काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहको अवस्थाबारे बैंकर्ससँगै अपडेट मागेका छन्। सोमबार नेपाल बैंकर्स संघका प्रतिनिधिलाई आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री खतिवडाले सोधे, 'ऋण जानै छोडेको हो?'
मन्त्री खतिवडा र बैंकरहरुबीच सोमबार सवा ३ बजेबाट सुरु भएको छलफल पौने ५ बजेसम्म चलेको थियो।
छलफलमा मन्त्री खतिवडाले राजस्व तथा अन्य व्यवस्थाका कारण कर्जा प्रवाहमा कुनै समस्या भएको भए त्यसलाई समाधान गर्न आफू तयार रहेको पनि बताए। 'बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा विस्तारमा सुस्तता आएको हो?,' अर्थमन्त्रीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, 'यसमा केही समस्या छन् भने समाधानका लागि म तयार छु।'
छलफलमा अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय तथा वित्तीय संस्था र कर कार्यालयमा एउटै वासलात पेश गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि बैंकरहरुलाई निर्देशन दिएका छन्। मन्त्री खतिवडाले दोहोरो वासलात देखाउने प्रवृत्ति अन्त्य गर्न राज्यले लिएको नीति कार्यान्वयन गर्न पनि उनले आग्रह गरे।
खतिवडाले सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा भएको ढिलाइबारे प्रश्न उठाएका छन्। चीनसँगको व्यापारमा न्यून बिजकीकरणको समस्या रहेको भन्दै त्यसलाई अन्त्य गर्न कसरी सहजीकरण गर्न सकिन्छ भनेर पनि सोधेका थिए।
अर्थमन्त्री खतिवडाले पूर्वाधार क्षेत्रमा हुने दीर्घकालीन कर्जाको ब्याजदर निश्चित रहने गरी काम गर्न पनि निर्देशन दिएका छन्। उनले राज्यको अहिलेको ध्यान पूर्वाधार विकासमा रहेको र त्यसका लागि बैंकहरुको लगानीको ठूलो योगदान रहने भएकाले निश्चित ब्याजदर हुने गरी काम गर्न भनेका हुन्।
छलफलमा बैंकरहरुले स्प्रेड दर गणनाको नयाँ विधिका कारण आफ्नो नाफा संकुचित भएको भन्दै यसमा गम्भीर हुन अर्थमन्त्रीलाई आग्रह गरेका थिए।
छलफलमा अर्थसचिव डा राजन खनाल, राजस्व सचिव शिशिरकुमार ढुंगाना, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकर्स संघका पदाधिकारीलगायत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।