यो पटक नेपाल कम्युनिस्ट पार्टीभित्रको झगडा चरमोत्कर्षमा नपुगिकनै शान्त भयो। पहिलेपहिले राजनीतिक पार्टीका आन्तरिक झगडामा विदेशीहरुले चासो राख्दथे। यो पटक कुनैपनि विदेशीले त्यस्तो चासो राखेनन्। हो, नेपालका लागि चीनियाँ राजदूत महामहिम हाउ याङ्छीले चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीमा सल्किएको आगो निभाउन निकै मेहनत गरिन्। तर, उनले त्यसमा कुनै हस्तक्षेप गरिनन्।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र ‘अर्का’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर याङ्छीले कामरेड प्रचण्ड र कामरेड ओली फुटेको खण्डमा नेपाल कम्युनिस्ट पार्टी फुट्ने विचार स्पष्ट शब्दमा प्रकट भने गरिन्। उनले नेपाल कम्युनिस्ट पार्टीमा अब आइन्दा हुने कुनैपनि फुट चिनियाँ कम्युनिस्ट पार्टीका लागि असह्य हुने बताइन्।
महामहिम याङ्छीका सुझावलाई शनिबार अपरान्ह बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ‘आत्मसात’ गरेको छ। अब याङछीको सुझावअनुसार नेपाल कम्युनिस्ट पार्टी र उसको नेतृत्वको सरकारमा कुनै गडबडी आउने छैन। वामदेव गौतम नाच्ने, माधव नेपाल ठुस्स पर्ने, झलनाथ खनाल बिलखबन्दमा पर्ने, प्रचण्ड हाँसेर टार्ने र केपी शर्मा ओली ‘ए दूरका सितारा’ बोलको गीत गाउँदै दर्द मेटाउने काममा लागि सकेका छन्। नेपाली समाजका भिभिआइपी भनेर चिनिने नेताहरूको अरु कुनै काम बाँकी रहेको देखिएन।
महामहिम याङ्छीले समयमा नै आगो निभाउन मेहनत नगरेकी भए नेपाल कम्युनिस्ट पार्टी नामको संगठन खरानी भइसक्ने थियो। त्यो खरानीको थुप्रोमा कुन माले, कुन मसाले, कुन चौथो महाधिवेशन, कुन जनमोर्चा, कुन वैद्य माओवादी, कुन विप्लव माओवादी, कुन प्रचण्डको, कुन ओलीको, कुन माधवको, कुन वामदेवको, कुन झलनाथको भइसक्थे। कसलाई कता कता खोज्नु? खोज्दाखोज्दै साता बित्ने थियो। आपतै पर्ने थियो।
अझ, स्वर्गीय नेताहरु सबैको नामोच्चारण मात्रै गर्दा पनि विज्ञप्तिको भाषा अनावश्यक हिसाबले लामो हुने संकट त छँदैछ। जे भए पनि, नेपाल कम्युनिस्ट पार्टीको जीवनमा केही आयो र केही बिलायो। आयो महामहिमको सुझाव, बिलायो हस्तक्षेपको आवाज।
देशमा कम्युनिस्ट पार्टी एकताको दुन्दुभी बजेकोमा नेपालको प्रेस जगत र सामाजिक सञ्जाल दुवै गदगद भए।
विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा पहिलो जनआन्दोलनपछि पहिलोपटक प्रतिनिधिसभाको स्पष्ट बहुमतको आधारमा सरकार चलाउने जनादेश पाएको नेपाल कम्युनिस्ट पार्टी एकताबद्ध हुने भयो। अहिलेको परिस्थितिमा प्रतिनिधिसभामा सरकारको स्पष्ट बहुमत नरहेको भएपनि देशमा कम्युनिस्ट पार्टी एकताको दुन्दुभी बजेकोमा नेपालको प्रेस जगत र सामाजिक सञ्जाल दुवै गदगद भए। सबभन्दा खुशीको कुरो त नेपाली जनताले ढुक्क हुने अवसर पाए।
