काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएकोप्रति शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ । देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाए ।
शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं ।’
निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो । आयोगले आवश्यक कागजात अध्ययन गरी थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधानिक मान्यता दिएको जनाएको छ ।
पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।
देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।