काठमाडौं। नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव छ।
यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनीका बाँकी भू–भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली छ। गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा पनि आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
राति देशका पहाडी तथा तराई भू–भागमा तथा कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
तराईका भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।