काठमाडौं– विष्णुप्रसाद पराजुलीले २०६५ मा यामाहाको ग्ल्याडिएटर मोटरसाइकल किने। ब्लुबुक (सवारी दर्ता किताब) मा नम्बर थियो बा ३१ प १७२२। त्यसको कर पनि नियमति तिर्दै आइरहेका थिए। केही समयअघि उनले त्यो मोटरसाइकल बिक्री गर्ने सोच बनाए।
किन्ने मान्छे तयार भएपछि मोटरसाइकल कार्यालयमा नामसारीका लागि पुगे। त्यहाँ पुगेर आफ्नो मोटरसाइकलको बारेमा सुनेपछि उनी तीनछक परे। जुन नम्बर भनेर उनले कर तिर्दै आएका थिए, त्यो त अर्कैको रहेछ। कार्यालयको रेकर्डअनुसार उनको मोटरसाइकलको नम्बर त बा ३२ प १७२२ पो रहेछ। उनले त १० वर्षदेखि अर्कै नम्बरको मोटरसाइकलको कर तिरिरहेका रहेछन्।
उनले आफ्नो भनेर चढदै आएको बा ३१ प १७२२ नम्बरको मोटरसाइकल त रविन्द्र महर्जनको पो रहेछ।
‘कार्यालयको गल्ती हो वा मेरो भनेर छुट्याउनै सकेको छैन,’ पराजुलीले भने, ‘कम्पनीसँग मोटरसाइकल किनियो, ब्लुबुकमा भएअनुसार नै कर तिर्दै आएँ। तर मेरो नाममा रहेको मोटरसाइकलको नम्बर कार्यालयको रेकर्ड अनुसार बा३२प १७२२ पो रहेछ।’ अहिलेसम्म आफ्नो नम्बरमा कर तिरेको रेकर्ड नभएकाले कार्यालयले सहजीकरण गर्ने आश्वासन दिएको उल्लेख गर्दै उनले भने, ‘१५ दिनको समय दिएकोमा सकिएकाले कार्यालयमा सम्पर्क गर्ने तयारीमा छु।’
उता आफ्नै नम्बरको अर्को मोटरसाइकल पनि भेटिएपछि रविन्द्र महर्जन तनावमा छन्। ‘केही दिनअघि मोटरसाइकल कार्यालयबाट फोन आएको थियो। के समस्या हो भनेर पुगेँ। त्यहाँ एकै नम्बरमा दुई मोटरसाइकल रहेको बताइयो,’उनले भने, ‘मेरो ब्लुबुक, ढड्डा र फाइलमा बा३१प १७२२ नम्बर नै रहेको भेटियो, त्यसपछि अर्को साथीको ढड्डामा र ब्लुबुकमा अर्कै नम्बर भएको पाएपछि कार्यालयले मलाई तपाईंको मोटरसाइकल दर्तामा समस्या छैन भन्दै पठाइदियो।’
यी दुबै मोटरसाइकल धनीले एकै नम्बरमा वार्षिक नवीकरण कर तिर्दै आएका थिए। यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलले दुवै मोटरसाइकल धनीसँग कर लिइ नै रह्यो। दुवै मोटरसाइकल धनी आ–आफ्नै मोटरसाइकलको कर तिरिरहेकामा ढुक्क थिए। दुवैले नबिराइ नियमित कर तिरेको कार्यालयको रेकर्डमा देखिन्छ।
पराजुली मोटरसाइकल बिक्री गरेर नामसारी गर्ने प्रकृयाका लागि कार्यालय पुग्दा उनकै नम्बरको अर्को मोटरसाइकल रहेको भेटिएको थियो। पराजुलीले मोटरसाइकलको फाइल हराएको बताए। त्यसपछि कार्यालयमा रहेको ढड्डा हेरियो। ढड्डा हेरेपछि थाहा लाग्यो उनको मोटसाइकल नम्बर सुरुमै ब्लुबुकमा गलत लेखिएको रहेछ। पराजुलीको मोटरसाइकल नम्बर ढड्डामा बा३२प १७२२ रहेको भेटियो।
कसरी तिरे एकै नम्बरमा दुई जनाले कर?
