एजेन्सी- विभिन्न ब्राण्डका स्मार्टफोनहरु आफ्नो व्यापार र बजार हिस्सा विस्तारका लागि प्रतिस्पर्धा गरिरहेका छन्। मुल्यमा होस् वा फिचरमा, स्मार्टफोन उत्पादन गर्ने कम्पनीहरुले आफूलाई उत्कृष्ट सावित गर्न लागिपरेका छन्।
केही कम्पनीहरु बजारमा लामो समयदेखिको बिरासत जोगाउन लागिपरेका छन् भने केही कम्पनीहरु आफूलाई त्यो स्थानमा पुर्याउन लागिपरेका छन्।
सन् २०१९ मा पनि विश्वभरको स्मार्टफोनको बजारमा सामसुङ सबैभन्दा ठूलो बजार हिस्सा कायम राख्न सफल भयो। सामसुङले गतवर्ष ८ दशमलव ४ प्रतिशतको बजार वृद्धिदर कायम राख्यो। जसकारण स्मार्टफोनको कुल बजार हिस्साको ५ भागको एक भाग सामसुङको छ।
सामसुङले सार्वजनिक गरेको ग्यालेक्सी सिरिज र नोट-१० ले बजारमा राम्रो उपस्थिति देखाएपछि सामसुङले यसवर्ष पनि आफूलाई पहिलो स्थानमै राख्न सफल भयो। गत वर्षको तुलनामा सामसुङले आफ्नो बजार हिस्सा ८ दशमलव ४ प्रतिशतले बढाएको छ।
सन् २०१९ मा सामसुङले विश्वभर ७ करोड ८२ लाख स्मार्टफोन बेचेको छ। यो कुल बजार हिस्साको २१ प्रतिशत बराबर हो।
दोस्रो स्थानमा रहेको हुवाइले आफ्नो गतवर्षको बजार हिस्सामा आक्रामक सुधार गरेको छ। सन् २०१८ को तुलनामा सन् २०१९ मा हुवाइले २८ दशमलव ५ प्रतिशतले बजार बिस्तार बढाएको छ। चीनमा प्रयोग हुने स्मार्टफोनको ४० प्रतिशत हिस्सा हुवाइले ओगटेको छ। गतवर्षमा विश्वभर हुवाई ब्राण्डका ६ करोड ६७ लाख स्मार्टफोन बिक्री भए। जुन कुल स्मार्टफोन बजारको १८ प्रतिशत बराबर हो।
तेश्रो स्थानमा रहेको एप्पलको भने सन् २०१९ मा आफ्नो व्यापार र बजार हिस्सा अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। सन् २०१८ को तुलनामा २०१९ मा एप्पलको बजार हिस्सा ४ प्रतिशतले गुमाएको छ भने उसको व्यापार रकममा पनि ११ प्रतिशतको संकुचन आएको छ।
२०१९ मा ४ करोड ६६ लाख आइफोन बिक्री गरको एप्पलले कुल बजार हिस्साको १२ प्रतिशत ओगटेको छ।
बिबिके ग्रुपअन्तर्गतका ओप्पो, भिभो, रियलमी र वान प्लसले पनि स्मार्ट फोनको कुल विश्व बजारको २० प्रतिशतभन्दा माथिको हिस्सा ओगटेका छन्। बजार हिस्सा बढाउनमा सबैभन्दा आक्रामक भने रियलमी देखिएको छ। ओप्पोले कुल बजार हिस्साको ९ प्रतिशत, साओमी र भिभोले समान ८ प्रतिशत रियल मीले ३ प्रतिशत र बाँकी अन्य ब्राण्डका स्मार्टफोनले २१ प्रतिशत बजार ओगटेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।