काठमाडौं- दीपकराज जोशीको अवकाससँगै खाली भएको नेपाल पर्यटन बोर्डको सिइओ (प्रमुख कार्यकारी अधिकृत)को छनोट प्रक्रियामा ब्रेक लागेको छ। छनोट उपसमितिले माघ ५ मा नयाँ सिइओका लागि सिफारिस गरेका ३ जना उम्मदवारको नाममा एकमत नभएपछि विवाद सुरु भएपछि सिइओ छान्ने प्रक्रिया रोकिएको हो।
छनोट उपसमितिले नयाँ सिइओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम सर्ट लिस्ट गरेर धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो।
तर, सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले छनोट उपसमितिले नयाँ सिइओ छनोटका लागि सिफारिस गरेको ३ जनाको नाममा ५ जनाको हुनुपर्ने भन्दै बैठक नै अनिश्चितकालका लागि स्थगित गरे।
बोर्डकै सञ्चालकहरुको कात्तिक १५ मा बसेको २ सय ८९औं बैठकले छनोट उपसमिति गठन गर्ने निर्णय गरेको थियो। छनोट समितिको संयोजक विप्लव पौडेल रहेका थिए भने पर्यटन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्याय र सञ्चालक बोर्डका सदस्य कृष्णबहादुर महरा थिए। समितिले मंसिर १८ गते १५ दिनको सूचना प्रकाशन गर्दै आवेदन मागेपछि १७ जनाको आवेदन परेको थियो।
आवेदन परेकाहरूमध्येबाट छनोट उपसमितिले पुस १९ मा निर्वतमान पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशी, भिजिट नेपाल २०२० सचिवालयका सदस्य सचिव, बोर्डकै निर्देशक काशीराज भण्डारीसहित ९ जनाको नाम सर्ट लिस्ट गरेको थियो।
सर्ट लिस्टमा ३ जना बाहेक दीपक बस्ताकोटी, धनञ्जय रेग्मी, नवीन पोखरेल, रोहणीप्रसाद खनाल, सन्तोषविक्रम खनाल र हिकमत सिंह ऐर थिए।
सर्ट लिस्टमा परेका ९ जनासँग छनोट उपसमितिले २ र ३ गते योजनासहितको अन्तर्वाता लिएको थियो।
सोही आधारमा छनोट उपसमितिले माघ ५ मा पर्यटन बोर्डमै बैठक बसेर धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफारिस गरेको थियो।
सिफासिरसँगै छनोट उपसमितिले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ अनुसार कार्यकारी प्रमुख पदमा ४ वर्षका लागि नियुक्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउन नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका अध्यक्षमार्फत् बोर्डको कार्यकारी समिति पेस गर्ने निर्णय गरेको थियो।
यस्तो छ छनोट उपसमिति ३ जनाको नाम सिफारिस गरेको माइनुट
सुरु भयो सचिवको बखेडा
पर्यटन बोर्डको कार्यकारी समिति अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सिइओ छनोट प्रक्रिया नै रद्द गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन आएकाले उनले आफू निकटकालाई रद्द गर्न लागेको बताउने गरेको विश्वस्त स्रोतको भनाइ छ।
मन्त्रालय स्रोतका अनुसार अधिकारीले कार्यकारी समितिको बैठक डाकेर बहुमतका आधारमा छनोट उपसमितिले सिइओ छनोटका लागि गरेको सिफारिस पारर्दशी र विवादित भएको आरोप लगाएका छन्।
कार्यकारी समितिमा अध्यक्षको प्रस्तावमा अहिले बहुमत पुर्याउने तयारी भइरहेको छ। कार्यकारी समितिमा नेपाल सरकारका तर्फबाट ५ जना र निजी क्षेत्रबाट ४ जना रहेका छन्।
सरकारी पक्षबाट प्रतिनिधित्व गर्ने एक जुट भएको अवस्थामा बहुमत पुग्ने अवस्था छ। कार्याकारी समितिमा कांग्रेस निकट व्यवसायी २ जना मात्रै छन्। अन्य २ जना व्यवसायी पनि नेकपा निकट नै छन्।
यस्तो छ खेल
छनोट उपसमितिले ३ जनाको नाम सिफारिस गरेपछि नेकपा निकट व्यवसायीहरू प्रधानमन्त्री, मन्त्री तथा केदारबहादुर अधिकारीले शरणमा पुगेका थिए। नेकपा निकट व्यवसायीले कांग्रेस निकट व्यवसायीलाई पर्यटन बोर्डको सिइओ बनाउन खोजेको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टि पोखे। व्यवसायीको असन्तुष्टिसँगै प्रधानमन्त्रीले सचिव अधिकारीलाई फोन गरेर नयाँ सिइओ छनोटका लागि नेपाल पर्यटन बोर्डको नियमावली २०५५ को दफा ९ को विपरीत ५ जनाको नामबाट सिइओ छनोट गर्ने निर्देशन दिए।
