कलैया– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारामा आयोजित विस्तारित बैठकमा विवाद र तनाव उत्पन्न भएको छ ।
जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन गरेपछि बैठकमा लफडा भएको हो ।
पार्टीका पुराना कार्यकर्ता र सांसदहरूबिच विवाद बढेर स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हस्तक्षेप गरी चारै जना सांसदहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ। बारा रास्वपाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई जिल्लाबाट निर्वाचित चारै जना सांसदले कारबाही गर्न केन्द्रमा लिखित पत्र पठाएपछि यो विवाद सुरु भएको हो । सांसदहरूले चुनावका बेला स्वर्णकारले आफूहरूलाई नसघाएको आरोप लगाउँदै आएका थिए । सोही असन्तुष्टिका कारण गत वैशाख ३० गते चारै जना सांसदले स्वर्णकारलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेका थिए ।
आज कलैयामा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए । सहभागीहरूका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो ।
कलैयामा आयोजित विस्तारित बैठकमा सोही विषयलाई लिएर पुराना पक्षका कार्यकर्ताहरूले सांसदहरूको विरोध गरेका थिए ।
बैठकमा पार्टीका पुराना कार्यकर्ता र सांसदहरूबीच विवाद बढेर स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हस्तक्षेप गरी चारै जना सांसदहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ ।
विवादपछि कार्यक्रमस्थल कलैयाको करणराज होटलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर बैठक चलिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।