काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको अर्थतन्त्र सहि दिशामा चलिरहेको बताएका छन्। कृषि विकास बैंकले आयोजना गरेको ५३औं वार्षिकोत्सवको अवसरमा खतिवडाले तथ्याङ्क हेरेर मात्रै अर्थतन्त्रको विश्लेषण गर्न आग्रह गरे।
'हिजोआज विश्वतन्त्र ओरालो लाग्यो भन्ने चर्चा चल्ने गरेको छ। अर्थतन्त्र उकालो ओरालो भैरहन्छ,' उनले भने, 'यसका विषयमा धेरै चर्चा गर्न आवस्यक छैन।' यसै सन्दर्भमा खतिवडाले नेपालको अर्थतन्त्र सोलिड सुध्रिड र स्थायीमार्गमा अगाडि बढिरहेको दाबी गरे। उनले बैंक वित्तीय क्षेत्र तथा व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय आग्रह समतेत गरे।
खतिवडाले थप विश्वास दिलाउन भने 'कहिलेकाही सरकारले भनेको कुरामा विश्वास गर्न तपाईंहरुलाई गाह्रो भयो भने अन्तर्राष्ट्रिय संस्थाहरु जसले नेपालको अर्थतन्त्रलाई मोनिटर गर्छन्, नजिकबाट नियाल्छन् र स्वतन्त्र रुपले आफ्ना विवरणहरु प्रतिवेदनहरु प्रकाशन गर्छन् ती पनि पढ्नुहोस्। पछिल्लो चोटि अन्तर्राष्ट्रिय मुद्राकोषको आर्टिकल फोरको कन्क्लुडिङ पढ्दिनुहोस्।'
नेपालको आर्थिक वृद्धिदरलाई लिएर पछिल्लो समय खतिवडाको आलोचना हुन थालेपछि उनले थप डिफेन्स गरेका छन्। अर्थमन्त्रीले भने, 'आर्थिक वृद्धिदर कुनै बेला दुई/तीन प्रतिशत थियो। चार हुँदा धेरै ठूलो उपलब्धि भएको भनिन्थ्यो। अझ बीस वर्षको औषत आर्थिक वृद्धिदर हेर्ने हो भने चार प्रतिशत मात्रै छ।'
नेपालको आर्थिक वृद्धिदरको बहस तीन/चार प्रतिशतबाट ८/१० प्रतिशतका लागि हुने गरेको उनले बताए। 'बहसको स्तरै माथि पुगिसक्यो। हामी अर्थतन्त्रको माथिल्लो चरणमा पुगिसक्यौ,' उनले भने, 'अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालको अर्थतन्त्र रिमार्केवल पाथमा अगाडि बढिरहेको जनाएका छन्।'
आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चौमासिक समिक्षामा मूल्य वृद्धि बढेको तथ्याङ्क थियो। यसै तथ्याङ्कलाई लिएर नेपालको मूल्य वृद्धि आकासिएको भन्ने विश्लेषणलाई खतिवडाले खण्डन गरेका छन्। उनले भने, 'कुनै बेला नेपालको मूल्य वृद्धि २२ प्रतिशत हुँदा पनि मूल्य वृद्धिले आकास छोयो भनिदैन थियो। अहिले छ प्रतिशत हुँदाखेरी चरम मूल्य वृद्धि भयो, मूल्य आकासियो भन्ने शब्द राखिन्छ।' नेपालको २० वर्षको औषत मूल्य वृद्धि ८ प्रतिशतभन्दा माथि रहेको उनले दाबी गरे।
अर्थतन्त्रका सूचकलाई लिएर अस्वस्थ्य बहस भएको भन्दै उनले यस विषयमा यथार्थ सूचकलाई बुझेर विश्लेषण गर्न सबैलाई आग्रह गरे। व्यापार घाटा बढेको, वैदेशिक रोजगारीमा जानेको संख्या घटेको, रेमिट्यास बढेको भन्दै विश्लेषण गरिँदै आएको छ।
यसै सन्दर्भमा उनले भने, 'हामीलाई वैदेशिक रोजगारीमा जानेको संख्या घटाउनु पर्या छ तर रेमिट्यान्स चाही दोब्बर चाहिएको छ। व्यापार घाटा पनि एकदमै घटाउनु पर्या छ। साथै राजस्व पनि बढाइहाल्नु पर्या छ।' निक्षेपको व्याज पनि धेरै बढाउनु परेकाे छ साथै कर्जाको व्याजदर पनि भरसक थोरैमा देउ भन्नु परेकाे छ उनकाे भनाइ छ। यस्ता कुराले कुनै पनि लजिकल टुङ्गोमा पुग्न नसकिने भन्दै उनले आक्रोस पोखे।
नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै सबैभन्दा सुदृढ देखिएको अर्थमन्त्री खतिवडाले बताए। निष्कृय कर्जा पोत्याउनै नसकिने गरी तल झरेको उनको दाबी छ। बैंकहरुले धेरै नाफा गरेको भन्ने आलोचनालाई चिर्दै खतिवडाले नाफा हिसाव गर्नु भन्दा बैंकको पूँजीसँग तुलना गर्न आग्रह गरे।
'१५ अर्ब बैंकले १५ प्रतिशत मुनाफा बाड्नु पर्याे भने पनि दुई अर्बभन्दा माथिको नाफा गर्नु पर्छ।' बैंकले नाफा दुई अर्ब नाफा गरेपछि व्यवसायीको आँखा लाग्छ,' उनले भने, 'ओहो दुई/दुई अर्ब नाफा तीन/तीन अर्ब नाफा भन्ने तर पूँजी कति छ भन्ने चाहि हिसाव नगरिदिने? पूँजीको प्रतिफल दरबाट पो हिसाव गरिदिनु पर्याे।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।