काठमाडौं– नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले अर्थमन्त्रीले ढुकुटी रित्तो छ भनेर अतिरञ्जना गरेको बताएका छन्।
आज संसदमा बोल्दै रिजालले अर्थमन्त्रीले प्रयोग गरेका तथ्यांकका स्रोतले अर्थतन्त्र रित्तो नभएको बुझ्न सकिने बताए। 'सरकारी ढुकुटी रित्तो छ भनेर श्वेतपत्रको बुँदा ६ मा अर्थमन्त्रीले भन्नुभएको छ', उनले भने, 'योभन्दा ठूलो अतिरञ्जना अर्को केही हुन सक्दैन।'
उनले श्वेतपत्र साँचो अर्थमा श्वेतपत्र हुनै नसकेको जिकिर गरे। 'अब राम्रो गर्छु भन्नुभन्दा अहिलेसम्म के बिग्रेको छ, त्यो कसको टाउकोमा हाल्न सकिन्छ भन्नेमा केन्द्रित छ', उनले भने। दोष अरुलाई लगाउने र जिम्मेवारीबाट पन्छिनेतिर नजान रिजालले अर्थमन्त्रीलाई आग्रह गरे।
'दुई तिहाइको समर्थन छ, त्यसलाई सदुपयोग गर्नुस्', उनले भने, 'प्रतिपक्ष साथ दिन तयार छ।'
अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक अवस्था समेटिएको श्वेतपत्र गत १६ गते संसद्मा प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।