्रभावशाली नेता मदन भण्डारीले मनमोहनजीलाई अल्पमत सरकारको प्रधानमन्त्री बनाउन खोज्दा धेरैले 'मदन कामरेड नै हुनुपर्छ' भनेर पहेँला दाँत देखाएका थिए। तर, मदनका लागि पार्टीको नीति सर्वोपरि थियो। सरल, स्वार्थरहित र निष्ठावान् नेता मनमोहनजीलाई प्रधानमन्त्री बनाएर उनी ढुक्कसँग एमालेको महासचिव बनेका थिए।
हरेक वर्ष स्वर्गीय मनमोहनजीको प्रस्तर प्रतीमामा फूलमाला चढाएर नेताहरू साखुल्ले बन्ने गरेका छन्। मनमोहनजीको प्रतीमामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले माला चढाए कि चढाएनन्, पुष्पकमल दाहाल प्रचण्डले लालसलाम भने कि भनेनन्? माधव नेपालले मुठ्ठी उठाएर अभिवादन गरे कि गरेनन्? झलनाथ खनालले प्रतीमा अगाडि शिर झुकाए कि झुकाएनन्? वामदेव गौतमले क्रान्तिकारी अभिवादन गरे कि गरेनन्? सामान्य मानिसको मनमा निकै खुल्दुली चलेको हुन्छ। स्वर्गवासी आत्माका लागि उसको प्रतीमामा कसले फूल चढायो र कसले माला? त्यसको अर्थ हुँदैन। अनन्तमा विलिन भैसकेको आत्माका लागि फूलको रंग र मालाको साइजले कुनै माने राख्दैन।
विश्व इतिहासमा लोकप्रिय भनाइ छ– रोम जलिरहँदा त्यहाँको राजा निरो बाँसुरी बजाइ रहेको थियो।
ठिक त्यसैगरी, कोरोना महामारीबाट मुक्त जीवनका लागि शुरु गरिएको तालाबन्दीले अस्तव्यस्त भएको देश, भोकले बिलबिलाई रहेका जनता, पसिनाको मूल्य नपाएका मजदूर आलाप–विलाप गरिरहँदा यो गणतन्त्र नेपालका निरो- खड्गप्रसाद शर्मा ओली- अध्यादेशको खैंजडी बजाइरहेका थिए। पहिलो अध्यादेश- पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा चालीस प्रतिशत समर्थन भएपछि पार्टी फोड्न पाइने। दोश्रो अध्यादेश- संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षलाई बोलाउन नपर्ने।
जबसम्म जनताले चुनावमा जितेका नेतालाई मालिक भनिरहन्छ तबसम्म जति वटा क्रान्ति भएपनि देशको विकास हुन सक्दैन।
प्रत्यक्षतः संविधानको बर्खिलापमा ल्याइएका यी दुवै अध्यादेशको कुनै सिधा सम्बन्ध जनतासँग छैन। देशका जनता आफूले चुनेका नेता कज्याउने हैसियत राख्दैनन्। नेताले एकछत्र कज्याउँदै आएका छन् जनता। पार्टीको केन्द्रीय समितिमा संख्या पुगेपनि, नपुगे पनि दलहरू आफ्नै हिसाबले चलेका छन्। हिजोको एमाले दलकै कुरा गर्ने हो भने माओवादीसँग एकता नभएको भए एमाले पार्टी अहिलेसम्म पनि गठबन्धनको पार्टनरको खोजीमा रहेको हुन्थ्यो। त्यस्तो पार्टनर नपाएको अवस्थामा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री पदमा आसीन हुने मौका नपाउन पनि सक्थे।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले कहिल्यै राज्यशक्तिको सम्मान गरेको देख्न-सुन्न पाइएन। मुखले जनताको नाम लिएपनि अधिकारको दुरुपयोग गर्ने उनको प्रवृत्ति कसैबाट लुकेको छैन। भुईंचालो, नाकाबन्दी र कोरोना- यी तीनवटै महामारीबाट फाइदा उठाउने अभिप्रायका साथ काम गरे प्रधानमन्त्री ओलीले। आफ्नो असीमित अधिकार देखाएर सोझा, सीधा जनतालाई वशमा राख्नु उनको ध्येय बनेको देखिन्छ। उनले आफ्नो गाउँमा उद्योग ग्राम र गगनचुम्बी घर बनाउनु भनेको आफूमा नीहित अधिकारको भद्दा प्रदर्शन गर्नु हो।
