विराटनगर– डिभी र पिआरधारी कर्मचारीलाई कारबाही गर्ने आँट देखाएका कारण अघिल्लो सरकारमा छँदा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित निकै चर्चामा रहे। वर्तमान सरकारमा पनि मन्त्री बन्न सफल भएका पण्डितको चर्चा अहिले पनि घटेको छैन, तर कर्मचारीप्रतिको खरो अभिव्यक्तिका कारण केही कर्मचारी चिढिएका छन्।
प्रदेश १ को संसद् बैठकमा सोमबार पनि पण्डितको आलोचना भयो। कांग्रेसबाट निर्वाचित सांसद विन्दीया कार्कीले सोमबारको प्रदेशसभा वैठकमा पण्डितको खुलेर आलोचना गरिन्।
शून्य समयमा बोल्दै कार्कीले मन्त्री पण्डितले कर्मचारीलाई थर्काउने काम गलत भएको बताइन्। ‘सरकारले कर्मचारीलाई काममा खटाउने र काम नगरे कारबाही गर्ने हो,’ उनले भनिन्, ‘जथाभावी बोल्दै हिँड्नु राम्रो होइन।’
उपचारको नाममा मन्त्री र नेताहरु विदेश जाने प्रवृत्तिको पनि कार्कीले विरोध गरिन्। ‘बाढीपीडित र भूकम्पपीडितले राहत नपाएको बेला नेता र मन्त्रीको विदेश मोह निन्दनीय छ,’ उनले भनिन्, ‘यसलाई नियन्त्रण गर्ने गरी सरकारका कदम अघि बढून्।’
प्रदेश संसद् भवन र जिल्ला समन्वय समिति एउटै भवनमा हुँदा समस्या भएको भन्दै उनले यसको विकल्प खोज्न आग्रह गरिन्।
सोमबारको शून्य समयमा ९ जना प्रदेश सांसदले सुकुम्बासी, किसान, खानेपानी, बाढीपीडित र खाद्य अधिकारका विषयमा धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।