काठमाडौं- ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण सम्भाव्यता अध्ययनका लागि लगानी बोर्डले दुईवटा कम्पनीसँग आइतबार सम्झौता गरेको छ।
नेपालको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल) र पावर चाइना कम्पनीको जोइन्ट भेन्चरमा आयोजना निर्माण गर्ने गरी सम्झौता गरिएको हो। सम्झौताअनुसार ती कम्पनीले २ वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाइ सक्नुपर्नेछ।
सरकारले गतवर्ष चैतमा आयोजना गरेको लगानी सम्मेलनमा तमोर जलाशययुक्त आयोजनासँगै इनरुवासम्म ७५ किलोमिटर ४ सय केभी प्रशारणलाइन १ खर्ब ६ अर्ब रुपैयाँमा लगानी माग गरिएको थियो। लगानी सम्मेलनका क्रममा आएको प्रतिवद्धताको विस्तृत अध्ययन र प्रकृया पूरा गरेपछि यो सम्झौता गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् १९८५ मा गरेको कोशी नदी जलाधार विकास गुरुयोजनामा उल्लेख गरेको १३ वटा ठूला आयोजनामा तमोर जलाशययुक्त आयोजना पनि एक हो। नेपाल विद्युत प्राधिकरणले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार नदीमा २ सय ५ मिटर अग्लो बाँध बनाएर ७ सय ६३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने छ। उक्त प्रतिवेदनअनुसार आयोजनाको बाँध २ सय ५० मिटरसम्म बढाउने हो भने यसको विद्युत् उत्पादन क्षमता १२ सय मेगावाट र ३ सय मिटर अग्लो बाँध बनाउँदा जडित क्षमता २ हजार ५ सय ६५ मेगावाट हुन आउँछ। यसबाट वार्षिक ४ हजार ९ सय ६८ दशमलब ५६ गिगावाट आवर विद्युत् निकाल्न सकिन्छ।
मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र, २०७२ मा प्रस्तावित ११ वटा जलाशययुक्त आयोजनामा यस आयोजनालाई ८औं प्राथमिकतामा राखिएको छ। उक्त अवधारणापत्रअनुसार यस आयोजनाको क्षमता ६ सय ९२ मेगावाट रहने र २०८२ भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको थियो।
विद्युत् ऐन २०४९ अनुसार पहिला आवेदन दिनेलाई आयोजना निर्माणका लागि अनुमति दिने व्यवस्था रहेकोमा तमोर जलाशययुक्त आयोजना निर्माण गरिने स्थानमा तल्लो हेवाखोला र कावेली ए आयोजना निर्माण भई संचालनमा आइसकेका छन्। तमोर बनाउँदा ती आयोजना डुबानमा पर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।