काठमाडौं– उखु किसानहरुसँगको सम्झौताअनुसार बक्यौता रकम बुझाउन अटेर गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बोलाएको छलफलमै उपस्थित हुन चिनी उद्योगीले अटेर गरेका छन्।
मन्त्रालय स्रोतकाअनुसार दुई चिनी मिलका प्रतिनिधिमात्रै मंगलबार मन्त्रालयले बोलाएको छलफलमा उपस्थित भएका थिए। ‘छलफलमा श्रीराम चिनी मिल र महालक्ष्मी चिनी मिलका प्रतिनिधिमात्रै आएका थिए, उनीहरुले किसानको बक्यौता रकम जतिसक्दो चाँडो बुझाउने प्रतिबद्धता जनाएका छन्,’ मन्त्रालयका एक अधिकारीले नेपाल लाईभसँग भने।
छलफलका लागि मन्त्रालयले पत्राचार गरेका अन्य चिनी मिल सञ्चालकहरु सम्पर्कविहीन भएको मन्त्रालय स्रोतको दावी छ। मन्त्रालयका कर्मचारीहरुले सम्पर्क गर्दा उद्योगीहरुले फोन उठाएका छैनन्। किसानको बक्यौता रकम दिन अटेर गर्ने उद्योगीका सम्बन्धमा बाँकी प्रकृया अगाडि बढाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको मन्त्रालय स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।