काठमाडौं- त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागको नेतृत्वमाथि प्रश्न उठेको भन्दै प्रजातान्त्रवादी प्राध्यापक संघले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न माग गरेको छ।
केही दिनअघि नेपाल लाइभमा प्रकाशित भानुभक्त आचार्यको लेख ‘व्यक्तिगत महत्त्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग’’ का विषयमा बिहीबार विज्ञप्ति प्रकाशित गर्दै संघले यस्तो माग गरेको हो।
त्रिविजस्तो प्राज्ञिक गरिमामयी संस्था र यसमा कार्यरत प्राध्यापकका बारेमा समय–समयमा अशोभनीय र गैरप्राज्ञिक गतिविधिको सार्वजनिक माध्यममा चर्चा भइरहनु दुःखद भएको उल्लेख गर्दै विज्ञप्तिमा यस्ता क्रियाकलापले प्राज्ञिक उन्नयन र मर्यादाको कदर गर्न नसक्ने ठहर गरिएको छ।
‘विशेषगरी पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र प्राध्यापकका बारेमा यस्ता नकारात्मक कुरा आउनु दुःखद छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ त्रिवि प्रशासन, रत्नराज्य लक्ष्मी क्याम्पस, पत्रकारिता केन्द्रीय विभागलगायत सरोकारवालाले यस सन्दर्भमा आएका कुरालाई यथाशीघ्र प्रष्ट पारेर निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न जोडदार माग गर्दछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।