खड्गप्रसाद ओलीको आचरणले उनको हैसियत देखाउँछ कि उनको मानसिकता गाउँको जिम्मावाल वा जिमदारको भन्दा बढी छैन। आफू जन्मेको गाउँमा आफ्नो जन्मोत्सव मनाउनु, खैरात बाँडनु, आफन्तहरूको मानमर्दन गर्नु– यो साधारण मानिसको स्वाभाविक प्रवृत्ति होइन। सक्नेलाई दबाउने र नसक्नेसँग दब्ने काँठे चरित्र काठमाडौं उपत्यकाको मौलिकता हो। दिव्य बाह्र वर्ष नख्खु जेलको हावापानी र खानाले उनको चरित्रमा जातिगत मौलिकता स्थापित गरेको छ।
प्रधानमन्त्री ओलीको पहिलो र दोस्रो दुवै राज्यकालमा भएका काण्डहरूले राजाको नेतृत्वमा चलेको निर्दलीय पञ्चायती शासन बिर्सायो।
खड्गप्रसाद शर्मा ओली कुनै बेला आदर्शको बाटोमा हिँडेका कम्युनिस्ट गुरिल्ला थिए। अहिले उनी त्यो आदर्शको बाटोबाट चिप्लिइसकेका छन्। यो देशका नालायक नेतामा उनी एक्ला होइनन्। समयक्रममा उनी अहिले प्रतीक बनेका छन्। गणतान्त्रिक संविधान जारी भएपछि देशले क्रमशः चार जना प्रधानमन्त्री चुन्यो। सुशील कोइराला दिवंगत भइसके। अहिले उनका नाता–सम्बन्धी र समर्थकहरू सुशील कोइरालाको नाममा धर्मशाला बनाउन चन्दा संकलन गर्दैछन्। सुशील कोइराला आफनो घरबार र श्रीसम्पत्ति नभएका व्यक्ति थिएनन्। तर, प्रजातन्त्रका नाममा उनी आजीवन धर्मशालामा बसे।
त्यसपछि प्रधानमन्त्री भएका खड्गप्रसाद शर्मा ओलीले जलमार्ग, थलमार्ग, वायुमार्ग, सुरुङमार्ग, धावनमार्ग, तुइनमार्ग, ग्यासमार्गलगायतका तमाम मार्गको नक्सा देखाए। एकै वर्षमा तुइनमार्ग विस्थापित गर्ने उनको योजना तुहिएपछि पनि उनले चेतेनन्। उनी जसको समर्थन पाएर सरकारको नेतृत्व गर्दै थिए, ती माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको टेको खुस्काइदिए। त्यसपछिका प्रधानमन्त्री अध्यक्ष प्रचण्ड आफै भए।
प्रचण्ड आफैले त्यस्तो काम केही गरेनन्, जो एकपटक फेरि आफैले टेको लगाएर ओलीलाई दुई तिहाई बहुमतको प्रधानमन्त्री बनाए। पछिल्लो जन–विश्वास अनुसार, नेपालमा सबैभन्दा धनी पार्टी माओवादी हो र सर्वाधिक धनी नेता हुन् प्रचण्ड। यो गफ हो कि वास्तविकता? स्तम्भकारलाई थाह छैन। दुई तिहाई बहुमतबाट प्रधानमन्त्री बनेपछि खड्गप्रसाद शर्मा ओलीको आर्थिक लसपस फैलिएका कुरा खुलेका छन्। यो कुनै नौलो कुरा होइन। सरकारको नेतृत्वमा पुगेपछि कांग्रेसका नेताहरू कतिले खुलेआम दूध–भात खाए। एमालेका नेताहरू केहीले कम्बल ओढेर घिउ खाए। माओवादीका नेताले हाकाहाकी खसीको मासु र भात खाए। खाने खुवाउने यो प्रक्रिया सजिलै टुंगिन सक्दैन। जबसम्म जनताले चुनावमा जितेका नेतालाई मालिक भनिरहन्छ तबसम्म जति वटा क्रान्ति भएपनि देशको विकास हुन सक्दैन।
यो देश, हाम्रो देश, गज्जबकै छ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको राज्यकालमा देशमा अनेक आर्थिक अपचलन भए। कोरोना महामारी उपचारको प्रयोजनका लागि झिकाइएका सामग्रीमा समेत कमिसनको खेल चल्यो। प्रधानमन्त्री ओलीको पहिलो र दोस्रो दुवै राज्यकालमा भएका काण्डहरूले राजाको नेतृत्वमा चलेको निर्दलीय पञ्चायती शासन बिर्सायो। तर, राज्यशक्तिलाई हेपेर अपचलनका लागि अध्यादेश जारी गराउने साथ प्रधानमन्त्री ओलीको नुर गिर्यो। उनी सत्तामा रहलान् वा नरहलान्? यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयमा भरपर्ने कुरा हो। पार्टीमा आफनो दबदबा कायम गरेर सबैलाई दबाएकै भरमा अघि बढने सुविधा प्रधानमन्त्री ओलीले गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।