काठमाडौं- जापान रोजगारीमा 'लक्की ड्र' प्रणाली हटाउने एजेन्डा संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी)को बैठकमा छलफलका लागि राखिने भएको छ।
लक्की ड्रमार्फत् भाषा परीक्षाका लागि आवेदक छनोट गर्दा दक्षसँगै अदक्ष युवा पनि छनोट हुने र नतिजा कमजोर देखिने भएकाले यो प्रणाली हटाउने प्रस्ताव राखिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए।
लक्की ड्र प्रणालीका कारण नर्सिङ केयरका लागि जापानको प्रोमेट्रिकले लिएको जापान भाषा परीक्षाको नतिजा कमजोर देखिएका कारण यो प्रणाली हटाउने प्रस्ताव राखिने भएको हो।
‘हामीले लक्की ड्र प्रणाली पहिलेदेखि नै उचित छैन भनिरहेका छौँ। यो प्रणाली हटाउने प्रस्ताव हामी ज्वाइन्ट कमिटीको बैठकमा समेत राख्छौँ,’ उपसचिव ढकालले भने।
संयुक्त कार्यदलको बैठकका लागि मन्त्रालयले जापान सरकारसमक्ष पत्राचार गरिसकेको छ।
पत्राचारपछि छलफलका लागि जापान सरकार पनि सकारात्मक छ। तर छलफलको मिति भने निर्धारण नभइसकेको मन्त्रालयले जानकारी दिएको छ।
कोटा प्रणाली हटाउने प्रस्ताव
जापानले नेपालबाट एक चरणको परीक्षामा १ हजार आवेदकलाई मात्रै परीक्षामा सामेल गराउने कोटा प्रणाली निर्धारण गरेको छ। मार्चमा भने यो कोटा बढाएर १ हजार ३ सय पुर्याइने बताइएको छ। तर कोटा बढाउने भन्दा पनि यो प्रणाली नराखी सबै इच्छुक परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न नेपालका तर्फबाट प्रस्ताव गर्न लागिएको मन्त्रालयका उपसचिव दिपक ढकालले बताए।
कोटा प्रणालीले गर्दा इच्छुक सबै सहभागी हुन सकेका छैनन्।
जापानले नेपालबाट पहिलो चरणमा नर्सिङ केयरका लागि कामदार लिने भएको छ।
नर्सिङ केयरका लागि जान इच्छुकहरुलाई लक्की ड्रमार्फत् छनोट गरी भाषा तथा सीप परीक्षा विभिन्न मितिमा लिइरहेको छ।
हालसम्म कति युवा भाषा तथा सीप परीक्षामा सामेल भए र कति युवाहरु उत्तीर्ण भए भन्ने आधिकारिक जानकारी मन्त्रालयले माग गरेको छ। सो जानकारी मन्त्रालयसम्म आइसकेको छैन।
जापान र नेपालबीच कामदार आपूर्तिका सम्बन्धमा थुप्रै अप्ठ्यारा रहेकाले बैठकमार्फत सुल्झाउन पहल गरिने मन्त्रालयको भनाइ छ।
देशमा निम्तिएको कामदार संकट व्यवस्थापन गर्न जापानले १४ वटा क्षेत्रमा आप्रवासी श्रमिकहरु लैजाने तयारी गरेको छ।
जसमा स्याहार कर्ता (नर्सिङ केयर), भवन सरसफाइ व्यवस्थापन (आन्तरिक भवन), उपकरण उत्पादनसम्बन्धी उद्योग, इलेक्ट्रिक उद्योग, निर्माण उद्योग, पानीजहाज निर्माण उद्योग तथा पानीजहाज मेसिनरी उद्योग, अटोमोबाइल मर्मत सम्भार, एभिएसन उद्योग (विमानस्थल ग्राउन्ड ह्यान्डलिङ, मर्मत), आवास उद्योग (सत्कार तथा रेस्टुरेन्ट), कृषि (खेतीपाती, गोडमेल, उत्पादन, प्रशोधन), माछापालन र अक्वाकल्चर, खाना र पेय पदार्थको उत्पादन, तथा खाद्य सेवा उद्योग छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।