काठमाडौं– माओवादी केन्द्रसँग एकता प्रक्रियामा रहेको नेकपा एमालेले स्थायी समिति बैठक डाकेको छ। बैठक आज दिउँसो साढे २ बजे बस्ने भएको हो।
आजै बेलुका बस्ने एकता संयोजन समितिको बैठकअघि नै एमालेले स्थायी समिति बैठक बोलाएको हो। 'मुख्य रुपमा पार्टी एकताको विषयमा छलफल हुनेछ', एमाले सचिव योगेश भट्टराईले भने, 'त्यसका अतिरिक्त प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि छलफल हुनेछ।'
एकता प्रक्रियामा संगठनमा दुवै पार्टीबाट प्रतिनिधित्व गर्ने संख्या, पार्टी विधानमा 'जनयुद्ध' शब्द उल्लेखको विषय र चुनाव चिह्न जस्ता विषयमा मत बाझिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही दिनयता संगठनमा ५०/५० प्रतिशत हुनुपर्ने बताउँदै आएका छन्। साथै विधानमा जनयुद्ध लेखनुपर्ने र चुनाव चिह्नमा सूर्यभित्र हँसिया हथौडा पनि हुनुपर्ने कुरा माओवादीले उठाउँदै आएको छ।
तर एमाले नेताहरुले संगठनमा भने चुनावी नतिजालाई आधार मान्नुपर्ने बताउँदै आएका छन्। उनीहरु जनयुद्ध शब्दप्रति सकारात्मक छैनन्। चुनाव चिह्न पनि सूर्यमात्रै हुनुपर्ने एमालेको अडान छ।
राजनीतिक प्रतिवेदन लेखन कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको र माओवादीसँग असमझदारी देखिएको अवस्थामा एकता संयोजन समितिको बैठकमा पार्टीको तर्फबाट राख्ने धारणा समेतका बारेमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।