काठमाडौं- त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभाग र विभागीय प्रमुख चिरञ्जिवी खनालको योग्यता र क्षमताको विषयमा नेपाल लाइभमा लेख प्रकाशित भएपछि पत्रकारिता क्षेत्रका विज्ञ र पत्रकारिताका विद्यार्थीले सामाजिक सञ्जालमा टिप्पणी गर्न थालेका छन्।
स्तम्भकार भानुभक्त आचार्यको पहिलो लेखमा उठेका प्रश्नको स्पष्टीकरण विभागीय प्रमुख खनालले दिए पनि दोस्रो लेखका विषयमा भने उनी र विभाग अहिलेसम्म मौन छ।
दुईवटा लेखमा प्राज्ञिक क्षेत्रका लागि अकल्पनीय र अशोभनीय गतिविधिमा खनालको संलग्नता रहेको प्रसंग उल्लेख गरिएको छ। यसैगरी परीक्षाको नतिजालाई लिएर शिक्षकले विद्यार्थीसँग रकमी बार्गेनिङ गरेको विषय पनि उनले खुलाएका छन्।
व्यक्तिगत प्रतिशोध लिएर विद्यार्थीको नतिजा उल्ट्याउने, मानसिक तनाव दिने र प्राज्ञिक उन्नयनमै बाधा पुग्ने गरी खनालको कृयाकलाप जारी रहेको प्रसंग प्रमाणसहित आचार्यले उल्लेख गरेका छन्।
विभाग मौन रहे पनि सार्वजनिक सरोकारको विषय भएकाले सामाजिक सञ्जालहरुमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन्। बरिष्ठ पत्रकार एवं गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक गोकुल पोखरेलले 'एउटा अयोग्य तर धूर्त पदाधिकारीमाथिको ठूलो प्रहार (अ बिग ब्लास्ट अगेन्स्ट अ लेस कम्पिटेन्ट बट कनिङ अफिसियल)' भनेर टिप्पणी गरेका छन्।
२०४१ सालमा 'छालाको तोप' प्रकरणपछि नैतिकताका आधारमा गोरखापत्रबाट राजीनामा दिएका पोखरेलले नेपाल प्रेस इन्स्टिच्युट स्थापना गरे। खनाल पनि यसमा लामो समय सक्रिय रहे र तालिम निर्देशकसम्म बने। पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुख हुने बेलासम्म खनाल यही इन्स्टिच्युटको सञ्चालक समितिमा थिए।
अर्का पत्रकार विष्णुहरि घिमिरेले विभागीय प्रमुख खनालले आफू र आफ्ना साथीलाई एक नम्बर कम दिएर फेल नै गराएको प्रसंग सामाजिक सञ्जालमा शेयर गरेका छन्। फोटो पत्रकारिता विषयका शिक्षक गोपाल चित्रकारले कोही पनि फेल नभएको बताए पनि आफूलाई खनालले फेल गराएको उनको टिप्पणीमा उल्लेख छ।
घिमिरेले यो विषयमा पूरा विवरण सार्वजनिक गर्न आफू तयार रहेको पनि सार्वजनिकरुपमा नै उल्लेख गरेका छन्।
ट्विटरमा पत्रकार दिनेश आचार्यले बेथिति विरुद्ध आवाज निकाल्न नसकेको भन्दै पत्रकारको पनि आलोचना गरेका छन्। 'अर्काको जुम्रा उखेल्ने तर यत्रो भैंसी भेट्दा पनि केही नबोल्ने? कहाँ गए पत्रकारहरु? कहाँ हराए एकेडेमिसिएनहरु ? बहस गरौ : पत्रकारिता विभागको बेथिति अझै हेरेरै बस्ने?' उनको टिप्पणी छ।
दुवै लेख प्रकाशित भएपछि नेपाल लाइभमा पत्रकारिताका विद्यार्थीहरुले धेरै प्रतिक्रिया पठाएका छन्। उनीहरुले आफूहरु सबै पीडित भएको र व्यक्तिगत रिसइवीमा पर्ने डरले मुख खोल्न नसकेको बताएका छन्। विभागीय प्रमुख खनालले आफ्ना विद्यार्थीलाई परीक्षामा फेल गराइदिने, सञ्चारमाध्यममा खाइरहेको जागिर खोसिदिने र उनीहरुले लेखेका पुस्तक बजारमा बिक्री नहुने गरी पाठ्यक्रम बनाउने धम्की दिने गरेको प्रतिक्रियामा उल्लेख छ।
यस विषयका थप सामग्री -
व्यक्तिगत महत्त्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।