काठमाडौं – भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा नेपालकी छात्रा मृत भेटिएपछि नेपाली विद्यार्थीहरु लखेटिएका छन्।
उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ति बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ।
नेपाली छात्राको शंकाष्पद मृत्युलाई लिएर विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। तर, कलेजले विद्यार्थीहरुलाई होस्टेल छोड्न चेतावनी दिएको थियो।
त्यसअघि कलेजका शिक्षिकाहरुले नेपाली विद्यार्थीहरुलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ।
डीएनए इन्डियान्यूजले हालेको एउटा भिडिओमा विद्यार्थीहरुलाई उनीहरुका लगेजसहित गाडीमा ओसारिएको देखिन्छ। एक विद्यार्थीले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरु बिचल्लीमा रहेको बताए।
उनले भनेका छन्, ‘हामीले रातिदेखि केही खाएका छैनौं। साथमा पैसा पनि छैन। ट्रेन कति बेला आउँछ थाहा छैन। हामी अलपत्र परेका छौ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।