काठमाडौं– वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ।
बैठकमा राजनीतिक, विधान तथा सांगठनिक कार्यदलका सदस्यको समेत उपस्थिति रहनेछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ।
पार्टी एकताको प्राविधिक विषय मिलाउन गठबन्धनले निर्माण गरेका २ कार्यदलले अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाएपछि एकता संयोजन समितिको बैठक बस्न लागेको हो।
एमाले नेता माधवकुमार नेपाल नेतृत्वको राजनीतिक प्रतिवेदन कार्यदल र रामबहादुर थापा (बादल) नेतृत्वको विधान तथा सांगठनिक कार्यदलले सहमतीका विषयलाई समावेश गर्दै प्रतिवेदन तयार पारेका थिए।
केन्द्रदेखि प्रारम्भिक कमिटीसम्म ८ तहको संरचनाको प्रस्ताव गरेको कार्यदलले अधिकांश विषयमा सहमति जुटाएको छ। तर, एकीकृत पार्टीको केन्द्रीय तहमा दुवै पार्टीबाट समावेश हुने हिस्साबारे शीर्ष नेतृत्वबीच विवाद छ।
मंगलबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा प्रतिवेदनमा मिल्न बाँकी रहेका विषयमा सहमतिको प्रयास गरिनेछ। बैठकले सहमति गरेको राजनीतिक, विधान तथा सांगठनिक संरचनाको प्रतिवेदनलाई एमाले र माओवादीले आ–आफ्नो पार्टीको आन्तरिक कमिटीबाट औपचारिक अनुमोदन गराउनेछन्। त्यसपछि प्रक्रिया पूरा गरेर दुवै पार्टीले एकताको औपचारिक घोषणा गर्ने तयारी छ।
माओवादीले समानताका आधारमा सम्मानजनक एकताका लागि बराबरी हैसियत एकीकृत पार्टीमा माग गरेको छ। एमालेले भने संगठन र चुनावी परिणाम अनुसारको हैसियतसहित सांगठनिक संरचनाको आधार बनाउनुपर्ने बताएको छ।
सोही विषयमा शीर्ष नेतृत्वबीच कुरा नमिल्दा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको आसन्न भारत भ्रमण अगावै पार्टी एकता गर्ने तयारी रोकिन पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।