काठमाडौं- कुनै समय बजारबाट राम्रो नाफा गरेर बाहिरिएका लगानीकर्ता बजारमा पुनः सक्रिय भएको देखिएको छ।
बजार बुझेका लगानीकर्ताले आफ्नो सक्रियता बढाउँदा कारोबार रकम बढ्न थालेको छ।
उनीहरूकै सक्रियताले बजारमा करेक्सन हुन नसकेको एक ब्रोकर सञ्चालकले बताए।
केही दिन बजार बढ्ने लगत्तै केही अंकले घटेर बढ्ने प्रवृत्तिले शेयर किन्ने र बेच्ने दुबैले राम्रो नाफा आर्जन गर्न थालेका छन्।
पोर्टफोलियो परिवर्तन गर्दै लगानी घुमाउँदा बजार चलायमान भएको बजार विश्लेषकको भनाइ छ।
बजारमा खासै धेरै नयाँ पैसा नआए पनि एउटै लगानीकर्ताले दिनदिनै पोर्टफोलियो परिवर्तन गरेर कारोबार बढाउँदा कारोबार रकम बढिरहेको छ।
बुधबार कारोबारमा सबैभन्दा धेरे योगदान ग्लोबल आइएमई बैंकको छ।
साविकका जनता बैंकका शेयरधनीहरुले नाफा बुक गर्दा कारोबार रकम बढिरहेको छ।
बुधबार ग्लोबल आइएमई बैंकको मात्रै ६१ करोड १२ लाख रुपैयाँको खरिद बिक्री भएको छ।
जनताका शेयरधनीले राम्रो नाफा गरेपछि बुधबारदेखि प्राप्त भएको नाफा बुक गरेका हुन्।
खरिद गरेको शेयर तीन दिनभित्रमा लगानीकर्ताको खातामा आउछ। तीन दिन भित्रमा शेयर आउन सक्ने आकलन गर्दै ब्रोकरहरु सँग मिलेर लगानीकर्ताहरुले उदारोमै शेयर खरिद बिक्री गरिरहेका छन्।
तीन दिनको उदारो राख्न लगानीकर्ता तथा ब्रोकर दुबैलाई राम्रो नाफा हुने भएपछि कारोबार रकम बढिरहेको छ।
यसका साथै बैंकहरुको कर्जा प्रवाहमा केही कमी आएको र भोलिका दिनमा तरलता सहजन हुने अनुमान मात्रै गरिएको छ। तर तरलता सहज हुने अझै पनि ठोस प्रमाण भने छैन।
हालका अध्यक्षले ब्रोकरलाई बजारको विस्तारको लागि आफूले काम गर्ने भन्दै आस्वासन दिएका छन्। बोर्डका अध्यक्षको आस्वासनले गर्दा पनि ब्रोकरहरु आफैले हौसिएर कारोबार गरिरहेका छन्।
बुधबार नेप्से सूचक ७.०५ अंकले घटेर १३१३.४२ अंकमा रोकिएको छ। मंगलबार केही करेक्सन भएर बजार पुनः सुधार भएको थियो।
तर आज भने बजारमा खासै सुधार हुन सकेन। बजार प्रति केही लगानीकर्ताको अझै पनि विश्वास छैन। त्यसैले गर्दा केही लगानीकर्ता नाफा बुक गरिरहेका छन्। उनीहरूले नाफा बुक गरे पनि त्यही पैसाले अर्को घटेको शेयरमा लगानी गरिरहेका छन्।
जीवन बीमाको सूचक २.३२ प्रतिशतले सुधार भए पनि अन्य सूचक भने ओरालो झरेको छ। आज सबैभन्दा धेरै मूल्य बढ्नेमा अधिकाम्स कम्पनी जीवन बीमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।