काठमाडौं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनाेटमा राजनीतिक हस्तक्षेप सुरु भएकाे छ। पर्यटन बाेर्डकाे सिइओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडाे निर्देशनमा राेकिएकाे छ।
निवर्तमान सिइओ दीपकराज जोशीकाे चार वर्षे कार्यकाल सन् २०१९ डिसेम्बर २३ मा सकिएसँगै नयाँ सिइओ छनाेटकाे प्रक्रिया सुरु भएकाे थियाे।
पर्यटन बाेर्डकाे सञ्चालक बाेर्डले सिइओ नियुक्तिका लागि गठन गरेकाे उपसमितिले नयाँ सिइओ छनाेट प्रकिया अन्तिम चरणमा पुर्याएकाे थियाे। छनाेट समितिले शुक्रबार सिइओका लागि तीनजनाकाे नाम पर्यटन बाेर्डकाे सञ्चालक समितिसमक्ष सिफारिस गरेकाे थियाे।
छनाेट उपसमितिले सिफारिस गरेकाे नाममा नेकपा निकट व्यसायी तथा भिजिट नेपाल सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठकाे नाम नपरेपछि छनाेट प्रक्रिया अन्याेलमा परेकाे हाे। प्रधानमन्त्री ओलीले पर्यटन बाेर्ड सञ्चालक समितिका सदस्य तथा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई कार्यविधि भन्दा बाहिर गएर पाँच जनाकाे नाम राख्नबाट सिइओ छनाेट गर्न निर्देशन दिएकाे स्राेतले बतायाे।
प्रधानमन्त्रीकाे निर्देशनपछि सचिव अधिकारीले सञ्चालक बाेर्ड समितिकाे बैठक अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेका छन्। पर्यटन बाेर्डकाे नयाँ सिइओ नियुक्तिका लागि छनाेट उपसमितिले सूचना प्रकाशन गर्दै आवेदन माग गरेकाे थियाे। आवेदनमा १७ जनाले निवेदन दिएका थिए। २०७६ मंसिर १८ गते पहिलोपटक २१ दिनको समय दिएर माग गरिएको आवेदनमा परेका १७ जना उम्मेद्वारमध्येबाट ९ जनाको नाम 'सर्टलिस्ट' भएकाे थियाे।
सर्टलिस्ट भएका मध्येबाट तीन जनाकाे नाम सिफारिस भएकाे थियाे। माघ २ र ३ गते उम्मेदवारकाे लिखित तथा माैखिक अन्तर्वार्ता भएकाे थियाे।
छनाेट समितिले धनञ्जय रेग्मी, हिक्मत सिंह ऐर र दीपक बस्ताकाेटीकाे नाम सिफारिस गरेकाे थियाे। तर, बच्चुनारायण श्रेष्ठकाे नाम नपरेपछि प्रधानमन्त्रीले नयाँ प्रक्रियाबाट अघि बढ्न निर्देशन दिएका थिए। उनले जसरी पनि श्रेष्ठकाे नाम राखेर नयाँ नाम सिफारिस गर्न भनेका हुन्।
सिइओ छनाेटमा हस्तक्षेप नगर्न उपसमितिका एक सदस्यले फेसबुकमार्फत् ठाडाे चुनाैती दिएका छन्। छनाेट समितिमा दीपक पाैडेल, कृष्णबहादुर महरा, घनश्याम उपाध्याय रहेका छन्। समिति सदस्य महराले फेसबुकमा स्टाटस लेख्दै हामीले गरेकाे सिफारिसभन्दा बाहिरबाट नियुक्ति नगर्न चेतावनी दिएका हुन्।
फेसबुकमा उनले लेखेका छन्, 'यस्तो संस्थामा एकजना राम्रो मान्छेलाई नेतृत्व दिनुपर्छ भन्ने हाम्रो मनसायलाई बोर्डको अध्यक्षले ठाडै लत्याउन खोजेको देखिएको छ तर तपाईंको त्यो मनसाय कुनैपनि हालतमा पूरा हुन दिइने छैन यो मेरो ठाडो चुनौती हो।'

नेकपा निकटलाई पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ल्याउनका लागि कार्यविधि मिच्दै चलखेल सुरु भएको छ।
बोर्डले छनौट उपसमितिमार्फत् सिइओ छनौट गर्ने कार्यविधि बनाएको छ जसअनुसार उपसमितिले पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने र आएका आवेदनबाट अन्तिम ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। यसै प्रावधानअनुसार उपसमितिले ९ जनाको नामबाट ३ जनाको छनौट गरेको थियो।
तर, नियमावली विपरीत नयाँ सिइओ नियुक्तिका लागि नेकपानिकट पर्यटन व्यवसायीहरु लबिङमा लागेका छन्। लबिङमा लागेकै कारण अन्तिम प्रक्रियामा पुगेको सिइओ छनौट प्रक्रिया रोकिएको हो।
यस्ताे छ पर्यटन नियमावली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।