काठमाडौं- ‘मैले दाइले खेलेको देखेर नै फुटबल खेल्न थालेको हो। उहाँको शैली पछ्याउने प्रयास गरेँ, नेपालमा दाइ जस्तो अर्को कोही खेलाडी छ जस्तो लाग्दै लाग्दैन’ दाइ राजु तामाङ आफ्नो आदर्श मान्ने सन्तोष तामाङले सुनाए।
सन्तोष नेपाली फुटबलमा पछिल्लो समय आशलाग्दा मिडफिल्डर हुन्। उनका दाइ राजुले जसरी कुनै समय मिडफिल्डरमा आफ्नो अब्बल नाम बनाएका थिए, उस्तै बाटोमा सन्तोष बढीरहेका छन्। तर एउटा घटनाले त्यसमा नराम्रो छाप पारिदियो। उनको बनेको छबी धमिलियो।
हरेक कुरामा दाजुको शैली पछ्याइरहेका उनले आफूलाई अनुशासित बनाउने कुरामा भने दाइजस्तो गर्न सकेनन्। त्यसो गर्न नसकेकोमा उनलाई अहिले पछुतो छ। त्यही पछुतोले नै अनुशासित बनेर अगाडि बढ्न दृढ छन्। भन्छन्- ‘म त्यस्तो गल्ती कहिल्यै गर्ने छैन, त्यो एउटा भूल अझ बलियो भएर अगाडि बढ्ने पाठ भएको छ।’
..................
गएको हप्ता बादलले छोपेर धुम्मिएको त्यो दिन मध्यान्हदेखि नै बर्षा भइरहेको थियो। बाटोमा निस्किएर हिँडौ जस्तो मौसम थिएन। यस्तोमा सन्तोष भने बिहानभर फुटबल अभ्यास गरेर फर्किएका थिए। खाना खाएपछिको केही सयम उनी कुराकानीका लागि तयार भए।
झण्डै आधि घन्टाको कुराकानीमा उनले धेरैबेर दाइ राजु तामाङ कसरी आफ्ना लागि ‘आइडल’ हुन् भन्नेमा नै खर्चिए। र, आफूले गरेको त्यो गल्ती (जसले ४५ दिनको प्रतिबन्धसहित ५० हजार रुपैयाँ जरिवान तिर्नुपरेको थियो) लाई बिर्सने प्रयासमा रहेको सुनाए।
विश्वकप छनोटका लागि कुवेतसँगको खेल खेल्न भुटान जानुअघि अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन्तोषसहित स्ट्राइकर बिमल घर्ती मगर, मिडफिल्डर अन्जन विष्ट र डिफेन्डर दिनेश राजबंशीलाई टिमबाट हटाएको थियो। भुटान खेल्न जाने अघिल्लो रात उनीहरु क्याम्प छाडेर रातभर ठमेलको डिस्कोमा रक्सीले मातेको बताइएको थियो।
फुटबल खेलाडीहरु यस्तो गतिविधिमा संलग्न भएर अनुशासनहीन काम गरेको त्यो पहिलो पटक पनि होइन। तर केही खेलाडी उस्तै गतिविधिमा दोहोरिरहन्छन् त केही नयाँ खेलाडीहरु पहिलेको घटनालाई भुलेर बहकिन्छन्।
यसैले त आफ्नो दाजुको मार्ग पछ्याइरहेका सन्तोष पनि भूल गर्न पुगेका थिए। राष्ट्रिय टिमबाट ४३ खेल खेलेका राजु आफ्नो समयमा अनुशासित खेलाडीका रुपमा चिनिए। मैदान बाहिर पनि राजुको छबी असाध्यै सफा पाउँछन् उनका साथीहरु। तर, भर्खर राष्ट्रिय टिममा आफूलाई बढाइरहेका सन्तोष भने बरालिन पुगे।
‘म अहिले त्यो कुराहरु बिर्सेर अगाडि बढौँ भन्ने सोचिरहेको छु। त्यो कुराहरु सम्झिन नै चाहँदिन। किनभने त्यही कुराले नै यति नराम्रो भयो। जसले मलाई राम्रो सोच्थ्यो, तिनीहरुले नै अहिले नराम्रो सोचे,’ सन्तोष बोलिरहँदा उनको आवाजमा पश्चाताप सुनिन्थ्यो।
त्यही पश्चातापले लामो समय पिरोलिएका उनी अहिले भने पूरा मन फुटबलमा लगाइरहेका छन्। आफू को हुँ र के गर्न सक्छु भनेर उनले प्रमाणित गर्नु जो छ। हुन त प्रतिबन्धपछि फर्किएका उनले जारी ‘ए’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा नै आफूलाई प्रमाणित गरिदिए।
यसैले त उनी भन्छन्- ‘अहिले खेलमा पूरा ध्यान लगाइसकेको पनि छु। त्यो चिजले मलाई झनै बलियो बनाएको छ। म त्यस्तो कुराबाट बाहिर निस्किएर आफूलाई प्रमाणित गर्नैपर्छ भन्ने सोचेर लागिरहेको छु।’
..................