ब्लुबुकका आधारमा यातायात कार्यालयले सवारीसाधनको कर लिने गरेको छ। मोटरसाइकल धनीले आफ्नो सवारीको कर तिर्न जाँदा ब्लुबुक दिन्छन् र कार्यालयले मोटरसाइकलको इन्जिन क्षमताका आधारमा कर रकम हिसाब गरि कर लिन्छ र ब्लुबुकमा अंकित गर्छ। पराजुली र महर्जन दुवैले त्यही प्रकृयाअनुसार कर तिर्दै आए। कार्यालयको कर प्रणालीमा एकै नम्बरमा हरेक वर्ष दुईपटक कर भुक्तानी भएका छन्।
यस्तो अवस्थामा कार्यालयले सम्बन्धित सवारी धनीलाई जानकारी गराउन सक्दैन? भन्ने नेपाल लाइभको जिज्ञासामा मोटरसाइकल कार्यालयका प्रमुख दिपक पोख्रेलले त्यो सम्भव नभएको बताए। ‘सेवाग्राहीले ब्लुबुक दिन्छन् त्यसैका आधारमा कार्यालयले कर लिन्छ,’ पोख्रेलले भने, ‘कर प्रिन्ट मागियो भने कार्यालयले दिने हो, नभए नियमित कर तिर्नेले कर प्रिन्ट पनि माग्दैनन्।’
एकै नम्बरमा दुई जनाले कर तिरेको कुरा कार्यालयले थाहा नपाउने उनको भनाइ छ। सिस्टमले कर लिने भएकाले ब्लुबुक अनुसार मोटरसाइकलको नम्बर सिस्टमले देखाएपछि कर अधिकृतले कर लिने गरेको पोख्रेलले जानकारी दिए।
‘रविन्द्र महर्जनको नाममा दर्ता भएको मोटरसाइकलको नम्बरमा विष्णुप्रसाद पराजुलीले पनि कर तिरेको पाइएको हो,’ उनले भने, ‘पराजुलीको मोटरसाइकल नम्बर ढड्डामा एउटा र ब्लुबुकमा अर्कै रहेछ। त्यो गल्ती मोटरसाइकल किन्दा नै पत्ता लाग्थ्यो। तर कार्यालय र मोटरसाइकल धनीले त्यतिबेला क्रस चेक नगर्दा अहिले समस्या देखियो।’
अब के हुन्छ?
ढड्डा अनुसार विष्णुप्रसाद पराजुलीको मोटरसाइकल नम्बर बा३२प १७२२ हो। उनले २०६५ देखि हालसम्म बा३१प १७२२ नम्बरमै कर तिर्दै आए। त्यसैले उनले आफ्नो अर्थात बा३२प १७२२ नम्बरको मोटरसाइकलले हालसम्म कर तिरेको देखिँदैन। पराजुली मोटरसाइकल बिक्री गर्ने क्रममा छन्।
मोटरसाइकल नामसारी दर्ता कर चुक्ता भएको हुनुपर्छ। तर उनको नाममा रहेको मोटरसाइकलको कर हालसम्म नतिरेको देखिएपछि नामसारी रोकिएको छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलले यसको सहकीरण गर्ने बताएको छ। यसको प्रक्रिया भने लामो र झन्झटिलो रहेको कार्यालय प्रमुख पोख्रेलले बताए। एक वर्षभन्दा बढीको कर मिलान गर्नु पर्ने भएकाले कार्यालयसँग त्यस्तो अधिकार नभएको उनले बताए।
‘हामीले एक वर्षभन्दा बढीको कर मिलान गर्न सक्दैनौं,’ पोख्रेलले भने, ‘यहाँ त १० वर्षको कर मिलान गर्नु पर्नेछ। त्यसैले हामीले प्रदेश मन्त्रालयलाई पत्र लेखेका छौं। मन्त्रालयले क्याबिनेटमार्फत् केन्द्रको अर्थ मन्त्रालयलाई भनेपछि त्यो मिलानको प्रक्रियामा जान्छ।’ यसका लागि समय लाग्ने उनको भनाइ छ। कर अर्कै नम्बरमा परेको भन्दै मिलानका लागि महिनामा दुई÷चार जना आउने गरेको भएपनि यस्तो १० वर्षदेखिको समस्या भने नआएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।