काठमाडौं– नेपाल पुनर्बिमा कम्पनीले एक महिनाभित्र प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १५ अर्बबाट १० अर्ब रुपैयाँमा झार्दा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अवरोध भएको थियो।
कम्पनी रजिष्ट्रारको नियम अनुसार अधिकृतपूँजी घटाएको खण्डमा अदालतबाट अनुमोदन गराउनुपर्ने हुन्छ। यसैअनुसार पुनर्बिमाले पुनरावेदन अदालतमा मुद्दा हालेको थियो। अदालतले घटेको अधिकृत पुँजीलाई सदर गरेपछि प्राथमिक शेयर निष्काशनको बाटो खुला भएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको लामो समयसम्म पनि अनुमति पाउन सकेको थिएन। अदालतबाट अधिकृतपूँजी १० अर्ब रुपैयाँमा झार्न सदर भएसँगै अबको एक महिनाभित्र सर्वसाधारण शेयर निष्काशन गरिसक्ने कम्पनीका नायब महाप्रबन्धक दामोदर भण्डारीले जानकारी दिए।
अदालतको निर्णयसँगै कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी र चुक्ता पुँजी १० अर्ब कायम हुनेछ। कम्पनीले बोर्डमा एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ।
यो निर्णयसँगै बोर्डमा बुझाउनुपर्ने सम्पूर्ण कागजपत्र पुरा भएको छ। बोर्डले अबको एक हप्ता भित्रमा अनुमति दिएमा कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। कम्पनीमा सबैभन्दा धेरै शेयर नेपाल सरकारको ४३।५५ प्रतिशत छ। त्यस्तै जीवन बिमा कम्पनीको १८।०६ प्रतिशत र निर्जीवन बिमा कम्पनीको ३८।३९ प्रतिशत छ। सर्वसाधारण शेयर निष्काशनपछि यो शेयर संरचना परिवर्तन हुनेछ। सार्वजनिक शेयर निष्काशनपछि सर्वसाधारण शेयरधनीको हिस्सा १६ प्रतिशत कायम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।