‘ए’ डिभिजन लिगमा नेपाल आर्मी क्लबको चौथो खेल सन्तोषको पहिलो खेल थियो। थ्री स्टारविरुद्ध मैदान उत्रिएका उनले खेल सकिन ११ मिनेट बाँकी रहँदा उत्कृष्ट फ्रिकिक गोल हाने। त्यसअघि नवयुग श्रेष्ठले गोल गरेको आर्मी सन्तोषको गोलले २-० ले विजयी भएको थियो।
टिमको जितसँगै सन्तोषको जितको महत्व अझ विशेष भयो। आफैसँगको जित, आफ्नो नराम्रो नजरविरुद्धको जित, आफूलाई सकारात्मक बनाउने मनोबलको जित। ‘फुटबलबाट बहकिएको’ आरोपबाट प्रताडीत उनले खेलमार्फत आफू फुटबलमै रहेको जवाफ दिन सकेका थिए। एउटा भूललाई सुधार गरेर अघि बढेको सन्देश दिएका थिए। एक खेलाडीलाई यसले सक्दो रहेछ भन्ने प्रमाण खेलबाटै दिनुको जस्तो खुसी अर्को के होला र?
सन्तोषले आफूलाई प्रमाणित गर्ने अवसर सदुपयोग गर्न सकेका थिए। टिमले उनीमाथि राखेको आशमा बलियो बनेका थिए। सन्तोष नहुँदा र हुँदा आर्मी क्लबमा भिन्नता स्पष्ट देखिएको थियो। तब त उनी भन्छन्– ‘टिमलाई केही फरक ढंगले मद्धत चाहिएको थियो। मैले गरेँ पनि। त्यसले राम्रो प्रतिक्रिया पाएँ। गर्छु भनेको चिजमा मेहनत बाहिर देखिएको थियो। त्यो खेलपछि आफूमाथिको विश्वास अझ बढेको पनि छ।’
सन्तोषको सोच थियो- ‘एकपटक खेल्न पाएँ भने मलाई जसले नराम्रो सोचेको छ उसलाई खेलबाट नै देखाउँछु। म त्यस्तो होइन, सोचविचार भएर गरेको काम होइन भनेर देखाउँछु।’
सन्तोष बारम्बार भन्छन्- ‘त्यो जे भयो अन्जानमा भयो। एउटा भूल भयो। गल्ती भयो। म त्यस्तो छैन। म त्यस्तो होइन।’
खेलमार्फत उनलाई देखाउनु पनि त्यही थियो। अझ मेहनत गरेर त्यो नराम्रो भनेर बनेको छबी सुधार गर्नु थियो। थ्री स्टारविरुद्ध मैदानमा जाँदा उनले त्यही सोचेर खेले। सोचअनुसार खेल भयो पनि। त्यसैले गोलपछिको सेलिब्रेसन पनि त्यसैमा संकेत गरे।
‘ब्राजिलियन खेलाडी कोउटिन्होको एउटा शैली मलाई मन परेको थियो। त्यसैले मेरो सेलिब्रेसन पनि त्यस्तै नै गरेँ। त्यसै गर्छु भनेर सोचिरहेको पनि थिएँ।’
कोउटिन्हो बार्सिलोनामा हुँदा एक समय समर्थकहरुले उनको निकै आलोचना गरेका थिए। आलोचनाले दिक्क भएका उनले एउटा खेलमा गोलपछि आफ्नो कान थुनेर गोलको खुसी मनाए। अब आलोचना सुन्नुपर्ने छैन भन्ने त्यसको संकेत थियो। सन्तोषले पनि ठीक त्यस्तै गरे।
‘त्यो फ्रि किक हान्ने बेलामा पहिले त क्रस बल फाल्छु भन्ने सोचेको थिएँ, तर गोलकिपरलाई हेर्दा उनी गोललाइन भन्दा निकै बाहिर थिए। त्यसैले गोलकै लागि सिधा पोस्टमा प्रहार गरेँ, गोल पनि भयो’ सन्तोषले थ्री स्टारविरुद्धको खेल सम्झिए।
..................
