नेपाल लाइभका स्तम्भकार भानुभक्त आचार्यले “व्यक्तिगत महत्त्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग” शीर्षकमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका गतिविधि तथा विभागीय प्रमुखको प्राज्ञिक योग्यता र नेतृत्व क्षमताका बारेमा विस्तृत आलेख प्रकाशन गरेपछि पत्रकारिता शिक्षामा चासो राख्ने विभिन्न क्षेत्रमा बहस सिर्जना भएको छ। विभागीय प्रमुखको गतिविधिबाट आजित भएकाहरुले आफ्ना गुनासोहरु विभिन्न माध्यमबाट खुलेर राख्न थालेका छन्।
आचार्यले आलेखमा त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुखले अयोग्य व्यक्तिलाई काखी च्याप्न वा कुनै खास प्रतिस्पर्धीलाई रोक्न सेवा आयोगका विज्ञापनमा अनावश्यक सर्तहरु राखेको, ‘बालिघरे प्रथा’लाई प्रश्रय दिई आर्थिक अपचलनमा संलग्न रहेको, अपारदर्शी निर्णय गरी विभागका सहकर्मीहरुलाई गुमराहमा पारेको, विद्यार्थीहरुमा नम्बर घटाइदिने भनी भय र त्रासको वातावरण सिर्जना गरेको लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए। कुनै पनि प्राज्ञिक जर्नलमा एउटै पनि लेख प्रकाशन नगरेका, आठ वर्षसम्म आफैं पिएचडी पूरा गर्न नसकेका, आफू पिएचडीको विद्यार्थी हुँदा आफ्नै समकक्षी विद्यार्थीहरुलाई प्रोफेसर हुँ भन्दै पढाउन गएका जस्ता विभागीय प्रमुखका गतिविधिहरु प्राज्ञिक लज्जाका विषय हुन्। पत्रकारिता अध्ययन र अध्यापनमा संलग्नका अतिरिक्त सक्रिय पत्रकार, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं प्राध्यापक तथा अन्य सरोकारवालाले यसलाई गम्भीर बहसको विषय बनाएका छन्। विश्वविद्यालयकै प्राध्यापकहरुको एउटा संगठनले विभागीय प्रमुख प्राध्यापक चिरञ्जीवी खनालमाथि छानबिनको माग औपचारिकरुपमै राखेको छ।
आचार्यले लेखमार्फत् उठाएका वस्तुगत सवालमाथि विभागीय प्रमुख खनालले दिएको प्रष्टिकरणमा धेरै प्रश्नहरु अनुत्तरित छन्। पत्रकारिता केन्द्रीय विभागसँग पुस्तकालय छैन, आफ्नो वेबसाइट छैन, अन्तर्राष्ट्रिय लाइब्रेरी सिस्टमको सदस्य छैन, मल्टिमिडिया पत्रकारिताको युगमा सामान्य पावरपोइन्ट राखेर अध्यापन गराउन असफल छ। चार वर्षसम्म पीएचडी कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई सुपरभाइजर तोक्न नसक्नु, बाह्य सुपरभाइजरलाई काम नगर्न दबाब दिनु, आफ्नो अयोग्यतालाई ढाकेर जबर्जस्ती सुपरभाइजर बन्न प्रयास गरी विद्यार्थीको भविष्य अन्यौलमा पार्नु प्राज्ञिक एवम् दण्डनीय अपराध हो। यस्ता विषयमा खनालले आफ्नो प्रष्टीकरणमा जवाफ दिन सकेका छैनन्। आचार्यले पत्रकारिता शिक्षा र केन्द्रीय विभागको सुधारका लागि उठाएका सवाललाई व्यक्तिगत लान्छना र आरोपको विषयमात्रै ठानेर विभागीय प्रमुख पन्छिन खोज्नुले ती सवालको सान्दर्भिकता र वजन स्थापित गरेको छ।
विश्वविद्यालयका प्राज्ञिक उत्पादन समाज डोहोर्याउने जनशक्ति हुन्। पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग यसमा असफल देखिनुमा निश्चय नै विभागीय प्रमुखको उत्तरदायित्व र नेतृत्व क्षमतामा प्रश्न उठ्नु स्वाभाविक हो। आधुनिक र समय सापेक्ष तथा सिर्जनशील एवं नवीन पाठ्यक्रम तयार गरी उनीहरुलाई जीवनपयोगी शिक्षा प्रदान गर्नुपर्नेमा पत्रकारिताको पाठ्यक्रमले यथास्थितिलाई नै आत्मसात गरेको छ। नेपाली पत्रकारितासँग सन्दर्भ नै नमिल्ने र समयानुकूल परिमार्जन नभएका र बजारमै नपाइने पुस्तकहरुमा आधारित पाठ्यक्रम लागू गरिएको छ। स्नातकोत्तर तहमा फोटोग्राफी विषयको अध्यापनका लागि अझै ‘डार्क रुम’ मा भर पर्नु परेको छ, जबकि फोटोग्राफी डिजिटल युगमा प्रवेश गरेको दुई दशक नाघिसक्यो। समयसापेक्ष पाठ्यक्रम निर्माण, सैद्धान्तिक र व्यावहारिक शिक्षाको सन्तुलन र उपयुक्त शैक्षिक वातावरण सिर्जना गर्ने कामको नेतृत्व विभागीय प्रमुखको हो। उनी त्यसमा चुकेका छन्।
पत्रकारिता शिक्षाको सुधार र गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरुबाट विभिन्न कोणबाट बहस सुरु हुनु अत्यन्तै सरहानीय विषय हो। पत्रकारिता पेशाका लागि आवश्यक योग्य जनशक्ति उत्पादनका लागि अझै पनि त्रिभुवन विश्वविद्यालयको विकल्प नभए पनि विभाग हाक्ने व्यक्तिसँग प्राज्ञिक मर्यादा, कार्यक्षमता, नैतिकता पारदर्शिता र इमानदारिताको आवश्यकता पर्दछ। त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका तत्कालीन विभागीय प्रमुख प्राध्यापक अभि सुवेदीले परीक्षाफलमा चित्त नबुझाइ विद्यार्थीले पुस्तकालय जलाइदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको दृष्टान्त छ। तसर्थ पत्रकारिता तथा आमसञ्चार विभागका विभाग र विभागीय प्रमुख खनालमाथि लागेका आरोपको त्रिभुवन विश्वविद्यालयले तत्काल छानबिन सुरु गर्नुपर्छ ताकि एउटा विभागमा भएका अप्राज्ञिक कृयाकलाप अरुमा पनि सरुवारोग जस्तै सर्दै नजाओस् र केन्द्रीय पत्रकारिता विभाग देशकै गर्व गर्न लायक शैक्षिक केन्द्र बन्न सकोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।