काठमाडौं – लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयमाथि आक्रमण भएको छ । राजधानी बेरुत नजिक फागुन ३ गते राति करिब १२ बजे प्रदर्शनकारीहरूको समूहले उपरथी ढकाल सवार गाडीलाई रोकी तोडफोड गरेका हुन् ।
त्यसक्रममा उपरथी ढकाल घाइते भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । घटनापछि उनलाई तत्काल उद्धार गरी बेरुतस्थित यूएन लेभल–३ अस्पतालमा लगिएको थियो ।
अस्पताल स्रोतका अनुसार हाल उनको अवस्था खतरामुक्त रहेको छ । डेपुटी फोर्स कमाण्डर ढकाल आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहेका थिए । घटनापछि यूनिफिल मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
संयुक्त राष्ट्रसंघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ । लेबनानका प्रधानमन्त्री तथा लेबनानी आर्मड फोर्सले पनि घटनाको भर्त्सना गर्दै संलग्न व्यक्ति वा समूहलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।