मैदान बाहिर रहेको समयमा सन्तोषले साथीहरुको राम्रो साथ पाए। ‘पिर नगर अब राम्रो गर्नुपर्छ’ भनेर सबैले सम्झाइरहेका थिए।
‘म नहुँदा टिममा परेको अप्ठ्यारो पनि उनीहरुले सुनाइरहेका हुन्थे। जे होस्, अब त्यस्तो नसोच, तँ राम्रो होस्। तैँले राम्रो खेल्न सक्छस् भनिरहेका हुन्थे। साथीहरुको कुराले पनि मैले निकै आत्मविश्वास पाउँथे’ सन्तोषले सुनाए।
थ्री स्टारविरुद्धको खेलपछि प्रशिक्षक नवीन न्यौपानेले पनि टिम सामूहिक रुपमा बढेको र सन्तोषको खेल राम्रो भएको प्रतिक्रिया दिएका थिए। टिमका अरु खेलाडी पनि मिडफिल्डमा सन्तोषको आगमनले टिम सन्तुलित भएको र डिफेन्डरले नै फरवार्डसम्म बल पास दिनुपर्ने समस्या हटेको बताइरहेका थिए।
‘हुन त म मात्रै टिमको महत्वपूर्ण खेलाडी होइन, टिममा ११ जना खेलाडी नै उत्तिकै महत्वपूर्ण हुन्छन्। अब त्यसमा हामीले मुख्य त सामूहिक भावनाका आधारमा नै खेल्नुपर्ने हुन्छ। मैले बल पाएपछि मिलाएर विंगरहरुलाई पास दिने नै हो। मेरो काम मैले गरे जस्तै सबै साथीले आफ्नो काम गरिरहेका हुन्छन्। त्यसबाट मात्र जित सम्भव हुन्छ’ सन्तोषले भने।
सन्तोष टिममा आउनुअघि जारी लिगमा नै मनाङ मस्र्याङ्दीसम्मको खेलमा आर्मीले खेलभर बल आफ्नो नियन्त्रणमा लिए पनि अन्तिममा गोल खान पुगेको थियो। त्यसबेला सन्तोषले अनुभव गरे– ‘आफू नभएको खेल बाहिर बसेर हेर्न असाध्यै गाह्रो हुने रहेछ।’
त्यो खेलमा आर्मीको मिडफिल्डबाट बल विंगरसम्म बढेको थिएन। पासहरु पनि बिग्रिरहेको थियो। डिफेन्सदेखि नै बल अगाडि पास दिनु परिरहेको थियो। त्यत्तिकै मिडफिल्डबाट राम्रो भएको भए स्कोर निस्किन्थ्यो जस्तो सन्तोषलाई पनि लाग्छ। ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको फुटबलमा फिनिसिङ नै हो। हाम्रो कमजोरी पनि त्यसमा नै छ। अब अलि सुधार गरेर बढ्नुपर्छ’ उनले भने।
..................
सन्तोषले फुटबल सुरुदेखि नै सुधारतर्फ बढीरहेको हो। उनले दाइ राजुबाट जो सिकेका थिए।
‘फुटबलको सुरुवात दाइबाट नै भयो। उहाँले खेलेको देखेर नै मलाई पनि फुटबल मन परेको थियो। दाइ जस्तै खेल्न, दाइजस्तै बन्न मन लाग्थ्यो। म यहाँसम्म फुटबलमा हुनु दाइकै देन हो’ सन्तोष सुनाउँछन्।
सन्तोष कुपण्डोलमा नै हुर्किएका हुन्। त्यहीँ नै सानो बेलाको उनको फुटबल चल्यो। साथीहरु मिलेर पैसा उठाएर बल किन्न जानेदेखि दाइहरुको खेल रंगशालामा हेर्न जानेसम्मको अनुभव सन्तोषले संगाले।
‘त्यो बेला टोलतिर फुटबलको माहोल पनि राम्रो थियो। टोलस्तरीय प्रतिस्पर्धामा साथीहरुसँग खेलिरहेका हुन्थ्यौँ। राम्रो अभ्यास पाएर खेल्ने भन्ने हुँदैन थियो। बल हान्ने मात्रै हुन्थ्यो। खेलाडीको आआफ्नो पोजिसन हुन्छ त्यसैअनुसार खेल्नुपर्छ भन्ने मैले पछि मात्रै बुझेँ। दाइहरुले खेलेको देखेर त्यसलाई नै पछ्याउने अभ्यास गरिन्थ्यो’ सन्तोषले पुरानो समय सम्झिए।
टोले कपबाट बढीरहेका उनले यु१४ टिममा रहेर अभ्यास गर्नका लागि फेन्ड्स क्लबमा जाने अवसर पाए। त्यहाँबाट प्रतियोगिताहरु पनि खेले। केही समयमा जावलाखेलमा पनि अभ्यासका लागि गए। त्यसरी नै अगाडि बढ्दै गर्दा आर्मीमा अवसर पाएका हुन्। दाइ आर्मीमा नै भएकाले उनलाई त्यहाँ जान सहज भयो।
सानो बेलामा दाइको फुटबल हेर्न जाँदाको दिनहरु पनि सन्तोषको स्मृतिमा ताजा छन्। अरु दाइहरुको हात समातेर भित्र रंगशाला भित्र पसेको, कतिपय बेला त रंगशालामा बारको प्वालबाट छिरेर गएको पनि उनी सुनाउँछन्। खेलहरु हेर्न लाग्ने रमाइलो उनलाई खेले जत्तिकै थियो।
‘दाइहरुले कसरी खेल्छन् होला भनेर हेर्न डर पनि लाग्थ्यो। त्यो बेला म हेर्न जाने समयमा र अहिले खेल्ने बेलामा त रंगशाला पनि भिन्न लाग्छ। पहिले धेरै भिडभाड हुन्थ्यो,’ सन्तोष सुनाउँछन्, ‘म फ्रेन्ड्स क्लबबाट खेल्ने बेलामा पनि दाइ आर्मीबाट खेलिरहनुभएको थियो। त्यो बेला बरु आफू हारे पनि दाइहरुले जिते हुन्थ्यो भन्ने भित्र मनमा लागिरहेको हुन्थ्यो।’
..................