नेपाली शासन, प्रशासन र राजनीतिमा यस्ता झगडा हुँदा सँधै भारतको हात फोहोर देखिने गरिएको थियो। यसपटक जनताले त्यस्तो अनुभव गर्न पाएनन्। काठमाडौंका प्रबुद्ध जनताको मनमा रहेको कुराले बुर्कुसी मार्यो। सोचे, यसपटक भारतले किन नेपालका बारेमा आफना विचारहरू सन्दर्भमा पनि राख्न चाहेन? एक जना कुटनीतिज्ञसँग यो प्रश्न सोध्दा उनले जवाफ दिए– हो, हामीले केही बोल्न चाहेनौं।
नेपाल-भारत सम्बन्धलाई नजिकबाट नियालिरहेका एक जना अध्येतासँग प्रश्न गर्दा उनले बताए- भारतले आफ्नो कुटनीतिलाई अहिलेसम्म ‘लाउड’राखेको थियो। अब त्यो ‘सफ्ट’ भएको छ। नेपालका घटनाहरुमा भारतले रुचि लिन छाडेको छैन, तर त्यसमा सक्रिय प्रतिक्रिया दिन चाहँदैन।
अहिलेको भारतीय कुटनीति विस्तारै ‘म्याचुरिटी’ उन्मुख देखिएको छ। राजदूतावासमा रहेको राजदूतको कुर्सीमा बसेर कसले प्रतिनिधित्व गरेका छन्? त्यसमा पनि धेरै भर पर्दछ। नेपालका लागि भारतका अहिलेका राजदूत विनयमोहन क्वात्राले भारतीय कुटनीतिक सेवामा ३२ बर्ष बिताइसकेका छन्। उनले सेवाको बढी समय संयुक्त राष्ट्रसंघ र मानव अधिकारका क्षेत्रमा काम गरेर बिताएका छन्। क्वात्राको शान्त स्वभावका कारण अहिलेको परिवर्तन देखिएको हो कि, यो भारतीय कूटनीतिमा आएको परिवर्तन हो? यो अहिले नै भन्न सकिँदैन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री ओलीको दोस्ती त जगजाहेर नै छ। बेलाबेलामा नेपालका कथित मानव अधिकारवादी नेताको जमात प्रचण्डको विरोधमा लागे पनि उनका भारतीय मित्रहरुको कमी छैन।
अहिले कोरोना महामारी नियन्त्रणमा ल्याउन भारत सरकारले आफ्नो पूरै शक्ति लगाएको छ। त्यसले गर्दा पनि, भारतले नेपालका नेताहरुको व्यक्तिगत र तुच्छ किसिमका आकांक्षा पूर्तिका लागि गरिने झगडामा हात नहालेको हुन सक्छ। यो पनि हुन सक्दछ- सत्तरी पचहत्तर वर्षदेखि नेपाली राजनीतिको ‘जायजा’ लिँदालिँदै भारतीय मित्रहरू थाकेका पनि होलान्।
नेपालका कम्युनिस्ट नेता सबैसँग भारतका शीर्ष नेताहरुको आपसी सम्बन्ध छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री ओलीको दोस्ती त जगजाहेर नै छ। बेलाबेलामा नेपालका कथित मानव अधिकारवादी नेताको जमात प्रचण्डको विरोधमा लागे पनि उनका भारतीय मित्रहरुको कमी छैन। त्यसैले, यो पटक नेपाली नेताहरुको झगडामा भारतीय नेताहरुको उदासीन व्यवहारलाई स्वाभाविक रुपमा लिनु पर्दछ।
चीनका लागि, खास गरेर राजदूत याङछीका लागि, अहिलेको अनुभव भावी राजदूतहरुका लागि समेत उपयोगी हुने खालको रहेको हुनुपर्दछ। दुइ देशका बीच सम्बन्ध सुदृढ पार्दापार्दै दुई पार्टीबीच पनि सम्बन्ध सुदृढपार्ने अवसर हातमा आउनु कुटनीतिक सफलता नै हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।