काठमाडौं- ललिता निवासको जग्गा धितोमा राखेर कर्जा दिने बैंकहरूको सेयर मूल्य घटेको छ।
सो जग्गा धितोमा राखेर कर्जा दिने बैंकहरूको नाम र कर्जा रकम समेत नेपाल लाइभले खुलासा गरेपछि यसको असर बजारमा देखिएको हो।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारी विभिन्न व्यक्तिहरूले कर्जा विभिन्न बैंकबाट कर्जा लिएका थिए। सो जग्गा धितोमा राखी सबैभन्दा धेरै कर्जा लगानी गरेको नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य आइतबार एकै दिन १४ रुपैयाँसम्मले घटेको थियो तर कारोबार बन्द हुँदा भने केही सम्हालिएको छ। कारोबार बन्द हुँदा यसको कारोबारमा गत कारोबार दिनभन्दा १२ रुपैयाँले घट्न पुग्यो।
बैंकको सर्वसाधारण र संस्थापक दुवै तर्फको शेयरमा गिरावट आएको हो।
त्यसै धेरै कर्जा प्रवाह गर्ने अर्को वाणिज्य बैंक लक्ष्मी बैंकको शेयर मूल्य पनि ८ रुपैयाँले घटेको थियो। कारोबार बन्द हुँदा भने केही सम्हालिएर यो अंकमा आइपुगेको हो। लक्ष्मी बैंकले सो जग्गा धितोमा राखेर ४० करोड रुपैयाँ भन्दामाथि लगानी गरेको छ।
त्यस्तै आकर्षक दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे पनि ग्लोबल आइएमई बैंकको सेयरमा बिक्री चाप बढेको छ। लिलिता निवासको जग्गा धितोमा राखेर कर्जा प्रवाह गरेको र उक्त कर्जा जोखिममा परेको आँकलन गर्दै दोस्रो बजारमा यसको प्रभाव देखिएको हो। यसको मूल्यमा भने खासै अन्तर देखिएको छैन। अघिल्लो कारोबार दिनभन्दा यस दिनमा १ रूपैयाँले मात्र घटेको छ।
यस्तै ललिता निवासका जग्गा धितोमा राखी कर्जा प्रवाह गरेको हिमालयन बैंकको मूल्य समेत आइतबार ७ रुपैयाँले घटेको छ।
बैंकहरुले उक्त कर्जा उठाउन सकेनन् भने ठूलो रकम प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। उक्त धितोबापत प्रवाह भएको कर्जा उठ्न सकेन भने बैंकको नाफामा ठूलो असर पर्नेछ। नेपाल राष्ट्र बैंकले पनि उक्त कर्जा के कस्तो अवस्थामा रहेको छ पूर्ण विवरण पेस गर्न धितोमा राखी कर्जा प्रवाह गरेका बैंकहरूलाई निर्देशन दिसकेको छ।
कतिपय बैंकहरूले उक्त धितोबापत् लगानी गरेको कर्जा उठाइरहेको बुझिएको छ। नेपाल लाइफ सँगको कुराकानीमा साविक यति डेभपलमेन्ट बैंकबाट लिएको कर्जा सत्तारुढ दल नेपाल कम्युनिस्टा पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले साढे तीन वर्ष अगाडि नै उक्त कर्जा भुक्तानी भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए।
पौडेलले साविकको यति डेभपलमेन्ट बैंक (हाल महालक्ष्मी विकास बैंकसँग मर्ज भएको) बाट ७ वर्ष अगाडि ४९ करोड रुपैयाँ कर्जा लिएका थिए। उक्त कर्जा साढे दुई वर्षसम्म ललिता निवासको जग्गा धितो राखेर भुक्तानी गरेका थिए।
त्यस्तै हिमालयन बैंकले पनि ललिता निवासको जग्गा धितोमा राखेर संगिता कोठारीलाई तीन करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। त्यसैको प्रभावले आइतबार बैंकको शेयर मूल्यमा गिरावट आएको छ।
यो पनि पढ्नुहोस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।