काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिमीसँग’को बुधबार साँझ राजधानीमा प्रिमियर शो गरिएको छ।
२ घन्टा १७ मिनेट लामो फिल्मले युकेकी एनआरएन नीति (साम्राज्ञी) को घान्द्रुक हुँदै पुनहिल सम्मको यात्रालाई देखाएको छ। यही यात्रामा रहेका गाइड शुभम् (आकाश श्रेष्ठ), भरिया बुबा (शिशिर राणा) तथा संयोगले भेटाएका नीति र तराईको ठिटो भरत (नाजिर) बीचको रोचक यात्रा नै फिल्म मूल कथा हो।
आकाश, साम्राज्ञी र नाजिरको त्रिकोणात्मक लभ स्टोरीलाई उपस्थित दर्शकले निकै रुचाए। कलाकारहरुको अभिनय र कथावस्तुले मन छोएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले फिल्मले टिकटको पैसा असुल्ने बताइन्।
फिल्म हेरेर निस्कँदै गर्दा नाजिरले सुटिङको क्षण सम्झिए। 'एक दिन त अक्सिजन साथमा लिएर बस्नुपरेको थियो,' उनले भने, 'आज प्रिमियरमा पाएको प्रतिक्रियाले निकै उत्साहित बनाएको छ।' साम्राज्ञीले भने निकै कष्ट गरेर गरेको कामको प्रशंसाले निकै ऊर्जा मिलेको बताइन्।
निर्माण नियन्त्रकको लामो अनुभव बोकेका शिशिर राणाले फिल्मको डेब्यु निर्देशन गरेका हुन्।
फिल्ममा आकाश, साम्राज्ञी, नाजिरसँगै सुनिल थापा, करिश्मा मानन्धर, दीपकराज गिरी, दिपाश्री निरौला, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।