काठमाडौं– आन्तरिक हवाई उडानमा निजी हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो बजार हिस्सा (यात्रु संख्याका आधारमा) बढाएको छ। बुद्धसँगै यती एयरलाइन्सले पनि बजार हिस्सा बढाएको छ। तर, आक्रामक बजार विस्तारमा लागेको श्री एयरको हिस्सा भने सन् २०१८ को तुलनामा २०१९ मा घटेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २०१९ मा आन्तरिक हवाई यात्रुको संख्या पनि बढेको छ। अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटे पनि २०१९ मा आन्तरिक हवाई यात्रुको संख्या भने ११ दशमलब ९६ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या भने २०१९ मा २०१८ को तुलनामा २ लाख ४ हजार कम थियो।
विमानस्थल कार्यालयका अनुसार २०१९ मा कुल ३१ लाख ८८ हजार ४ सय ७९ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। सन् २०१८ मा यो संख्या २८ लाख ४७ हजार ७ सय ५२ मात्रै थियो। २०१९ मा आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या २०१८ भन्दा ३ लाख ४ हजारले बढी हो।
समग्रमा २०१८ को तुलनामा २०१९ मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई यात्रुको संख्या बढेको छ। २०१९ मा कुल हवाई यात्रु ७३ लाख २७ हजार ४२ पुगेका छन्। २०१८ मा यो संख्या ७१ लाख ९० हजार ७ सय ५२ थियो। २०१८ को तुलनामा २०१९ मा १ लाख ३६ हजार २ सय ९१ हवाई यात्रु बढेका हुन्।
बुद्ध र यतीको बजार हिस्सा बढ्दा श्री एयरको घट्यो
आन्तरिक उडानमा बुद्ध एयरको बजार हिस्सा सबैभन्दा बढी छ। बुद्ध एयरको बजार हिस्सा (यात्रु संख्याका आधारमा) ४९ दशमलब ९१ प्रतिशत छ। बुद्ध एयरले २०१९ को ३१ लाख ८८ हजार ४ सय ७९ आन्तरिक हवाई यात्रुमध्ये १५ लाख ९१ हजार ४ सय २ जनालाई सेवा दिएको छ। साथै बुद्धले सन् २०१८ मा गुमाएको बजार हिस्सा २०१९ मा बढाएको छ। बुद्धको बजार हिस्सा २०१८ मा ४६ दशमलब ६५ प्रतिशतमात्रै थियो।
यसैगरी यती एयरलाइन्सले पनि २०१८ को तुलनामा २०१९ मा बजार हिस्सा बढाएको छ। यतीको बजार हिस्सा २०१९ मा २६ दशमलब १४ प्रतिशत पुगेको छ। यसअघि २०१८ २३ दशमलब ४८ प्रतिशतमात्रै थियो।
यतीले सन् २०१९ मा ८ लाख ३३ हजार ९ सय ४२ यात्रुलाई हवाई सेवा दिएको छ। सन् २०१८ मा यसले ६ लाख ६८ हजार ६ सय ६४ यात्रुलाई सेवा दिएको थियो।
यसैगरी आन्तरिक उडानमा आक्रामक बजार विस्तार गरिरहेको श्री एयरले भने आन्तरिक हवाई यात्रु बढ्दा पनि आफ्नो बजार हिस्सा २०१८ को तुलनामा २०१९ मा गुमाएको छ।
२०१९ मा श्रीको बजार हिस्सा कुल हवाई यात्रुको १४ दशमलब ९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यसको बजार हिस्सा १५ दशमलब ७२ प्रतिशत थियो।
श्रीले २०१९ मा ४ लाख ७५ हजार ६९ यात्रुलाई सेवा दिएको छ भने २०१८ मा ४ लाख ४७ हजार ८ सय ७७ यात्रुलाई सेवा दिएको थियो।
यसैगरी दुर्गममा उडान गर्दै आएको तारा एयर (यतीको भगिनी संस्था) को पनि बजार हिस्सा घटेको छ। ताराले २०१९ मा कुल ३३ हजार १ सय ७२ यात्रुलाई सेवा दिएको छ। २०१८ मा यसले ५२ हजार २ सय ७६ जनालाई सेवा दिएको थियो। ताराको बजार हिस्सा २०१८ मा १ दशमलब ८३ थियो। २०१९ मा १ प्रतिशतमा झरेको छ।
यसैगरी अन्तर्राष्ट्रिय उडानमा बजार हिस्सा बढाएको नेपाल एयरलाइन्सको आन्तरिक उडानमा भने बजार हिस्सा घटेको छ। २०१९ मा नेपाल एयरलाइन्सको बजार हिस्सा २ दशमलब ७८ प्रतिशत थियो । तर, २०१९ मा यो घटेर २ दशमलब ३३ प्रतिशतमा झरेको छ। नेपाल एयरलाइन्सले २०१९ मा आन्तरिकतर्फ ७४ हजार २ सय ३६ यात्रुलाई मात्रै हवाई सेवा दिएको छ। सन् २०१८ मा भने नेपाल एयरलाइन्सले ७९ हजार १ सय ७२ जना यात्रुलाई आन्तरिकहवाई सेवा दिएको थियो।
यसैगरी सौर्य एयरलाइन्सले पनि आफ्नो बजार हिस्सा गुमाएको छ। अघिल्लो वर्ष ३ दशमलव ७२ प्रतिशत रहेकामा २०१९ मा २ दशमलब ४६ प्रतिशतमा झरेको छ।
यसैगरी २०१९ मा सिम्रिक एयरलाइन्सले २८ हजार १ सय ४६, समिट एयरलाइन्सले ५ हजार ४ सय ४१ र सिता एयरले १४ हजार ४ सय ८१ जनालाई हवाई सेवा दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।