काठमाडौं- लगानीकर्ताको मनोबल (कन्फिडेन्स) उच्च हुँदा एक दिनको करेक्सनपछि पूँजीबजार सूचक नेप्से पुन सम्हालिएको छ। सोमबार लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा २६ अंकले घटेको बजार मंगलबार पुरानै लयमा फर्कियो। कारोबार सुरु हुँदा अधिकांश रातो देखिएको बजारमा लगानीकर्ता केही आत्तिएका थिए। जसले गर्दा सुरुवाती अवस्थामा कारोबार रकममा खासै सुधार भएन। अन्तिम समयमा बजार थोरैले सुधारको संकेत देखिएपछि कारोबार रकम ह्वात्तै बढ्यो।
मंगलबार ३.३६ अंकले सुधार भएको बजारमा एक अर्ब ५१ करोड रुपैयाँको कारोबार भयो। सोमबारको करेक्सनको निरन्तरता आज पनि हुने अपेक्षा गरिएकोले केही लगानीकर्ताले नाफा बुक गर्न भ्याए। नाफा बुक गर्न भ्याए पनि केही लगानीकर्ता अझै पनि अलमलमा छन्। हौसिएर सेयर खरिद गर्दा बजार सुधार हुने कुनै ठोस कारण बनिसकेको छैन।
एकोहोरो सुधारिएको बजारमा कुनै पनि बेलामा गिरावट आउन सक्ने आँकलनले लगानीकर्ता केही समय पर्ख र हेरको अवस्थामा छन्। लगानीकर्ताहरुले पछिल्ला समयमा राम्रो पैसा कमाएका छन्। बजारमा समान्य उतारचढाव हुँदै गर्दा पनि एउटै कम्पनीको सेयर पटकपटक खरिद बिक्री गरेर पैसा कमाउन सकिने भएकाले दोस्रो बजारमा कारोबार रकम बढिरहेको छ।
हिमालयन बैंकका संस्थापक शेयरधनीहरूले २४ करोड ४६ लाख रुपैयाँको शेयर बिक्री गरेका छन्। पछिल्लो समय हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार हुँदै आएको छ। आज पनि १० करोड ५२ लाख रुपैयाँ डिस्टिलरीकै भएको छ। बिमा र माइक्रोफाइनान्सको शेयरमा अझै पनि लगानीकर्ताको अधिक आकर्षण छ। अधिक नाफा बुक हुँदा पनि यस्ता कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण घटेको छैन। सबैभन्दा महंगो शेयरको रुपमा चिनिने माइक्रोफाइनान्स र बीमा कम्पनीको शेयर अझै बढ्ने आकलनले गर्दा यस्ता कम्पनीको खरिद कर्ताको चाप सबैभन्दा धेरै छ।
यही माइक्रोफाइनान्सको शेयर पुनः वाणिज्य बैंकमा लगानी गर्ने। वाणिज्य बैंक बेचेर पुनः माइक्रोफाइनान्स बीमा कम्पनी खरिद गर्दै घुमाउरो पाराले पोर्टफोलियो परिवर्तन भैरहेको छ। पोर्टफोलियो परिवर्तन गर्ने रणनीतिले दोस्रो बजारलाई कारोबार रकम र सूचकले टेवा पुर्याएको एक बजार विश्लेषकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।