लगत्तै सचिव तथा कार्यकारी समितिका अध्यक्ष अधिकारीले आइतबार र सोमबार गरी ३ पटकसम्म कार्यकारी समितिको बैठक बोलाए। तर, बैठक बस्न सकेन र अन्ततः सोमबार कार्यकारी सदस्यहरुलाई म्यासेज पठाएर बैठक अनिश्चितकालका लागि स्थगित गरे।
स्रोतका अनुसार प्रधानमन्त्री ओली यति ग्रुपका सल्लाकार बच्चुनारायण श्रेष्ठलाई जसरी पनि सिइओ बनाउने पक्षमा छन्।
श्रेष्ठलाई नै केही समय अगाडि प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा भिजिट नेपाल २०२० को सचिवालयको सदस्य सचिवमा नियुक्ति गरिएको थियो।
हस्तक्षेप नगर्न छनोट उपसमिति सदस्यको चेतावनी
सिइओ छनोटमा हस्तक्षेप नगर्न उपसमितिका एक सदस्यले फेसबुकमार्फत् ठाडो चुनौती दिइसकेका छन्। छनोट समितिमा विप्लव पौडेल, कृष्णबहादुर महरा, घनश्याम उपाध्याय छन्। समिति सदस्य महराले फेसबुकमा स्टाटस लेख्दै उपसमितिले गरेको सिफारिसभन्दा बाहिरबाट नियुक्ति नगर्न चेतावनी दिइसकेका छन्।
फेसबुकमा उनले लेखेका छन, 'यस्तो संस्थामा एक जना राम्रो मान्छेलाई नेतृत्व दिनुपर्छ भन्ने हाम्रो मनसायलाई बोर्डको अध्यक्षले ठाडै लत्याउन खोजेको देखिएको छ तर तपाईंको त्यो मनसाय कुनैपनि हालतमा पूरा हुन दिइने छैन। यो मेरो ठाडो चुनौती हो।’
उनले लेखेको स्टाटस जस्ताको तस्तैः छनोट गर्न बोलाइएको पर्यटन बोर्डको बैठक छलफल नै नगरी पटकपटक स्थगित गरिएको छ र अहिले आएर अर्को सूचना नआएसम्मका लागि भनेर स्थगित गरिएको म्यासेज आयो। बोर्डको बैठकमा सम्भावित ३ जनाका विषयमा छलफल गर्ने हो कि नेताको घरघरमा गएर चाकडीको शैली प्रदर्शन गर्ने हो? पीपीपीको कन्सेप्टमा नेपालको पर्यटन विकास गर्ने उद्देश्य ले गठन भएको संस्थालाई यस्तै मनोवृत्ति भएका मानिसको नेतृत्वका कारण बोर्डको आन्तरिक व्यवस्थापन जर्जर भएको छ। भ्रष्टाचार मौलाएको छ मालपोत सडकपछि अख्तियारको दैनिकजसो नजर त्यहाँ छ। यस्तो संस्थामा एकजना राम्रो मान्छेलाई नेतृत्व दिनुपर्छ भन्ने हाम्रो मनसायलाई बोर्डको अध्यक्षले ठाडै लत्याउन खोजेको देखिएको छ तर तपाईको त्यो मनसाय कुनै पनि हालतमा पूरा हुन दिइने छैन। यो मेरो ठाडो चुनौती हो ।
कानुन के भन्छ?
नेपाल पर्यटन बोर्डको नियमावली २०५३ को दफा ८ र ९ ले बोर्डको सिइओ छनोटको विषयमा स्पष्ट लेखेको छ। नियमावलीको दफा ८मा कार्यकारी प्रमुखको छनौट प्रक्रिया रहेको छ।
(१) कार्यकारी प्रमुखको नियक्तिको लागि उपयुक्त उम्मेदवारको छनौट गरी सिफारीस गर्न समितिले ऐनको दफा ९ को उपदफा (२) को खण्ड (छ) वमोजिम मनोनित भएका सदस्यहरु मध्येवाट तीन जनाको एक छनौट उपसमितिको गठन गर्नेछ।
(२) उपनियम (१) बमोजिम गठित छनौट उपसमितिले सार्वजनिक रुपमा दरखास्त आह्वान गरी ऐनको दफा १४ को उपदफा (१) बमोजिम योग्यता पुगेका व्यक्तिहरूको सूची तयार गरी सूचीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट पर्यटन क्षेत्रमा विशेष योग्यता तालिम तथा अनुभव प्राप्त गरेका व्यक्तिहरूमध्ये तीन जना उम्मेदवारको नाम कार्यकारी प्रमुखको पदमा नियुक्तिको लागि समिति समक्ष सिफारीस गर्नु पर्नेछ।
सोही आधारमा दफामा ९ मा कार्यकारी प्रमुखको नियुक्ति विषयमा उल्लेख गरेको छ।
उक्त दफाको (१) नियम ८ को उपनियम (२) वमोजिम समिति समक्ष सिफारीस गरिएका व्यक्तिहरु मध्ये समितिले उपयुक्त देखेको व्यक्तिलाई बोर्डको कार्यकारी प्रमुखको पदमा नियुक्ति गर्नेछ ।
(२) उपनियम (१) वमोजिम कार्यकारी प्रमुखमा नियुक्त भएको व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए निजले त्यस्तो सेवा वा व्यवसायवाट अवकाश लिनु पर्नेछ। र यसरी अवकाश नलिएमा त्यस्तो नियृुक्ति स्वत बदर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।