रसुवा– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी सडक चार दिनका लागि खुला गरिने भएको छ।
जिल्लाको आमाछोदिङमो गाउँपालिका हाकुका भूकम्पपीडितलाई सदरमुकाम धुन्चेबाट निर्माण सामग्री ढुवानी गर्न चार दिनका लागि सडक खुला गरिने भएको हो।
पुनर्निर्माणका लागि सामग्री ढुवानीमा समस्या भएपछि वडा कार्यालयको पहलमा रक्षा मन्त्रालयले अनुमति दिएसँगै चार दिनका लागि सडक खुला गरिन लागिएको आमाछोदिङमो गाउँपालिका १ का वडाध्यक्ष निमादिण्डु तामाङले बताए।
भूकम्पपीडितले यही चैत मसान्तसम्म दोस्रो किस्ता बुझिसक्नुपर्ने भएकाले सडक प्रयोगका लागि आमाछोदिङ्मो गाउँपालिका १ को वडा कार्यालयले रक्षा मन्त्रालयसँग अनुमति मागेको थियो। रक्षा मन्त्रालयले अनुमति दिएसँगै चार दिनका लागि सडक खुला गर्न लागिएको निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए।
चैत २१ देखि २५ गतेसम्म सडक खुला गरिने उनले बताए। यसअघि सडक प्रयोगका लागि अनुमति नपाउँदा आमाछोदिङमो गाउँपालिका १ को ठूलोहाकु र हाकुबेसीका भूकम्पपीडितले सदरमुकाम धुन्चेबाट जोखिमपूर्ण रुपमा निर्माण सामग्री लैजाने गरेका छन्।
हाकुमा पुनर्निर्माणको काम गर्न रुकुम, रोल्पा, बाँके र बर्दियाबाट कामदार ल्याइएको छ। आमाछोदिङ्मो गाउँपालिका १ मा पर्ने ठूलोहाकु र हाकुबेसीमा तीन सय ६२ लाभग्राही छन्। यी सबै लाभग्राहीसँग अनुदान सम्झौता भएको छ।
अनुदान सम्झौता भएर घर निर्माण गरेका लाभग्राहीमध्ये एक सय ७१ जनाको दोस्रो किस्ताको लागि सिफारिस भएको सब–इञ्जिनियर छत्रबहादुर शाहीले बताए। शाहीका अनुसार, ६ जनाको तेस्रो किस्ताको लागि सिफारिस भएको छ।
उनले भने, ‘हाकुका करिब ४७ प्रतिशत लाभग्राहीको दोस्रो किस्ताको लागि सिफारिस गरेका छौँ, ७१ जनाको दोस्रो किस्ताको लागि सिफारिस गर्ने तयारीमा छौं।’
चैत मसान्तसम्ममा करिब ७० प्रतिशतले घर निर्माण गरिसक्ने उनले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि अहिले हाकुमा धमाधम घर निर्माण भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।