सुर्खेत– कर्णाली प्रदेशसभा सञ्चालन नियमावली पारित भएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले ‘कर्णाली प्रदेशसभा सञ्चालन नियमावली–२०७४’ संशोधनसहित पारित गरेको हो।
अन्तरिम कार्यविधि अनुसार सञ्चालन हुँदै आएको प्रदेशसभा अब नयाँ नियमावली अनुसार सञ्चालन हुनेछ। मस्यौदा समितिका संयोजक सांसद सीता नेपालीले गत शुक्रबारको बैठकमा नियमावली छलफलका लागि संसद्मा पेश गरेकी थिइन् । मंगलबार बसेको बैठकमा सांसदहरु गुलाबजंग शाह, पद्का खड्का, देवी ओली, विन्दमान विष्टले नियमावलीका केही बुँदा संशोधन गर्न सुझाएका थिए।
सांसद खड्का र ओलीले नियमावली लैंगिकमैत्री बन्न नसकेको बताउँदै समितिका सभापति हटाएर ‘अध्यक्ष’ राख्न प्रस्ताव समेत गरेका थिए। सांसदहरुको सुझाव अनुसार संसदीय समितिका सभापतिलाई अब ‘अध्यक्ष’ भनिनेछ। मस्यौदा समितिका संयोजक सांसद नेपालीले पेश गरेको उक्त प्रस्ताव ध्वनि मतले पारित गरिएको थियो।
संसद्मा पेश गरिएको आर्थिक कार्यविधि विधेयकमाथि भने छलफल जारी छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पेश गरेको कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक–२०७४ माथिको छलफल सकिएको छैन। मंगलबारको बैठकमा सांसदहरु चन्द्रबहादुर शाही, कुर्मराज शाही, दिनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, देवी ओली विधेयकमाथिको छलफलमा सहभागी भएका थिए। उक्त विधेयकलाई बुधबार बस्ने बैठकबाट पारित गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।