कुनै बेला राजनीतिक हत्या अकल्पनीय थियो। किन अहिले सुलेमानीमाथि भएको अमेरिकी आक्रमण चिन्ताको विषय भएको छ?
इरानका सैन्य जनरल कासिम सुलोमानीको हत्याको घटना झट्ट समाचारमाध्यमको हेडलाइन बने लगत्तै सामसुम भएको छ। तर‚ यसबाट आइपर्ने दीर्घकालीन असर अन्तर्राष्ट्रिय सम्बन्धका लागि भने चिन्ताको विषय बनेको छ।
धेरैका लागि यो हत्या अनपेक्षित हो। तर‚ यो निर्णयको असर ह्वाइटहाउसलाई मात्र पर्ने छैन। बरु उदारवादी अन्तर्राष्ट्रिय सम्बन्धमा पनि प्रत्यक्ष रुपमा पर्नेछ।
वासिङटनद्वारा समर्थन गरिएका विषयलाई पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानिरहेका छैनन्। त्यसले पनि विश्वव्यापक रुपमा अस्थिरताको डर फैलाएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा कस्ता मापदण्ड छन्?
अन्तर्राष्ट्रिय मापदण्ड कुटनीतिज्ञहरूले भन्ने गरेजस्तो अस्पष्ट रूप होस् या स्पष्ट, सबै राष्ट्रद्वारा स्वीकृत तथा कानुनसम्मत तरिकाले पारित गरिएको कानुनी पुस्तिका हो। यसले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणलाई गति दिन सहयोग पुर्याउँछ।
उक्त मापदण्डले मानव अधिकारको रक्षादेखि शक्ति प्रदर्शनसम्मका विषय समावेश गरेको हुन्छ। यसका साथै यी विषयहरूमा अन्तर्राष्ट्रिय मापदण्डले प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ।
मापदण्ड कानुनभन्दा फरक विषय हो। यो कानुनजस्तो बाध्यकारी हुँदैन। समय‚ परिस्थिति र संस्कृतिलाई आधार मानेर मापदण्डको खाका तयार गरिन्छ।
उदाहरणका लागि‚ अघिल्ला शताब्दीमा युद्धलाई अपरिहार्य मानिन्थ्यो। विश्वले डरलाग्दा युद्धको सामना गरेसँगै पछिल्लो समय उक्त दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ। अहिले धेरै देशले युद्ध चाहँदैनन्।
अति संकटको स्थितिबाहेक जुनसुकै अवस्था आइ परे पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुल्झाउन मद्दत गरिन्छ।
जब कुनै मुलुकले अन्तर्राष्ट्रिय मापदण्डलाई उल्लंघन गर्छ, त्यसपछि झन् मुलुकको सम्पूर्ण प्रणाली नै अनिश्चितताको बाटोमा धकेल्न थाल्छ। यस्तो निर्णयबाट मुलुक झन् हिंसातर्फ धकेलिइरहेको हुन्छ।
उदार व्यवस्थाको उदय
अन्तर्राष्ट्रिय मापदण्डको सबैभन्दा प्रभावशाली अङ्ग भनेकै उदार व्यवस्था हो। दोस्रो विश्वयुद्धपछि पश्चिमाहरूले यसलाई नै आधार मानेर अन्तर्राष्ट्रिय मापदण्डको जग बसालेका हुन्।
यो व्यवस्थाले महत्वपूर्ण कामहरू गर्ने गरेको छ। जस्तै:
• यसले एकतर्फी नीतिविरुद्ध एकजुट भएर लाग्न प्रोत्साहन गर्छ।
• अधिनायकवाद तथा अतिक्रमणविरुद्ध लोकतन्त्रिक प्रणाली‚ संवाद र बोधद्वारा अधिनायकवाद तथा अतिक्रमणवादविरुद्ध लाग्न यसले प्रोत्साहन गर्छ।
• यो व्यवस्थाले अन्तर्राष्ट्रिय द्वन्द्वका विषयलाई शान्तिपूर्ण माध्मयबाट समाधान गर्न सहयोग गर्छ।
यस्तो व्यवस्थाले सरकारी अधिकारीको हत्या (जस्तै: इरानी जनरल सुलेमानीको हत्या)लाई कहिले पनि समर्थन गर्दैन। यस्ता किसिमका हत्यालाई यसले समाधान नभएर समस्याको जडको रुपमा चित्रित गर्छ।
सुलेमानीको हत्याले अन्तर्राष्ट्रिय मापदण्डमा प्रभाव पार्छ?
