काठमाडौं- वाम एकताको लागि नेकपा एमाले र माओवादी केन्द्रद्वारा गठित पार्टी एकता संयोजन समितिलाई दुई वटा कार्यदलले प्रतिवेदन बुझाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न बसेको बैठकमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलका तर्फबाट पार्टी एकता संयोजन समितिका अध्यक्षहरु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई हस्तान्तरण गरिएको हो।
एमाले नेता माधवकुमार नेपाल नेतृत्वको राजनीतिक प्रतिवेदन कार्यदल र रामबहादुर थापा (बादल) नेतृत्वको विधान तथा सांगठनिक कार्यदलले सहमतिका विषयलाई समावेश गर्दै प्रतिवेदन तयार पारेका थिए।
केन्द्रदेखि प्रारम्भिक कमिटीसम्म ८ तहको संरचनाको प्रस्ताव गरेको कार्यदलले अधिकांश विषयमा सहमति जुटाएको छ। तर, एकीकृत पार्टीको केन्द्रीय तहमा दुवै पार्टीबाट समावेश हुने हिस्साबारे शीर्ष नेतृत्वबीच विवाद छ।
आजको बैठकमा प्रतिवेदनमा मिल्न बाँकी रहेका विषयमा सहमतिको प्रयास गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।