डडेल्धुरा- विद्यालयमा के–के हुन्छ? पढाइ, खेलकुद, कहिले काहीं नाँचगान अनि विज्ञानका समान्य प्रयोगशाला। तर, त्योभन्दा फरक छ विद्यालयमै माछापालन र बेमौसमी च्याउखेती। डडेल्धुराको अजयमेरु गाउँपालिका–१ मा रहेको बालकल्याण माध्यमिक विद्यालयले माछापालन र च्याउखेती गरेको हो। विद्यालयमा गरेकाे माछापालन र च्याउखेतीकाे आम्दानीबाट प्रयोगात्मक समग्री खरिद गरिएकाे छ।
बालकल्याण माविले विद्यालयमै आकर्षक च्याउखेती, माछापालन तथा करेसाबारीसमेत बनाएको छ। २०७० सालदेखि कृषि प्राविधिकधार अध्यापन गराउन सुरु गरेको विद्यालयमा कृषि विषय (९–१२) पढने १ सय ५० जना विद्यार्थीहरु रहेका छन्।
उनीहरुले विद्यालय हाताभित्र प्लास्टिक पोखरी निमार्ण गरी माछापालन गरिहेका छन्। गत बर्षदेखि नै सुरु गरेको च्याउखेतीबाट भएको आम्दानीले विद्यालयले प्रयोगशालाका समग्री र बीउ खरिद गरेकाे प्रधानाध्यापक जगदीशसिंह भण्डारीले बताए।
उनले भने, ‘हामीले गत बर्षदेखि च्याखेती र माछापालन सुरु गरेको हाैं। विद्यार्थीका प्रयोगशालाका समग्री बीउबिजन खरिद गर्न पयाप्त हुन्छ।’
विद्यालयले कुनै पनि कक्षामा शुल्क लगाएको छैन। कृषि व्यवसायबाटै भएकाे आम्दानीले विद्यालयको अन्य खर्चहरु पनि धान्दै आएको छ।

च्याउखेतीका लागि मसरुम हाउस बनाएर विद्यार्थीहरुकाे सिकाइ उपलब्धि बढाउन सफल भएकाे विद्यालयको दाबी छ।
चिसो मौसमा पनि विद्यार्थीहरुले राम्रो उत्पादन गरेकाले डडेल्धुरामा च्याउखेती गर्न सकिने सन्देश दिएको प्रशिक्षक नारायणप्रसाद अवस्थीले बताए। अवस्थीले भने, ‘चिसोमा च्याउखेती हुँदैन कि भन्ने सोचेका थियौँ, अन्य कृषि कर्मचारीले पनि हुँदैन भन्दै थिए, तर बेमौसमी पनि राम्रो नै भएको छ।’
विद्यालयकाे ९५ हेक्टर जमिन छ। खानेपानी, प्रयोगशाला कक्ष, भवनकाे समस्याका बाबजुत पनि विद्यालयले जिल्लामा नाम कमाएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर साउँदले बताए।

उनले भने, ‘हाम्रो विद्यालय नमूनाको सूचीमा थियो, यो वर्ष राजनीतिका कारण अरु नै नमूना भए। विद्यलायमा कृषि प्राविधिकका विद्यार्थीलाई मात्र होइन अरुलाई पनि केही समस्या तथा चुनैती रहेका छन्।’
कक्षा १ देखि सधारण र ९ देखि १२ प्राविधिकधारमा पढाइ हुने विद्यालयमा कक्षा १ र २ मा अंग्रेजी माध्यममा पढाइ भईरहेको छ।
गाउँपालिकाले जनप्रतिनिधि पाएपछि ई–हाजिरी जडान, गाउँपालिका स्तरीय कक्षा ८ र ५ कक्षाको परीक्षा फरक ढंगले संचालन तथा शिक्षक सम्मेलनमार्फत् त्रैमाशिक पाठ्यभार निर्धारण, प्रत्येक विद्यालयका एकजना शिक्षकलाई कम्प्युटर तालिम संचालन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।