काठमाडौं– माओवादी केन्द्रका नेता एवं वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वैशाख ९ भित्रै नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुने बताएका छन्। पार्टी एकताको प्रतिवेदन मस्यौदा कार्यदलका सदस्यसमेत रहेका बस्नेतले आज सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेको जानकारी दिए । 'दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेका छन्', मन्त्री बस्नेतले भने, 'पार्टी एकता संयोजन समितिमा अन्तिम छलफल हुन्छ ।'
उनले दुवै पार्टीको निश्चित तहबाट प्रतिवेदन पारित भई वैशाख ९ भित्र एकता हुने दाबी गरे । 'एकताको विभिन्न मोडेलमा छलफल भइरहेको छ', बस्नेतले भने, 'चैत २३ अगाडि नै एकताको घोषणा गर्ने कोसिस थियो। अब पूर्वनिर्धारित समय कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन हुने देखियो ।'
संसदीय पत्रकार समाजसँग मन्त्रालयमा अन्तरक्रिया गर्दै मन्त्री बस्नेतले विभिन्न विकास र पूर्वाधार परियोजना निर्माणमा वन तथा वातावरणले अवरोधको काम गरेकोबारे आफू जानकार रहेको बताउँदै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। आर्थिक विकासमा पर्यटन, ऊर्जा र वन पैदावारको प्रमुख भूमिका रहने उल्लेख गर्दै मन्त्री बस्नेतले कुल ग्रार्हस्थ उत्पादनमा अब वन मन्त्रालयको योगदान रहने दाबी गरे।
‘वन पैदावारले अहिलेसम्म अप्रत्यक्ष रुपमा कुल ग्रार्हस्थ उत्पादनमा सहयोग गर्दै आएको छ। अब देखिनेगरी आफैंले समेत योगदान गर्न सक्ने देखिन्छ’, उनले भने। मन्त्री बस्नेतले वन क्षेत्रको बहुआयामिक प्रयोग गरिने बताउँदै एकीकृत योजनामार्फत परिणाम आउनेगरी कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।