मैत्रीपूर्ण खेलसमेत गरी राष्ट्रिय टिमका लागि आठ खेल खेलेका सन्तोष अब फेरि राष्ट्रिय टिममा फर्कने व्यग्रतमा छन्। गुमेको स्थान पाएर आफूलाई प्रमाणित गर्न मेहनत पनि बढाइरहेका छन्। किनभने बाहिर बस्दा कति कठीन हुन्छ त्यो उनले भोगेका छन्।
‘म टिमबाट बाहिर हुँदा पनि दाइसँग कुराकानी भएको थियो। त्यस्तो कुराहरु नसिम्झी बिर्सिदे, जे हुनु भइहाल्यो भनेर दाइले सम्झाउनुभएको थियो। अझै यो भन्दा राम्रो भएर निस्किन्छु भन्ने सोचेर मेहनत गरेर अगाडि बढ भन्नुहुन्थ्यो’ सन्तोषले सुनाए।
सन्तोषलाई दाइ राजुले पनि अभ्यास गर, अनुशासनमा बस भनेर पहिलेदेखि सिकाएकै थिए। राष्ट्रिय टिममा आफूलाई प्रमाणित गर्नुपर्छ भनेर पनि सम्झाएकै हुन्। दाइसँग खेलको बारेमा पनि कुराकानी गरिरहेका हुन्थे। यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर दाइले सम्झाइरहँदा पनि आफूले गल्ती गर्न पुगेकामा उनी अहिले दुःखी छन्।
सन्तोष भन्छन्- ‘बाबा पनि पहिले फुटबल खेल्ने हुँदा सानोदेखि नै निकै सहयोग पाएको थिएँ। सबै कुरामा समर्थन गर्नुहुन्छ। त्यसले गर्दा पनि खेलमा बढ्न सजिलो भयो। बाबाहरु मेरो खेल हेर्न पनि आउनुहुन्छ। दाइले त सधैँ सकरात्मक उर्जा दिनुहुन्छ।’
उनी प्रतिबन्धमा पर्दा भने घरमा केही नराम्रो भयो। जे हुनु भइहाल्यो अब त्यसरी नहिँड भनेर बाबाले सम्झाए। अब त्यस्तो नहोस् भनेर बाबाले सम्झाइरहँदा सन्तोषले पनि मनमनै सोचिरहेका थिए- ‘म अब त्यस्तो कहिल्यै गर्ने छैन।’
सन्तोष मात्रै होइन, खेलमा लागेको यो पुस्ता थोरै चर्चापछि आफूलाई ‘स्टार’ सोचेर केही भिन्न गतिविधि गर्न पुगिरहेका हुन्छन्। सन्तोषलाई पनि त्यस्तै सोच आएको हो कि?
उनी भन्छन्- ‘मैले त्यस्तो केही सोचेकै छैन, कहिल्यै पनि। जसले त्यस्तो स्टार फिल गरेर घमण्ड गर्छ त्यो अगाडि बढ्न सक्छ जस्तो लाग्दैन। त्यो मान्छे माथि जाँदैन जस्तो लाग्छ। सकारात्मक सोचको घमण्डसमेत राख्नु हुँदैन भन्ने नै लाग्छ।’
सन्तोषको कुरा सुन्ने हो भने पहिलेदेखि नै उनको नकरात्मक साथसंगत कहिल्यै भएन। अभ्यासमा जाने र घर फर्किने सिधा सोचमा नै अघि बढीरहेको थिए। तर पनि गल्ती गर्न पुगिहाले। अब त्यो गल्तीले अरु गल्ती गर्दिन भन्ने ज्ञान भने उनलाई मिलेको छ। त्यसैले दृढ भएर भन्छन्- ‘अब अगाडिको दिनमा फुटबलबाहेक अरु केही कुरा सोच्दिनँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।