सन् १९७५ मा अमेरिकाले कुनै पनि ‘राजनीतिक हत्यामा आफू संलग्न नहुने’ भन्ने नीति अघि सार्यो। पछि फेरि अमेरिका राजनीतिक हत्यामा मुछियो त्यसपछि सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीले उक्त विषयको कडाइका साथ छानबिन अगाडि बढायो।
त्यही बेलामा अमेरिकाले फेरि यस्ता किसिमका हत्यामा अब संलग्न नहुने बतायो। तर जटिल मुद्दाका सन्दर्भमा नाकाबन्दी‚ सहयोग कार्यक्रम बन्द गर्नेजस्ता अन्य कुनै मार्ग अपनाएर समस्याको समाधान गर्नेतर्फ अग्रसर भएर लाग्यो।
अहिलेको परिप्रेक्ष्यमा हेर्दा यस्ता किसिमका हत्यालाई सरकारकै तर्फबाट समर्थन भइरहेको पाइन्छ।
विश्व व्यवस्थालाई सन्तुलित बनाउनका लागि चुनौती
पछिल्ला घटनाक्रमलाई केलाउँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उच्च अधिकारीहरूको हत्याका विषयमा अन्तर्राष्ट्रिय मापदण्डलाई अस्वीकार गरिरहेका छन्। शक्तिमा भएका उच्च पदस्थ व्यक्तिहरूले यसरी मापदण्डको उल्लंघन गर्दा विश्वस्तरमा सहयोगको भावनामा आँच आउने सम्भावना समेत हुन्छ।
अन्तर्राष्ट्रिय मापदण्डको बारेमा ट्रम्पको यस्तो नकारात्मक मनोभावले केही न केही रुपमा अझ असुरक्षा पैदा गर्ने वातावरण भने निर्माण गरेको छ नै।
आफ्नै मुलुकमा ट्रम्पको शासकीय शैली र शासनसत्तामाथिको झुकावले अरु देशका तानाशाहलाई पनि बिना डर अन्तर्राष्ट्रिय मापदण्डलाई उल्लंघन गर्न बल मिलेको छ।
सुलेमानीको हत्याले उदार मापदण्डको मान्यतालाई अझ संकटमा पारेको छ।
यो हत्याले अमेरिकाको अन्तर्राष्ट्रिय नियम विपरीत कदमको पुष्टी गरेको त छ नै, यसले गर्दा अझै पनि यस्ता घटनाहरू दोहोर्याइरहन झन् बल पुगेको भन्ने चिन्ता थपिएको छ।
आफ्नै अनुकूलतामा समय चलिरहेको बेलामा पनि यस्तो घटना घटाउनुले एउटा अप्रिय घटनाक्रमको विकास गरेको छ।
यसैक्रममा बीचमा विश्व व्यवस्था नै लथालिङ्ग भएका बेलामा भविष्यमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै विश्वस्तरमै अन्तर्राष्ट्रिय प्रणालीमा स्थिरता ल्याउनका लागि पनि यस्ता किसिमका राजनीतिक हत्या रोक्नु अपरिहार्य छ।
(यो सामग्री द कन्भर्सेसनमा प्रकाशित सामग्रीको सहयोगमा प्रदीप खद्योतले तयार गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।