काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि सुरु हुने भारत भ्रमणमा फिल्म क्षेत्रका व्यक्तिहरु पनि सहभागी हुँदै छन्। प्रधानमन्त्रीसँग सिने क्षेत्रका तर्फबाट राजेश हमाल र दिनेश डिसी जाने पक्का भइसकेको छ।
नेपाली फिल्मलाई बलिउडसँग जोड्न सके दुई देशबीच कला-संस्कृतिको आदानप्रदान हुनुका साथै नेपालको पर्यटनमा समेत टेवा पुग्ने सोचले प्रधानमन्त्री ओलीले भ्रमणमा कलाकारहरु पनि समेटेका हुन्। भ्रमणका क्रममा प्रधामन्त्रीले भारतीय कलाकार तथा फिल्मक्षेत्रका विभिन्न व्यक्तिसँग भेट्ने कार्यक्रम तय गरे पनि त्यस क्रममा के-कस्ता विषयमा छलफल हुनेछन् भन्नेबारे हमाल पनि खासै जानकार छैनन्।
'भ्रमणका क्रममा बलिउडका कोसँग के विषयमा कुरा हुनेछन् भन्ने विषयमा मलाई खासै थाहा छैन', हमालले नेपाल लाइभसँग भने, 'प्रधानमन्त्रीज्यूले भारतीय सिनेकर्मीसँगको भेट कार्यक्रम जे-जति तय गर्नुभएको छ, त्यसैका लागि हामीलाई भ्रमणमा समावेश गर्नुभएको हुनुपर्छ।'
नेपाल र भारत भौगोलिक रुपमा जोडिएसँगै कला, संस्कृतिमा पनि निकट सम्बन्ध रहेको भन्दै हमालले भ्रमणको औचित्य भने प्रस्ट्याए।
'विश्वमा उन्नत र कहलिएको उद्योगका रुपमा रहेको बलिउडसँग नेपालको कला, संस्कृति र सिनेमा जोडिएको छ', हमालले भने, 'त्यस उद्योगबाट कुनै न कुनै रुपबाट नेपालीले पनि लाभ उठाउनुपर्छ।'
भारतीय सिने उद्योग र सिनेकर्मीहरुसँग छलफल गरेर तत्कालै उपलब्धि हासिल भइहाल्ने कुराभन्दा यस भ्रमणलाई कला र सिनेजगतमा दुई देशबीचको पहिलो कूटनीतिक सम्बन्धका रुपमा लिनुपर्ने हमालको आग्रह छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।